नुवाकोटमा अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता हुने

Posted on: 28 Apr, 2019

वैशाख १५, विदुर । नुवाकोटको बट्टारस्थित खेलमैदानमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ ।

विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घ नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशभित्रका महानगर, उपमहानगर र नगरपालिकालाई पत्राचार गरिएको छ । देशभरिका १० टिमलाई सहभागी गराउने उद्देश्य रहेको एन्फा उपाध्यक्ष उद्वव पनेरुले बताउनुभयो ।

पनेरुका अनुसार वैशाख १८ गतेदेखि शुरु हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु तीन लाख, शिल्ड र प्रमाणपत्र वितरण गरिनेछ । त्यसैगरी द्वितीय हुने टिमलाई रु एक लाख ५० हजार नगद, शिल्ड र प्रमाणपत्र वितरण गरिनेछ । प्रतियोगिता नकआउट आधारमा खेलाइने एन्फाका केन्द्रीय सदस्य पूर्णमान चित्रकारले बताउनुभयो ।

जिल्लामा खेलकूदको विकासमा अग्रसर बन्दै नगरपालिकाभित्रका प्रत्येक वडामा खेलकूद मैदान बनाउने लक्ष्यका साथ बजेट विनियोजन गरिने विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!