२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा गर्मी बढेसँगै कैदीबन्दी बिरामी हुने क्रम बढ्दो

२०७५, ३० चैत्र शनिबार ०४:२१

गोपालप्रसाद बराल, चैत ३०, बर्दिवास । बढ्दो गर्मीसँगै महोत्तरी कारागारमा कैदीबन्दी बिरामी हुने क्रम ह्वात्तै बढेको छ । 

क्षमताभन्दा बढी कैदीबन्दी रहेको महोत्तरीको जलेश्वरस्थित कारागारमा पछिल्लोपटक गर्मी बढेसँगै बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो । कारागारमा  दम्मा (श्वासप्रश्वास), रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ  । 

न्यायिक निकायले थेग्नै नसक्ने गरी कैदीबन्दी पठाइदिने गरेपछि उनीहरुको बसाइ व्यवस्थापन गर्न गाह्रो भएको र योसँगै बिरामी हुने क्रम बढेकाले चुनौती थपिएको कारागार प्रशासनले जनाएको छ । अहिले दिनहुँ नियमित उपचार लिनेकोे सङ्ख्या १०० को हाराहारीमा रहेको कारागारका निमित्त प्रमुख (जेलर) समेत रहनुभएका वरिष्ठ स्वास्थ्यकर्मी प्रदीपकुमार साहले बताउनुभयो । कुल १३५ कैदीबन्दी राख्न सक्ने क्षमताको यो कारागारमा अहिले तेब्बरभन्दा बढी सङ्ख्याका कैदीबन्दी भएपछि उनीहरुको बसाइकै अप्ठ्यारोले बिरामी हुने क्रम बढेको निमित्त कारागार प्रमुख साहको भनाइ छ ।

कारागारमा पुरुष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन् । अहिले महिलाकक्षमा दुई आश्रित बालबालिकासहित ४६ र पुरुषकक्षमा ४१९ पुरुष गरी कुल ४६५ कैदीबन्दी छन् । यसअघि ५१२ सम्म पुगेको यो सङ्ख्या कैदीलाई पछिल्लो चार महीनाभित्र क्रमशः अन्य कारागारमा सरुवा गरेपछि केही घटे पनि कैदीबन्दीको बसाइ अझै सहज नभएको कारागारका चौकीदार श्रीनारायण महतोले बताउनुभयो । 

कारागारमा ठाउँ अभावसँगै सीमित शौचालय र धारा मात्र हुँँदा दिसापिसाब गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नुपर्ने एवं  सुत्नबस्न का लागि समेत ठाउँको अभाव हुँदा आफूहरुलाई निकै गाह्रो भइरहेको कैदीबन्दीको गुनासो छ । नियमित सरसफाइ गर्न नपाइएर नापेर दिएको चार हात जमीनमा खाँदिएर बस्नसुत्न पर्दा आफूहरुमध्ये धेरैलाई लुतो भएको पुरुषकक्षका एक कैदीले बताएका छन् । पछिल्लोपटक श्वासप्रश्वास, निमोनिया र चर्मरोगका बिरामीको उपचार राम्रो नहुँदा आपूmहरुलाई बिरामी बनाउन नै कारागार ल्याइएको लाग्न थालेको पुरुष कक्षका एक थुनुवाको गुनासो छ ।  

कैदीबन्दीका लागि जाडो र गर्मीयाममा मौसमअनुसारका दुईपटक लुगा दिइने कानूनी व्यवस्था भए पनि यहाँ कहिल्यै ठिक समयमा यो सुविधा नपाइएको कैदीबन्दीको भनाइ छ । कारागार प्रशासनले कैदीबन्दीको यो गुनासो स्वीकार गरेको छ । “कारागारमा कैदीबन्दीका लागि आउने मौसमअनुसारका कपडा आइपुग्न ढिलाइ हुँदा ठिक समयमा बाँड्न सकिएको छैन”, निमित्त कारागार प्रमुख साहले भन्नुभयो, “उपचार रकम कैदीबन्दीको सङ्ख्याअनुसार समयमा प्राप्त नहुँदा औषधोपचारमा समेत समस्या हुने गरेको छ ।”

कारागारको महिलाकक्षमा एक÷एक धारा र शौचालय मात्र छ । यस कक्षमा अहिले ४६ कैदीबन्दी छन् । त्यसैगरी पुरुषकक्षमा चार÷चार धारा र शौचालय मात्र प्रयोगमा छन् । यस कक्षमा अहिले कैदीबन्दीको सङ्ख्या ४१९ छ ।  शौचालय र धारा पर्याप्त नहुँदा  दिसापिसाब र न्वाइध्वाइ गर्न घण्टौँ पालो कुर्नुपर्ने समस्याले नै बिरामी बढ्ने गरेका पुरुषकक्षका एक पाका कैदीले गुनासो गर्नुभयो । घाउखटिरा र लुतोले धेरैजसो कैदीबन्दी पीडित भएका उनको भनाइ छ ।

कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदीबन्दी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौँपटक आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो कारागार प्रशासनको छ । 

विशेषगरी न्यायिक निकायबाट न्याय सम्पादनमा हुने गरेको ढिलाइले पुर्पक्षका लागि थुनुवाको सङ्ख्या निकै बढेको  र धनुषा जिल्लाका  न्यायिक र अर्धन्यायिक निकायले समेत पठाउने गरेका कारण यहाँ कैदीबन्दीको सङ्ख्या निकै बढेको हो । कैदीबन्दीको सङ्ख्या अत्यधिक बढ्दा कारागारको भित्री व्यवस्थापन अस्तव्यस्त हुने गरेको पाइएको छ ।  महोत्तरी कारागारमा रहेका ४६५ कैदीबन्दीमध्ये ६० प्रतिशत पुर्पक्ष थुनुवा रहेका कारागार प्रशासनले जनाएको छ । त्यसैगरी कूल कैदीबन्दीको  सोही प्रतिशत सङ्ख्या धनुषा जिल्लाका रहेको निमित्त कारागार प्रमुख साहले बताउनुभयो ।

विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका यो कारागार त्यसयता मर्मतसम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ । अन्य समस्यासँगै पुरानो भवनको पर्खालका इँटा झर्ने र छतका सिमेन्टको टुक्रा उप्केर झर्दा बसाइ डरलाग्दो भएको कैदीबन्दीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो