२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

एचआइभीले उजाडिएको जिन्दगी

३ बैशाख २०७६, मंगलवार ०२:२३

‘चरीले राएन हो कि लेग काफल पाक्दा

न घरबारी न जिन्दगी एड्स रोग लाग्दा’ 

विमलबहादुर विष्ट, वैशाख ३, डोटी ।‘वनमा डुल्ने चरीले चैत, वैशाखमा काफल पाकेको थाहा नपाउँदा भोकै बस्नुपरेको र आफूलाई एचआइभी लागेको थाहा नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको’ जस्ता दुःखका गीत गाएर दिन बिताउन बाध्य भएकी छन् डोटी जोरायल गाउँपालिकाकी एचआइभी सङ्क्रमित एक महिला । 

एचआइभी एड्सकै कारण उहाँले २४ वर्षको कलिलो उमेरमा आफ्ना पति मात्रै गुमाउनुभएको छैन, स्कूलमा छोराछोरी पढ्न पठाउन पनि सकिरहनुभएको छैन । जिन्दगीदेखि हार खाएर वाक्क भएको बताउने उहाँ श्रीमान् बितेपछि हातमुख जोर्न पनि धौधौ परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दुःखी, गरीब, असहायका त भगवान् हुन्छन् भन्छन्, मेरा त भगवान् पनि आफना भएनन् ।” आठ वर्षकी एक छोरी र छ वर्षको एक छोरा पढाउनका लागि उहाँले सयौँ दुःखकष्ट गरे पनि सफल हुनसकेको छैन । कयौँ मोड र घुम्तीसँग जम्काभेट गर्दै अगाडि बढ्दा उहाँले अनगिन्ती ठेस भोग्नुका साथै थुप्रै हण्डर खानुभएको छ । उहाँलाई शरीरमा एड्स (बम्बैया रोग) लागेको करीब चार वर्ष भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा एचआइभी एड्सलाई बम्बैया रोग भन्ने चलन छ । श्रीमान् दीर्घबहादुर भारतमा काम गर्दागर्दै बिरामी परेर गाउँ फर्केको सात महीनापछि ओछ्यानमा परे । श्रीमान्ले आफूलाई टिबी भएको भन्दै औषधि खान्थे । मरेपछि गाउँलेले ‘भाइयौ यसको लोग्ने त एड्स लागि म¥याको हो’ भनेपछि बल्ल उहाँले थाहा पाउनुभयो श्रीमानलाई एचआइभी÷एड्स लागेको कुरा । लोग्नेलाई पहिले नै एचआइभी एड्स भएको रहेछ । अन्जान तथा निर्दोष उहाँलाई श्रीमान्ले एचआइभी थमाइदिए । तर उहाँका छोराछोरीमा भने यो रोग नदेखिएको बताइएको छ ।

गाउँमा उहाँलाई एचआइभी छ भन्ने हल्ला फैलिएपछि गाउँलेले भन्नथाले, ‘यइले पनि दुनियाँको रोग सारी ।’ आफनो श्रीमान् बितेको करीब एक वर्षसम्म गाउँगाउँमा मागेर आफ्ना केटाकेटी पाल्नुभयो । उहाँले आफूलाई एड्स भएकोे थाहा पाएको पनि लामो समय भइसकेको छ । समाजको अपहेलनाका कारण उहाँ गाँउबाटै विस्थापित हुन बाध्य हुनुभयो । उहाँको जीवनमा दुःखको महाभारतबाहेक केही पनि जुटेन । उहाँले आशा गरेको र पर्खिएको भनेको अब मृत्यु नै हो । मृत्यु पर्खंदै हातका बाहुलाले आँशु पुछेर भए पनि उहाँले दुई छोराछोरीलाई लतार्दै यहाँसम्म ल्याएको दुखेसो पोख्नुभयो ।

गाउँबाट विस्थापित भएसँगै उहाँको जिन्दगीका पाइला टेक्ने एक टुक्रा जमीन र टाउको लुकाउने झुप्रो घर पनि खोसियो । उहाँको घरमा जस्तै डोटीका धेरैजसो गाउँबाट भारतका मुम्बइ र दिल्लीमा काम गर्न जाने पुरुषले घर फर्कंदा परिवारमा नासोस्वरुप एचआइभी ल्याइदिने गरेका छन् । रोजगारीका लागि भारत गएर आउनेले ल्याएको एचआइभी एड्सले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी एड्स बढी भएको दोस्रो पहाडी जिल्लामध्येमा गनिन्छ ।

सिकारीको तिर लागेर घाइते भएको मृगजस्तै डोटी पनि एचआइभी रोगको ओछ्यानमा दिनानुदिन थला पर्न थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा एचआइभी एड्स घट्नुको साटो दिनानुदिन बढिरहेको सो क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको तत्थ्याङ्कमा उल्लेख छ । यहाँका एचआइभी सङ्क्रमितहरु गाउँमा बहिस्कृत छन्, अपहेलित छन् ।

उहाँका छोराछोरी साथीसँग खेल्न गाउँमा यताउता जाने गर्दैनन् । साथीसँगीले पनि ‘बम्बैयाको सन्तान आयो (एड्स आयो)’ भन्ने गरेका कारण उनीहरु साथीसँगीसँग खुलेर बोल्न र हिँड्न नसक्ने गरेको दुखेसो पोख्दै उहाँ भन्नुहुन्छ, “जङ्गल (लेक)मा काफल पाकेको चरीले नचिन्दा भोकै बस्नुपरेको र समयमै श्रीमान्लाई लागेको एचआइभी नचिन्दा आफनो यस्तो अवस्था भयो, त्यसैले बिलौनाका गीत गाएर बस्न बाध्य छु ।” आफूलाई जस्तो अरुलाई नपरोस् भन्दै भगवान्सँग प्रार्थना गर्ने र गीत गाउने गरेको समेत उहाँ बताउनुहुन्छ ।

एचआइभी एड्स सङ्क्रमितका क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका अनुसार डोटीमा खुलेका मात्रै ९८० एचआइभी एड्सबाट सङ्क्रमित छन् भने नखुलेकाहरु अझै धेरै हुनसक्छन् । अहिले डोटीमा एचआइभी एड्स सङ्क्रमितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न गैरसरकारी संस्था सक्रिय रहेका छन् । जिल्लामा एचआइभी रोकिनुको साटो दिनानुदिन बढिरहेको पाइएको छ । यहाँको एचआइभी रोकथामका लागि प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य