सागर भण्डारी/भदौ २१, बागलुङ । बागलुङ जिललालाई अखण्ड राख्नुपर्ने माग सहित बुर्तिबाङदेखि काठमाण्डौ पुगेको डेलिगेशन टोलीले आज प्रधानमन्त्री शुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई भेटेको जनाएको छ ।
धीर प्रताप शिंहको संयोजकत्वमा बुर्तिबाङदेखि हिडेको टोलीसँगै, बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासदहरु सहित आज नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शुशील कोइरालालाई भेटेको हो ।
भेटकाक्रममा कोइरालाले, आफूहरुले बागलुङलाई टुक्र्याउने कुनै कारण नरहेको भन्दै त्यसलाई शंसोधन प्रस्ताव मार्फत सच्याउन तीन दलले संयुक्तरुपमा साझा प्रस्ताव राखेकाले ढुक्क रहन आग्रह गर्नुभएको छ ।
यस्तै टोलीले आजै नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई पनि भेटेको छ । भेटमा ओलीले बागलुङ जिल्लालाई विभाजन गर्नु गल्ती भएको महसुस गरि त्यसलाई सच्याउन लागेको बताउनुभयो ।
तीन दलले संयुक्त साझा प्रस्ताव मार्फत शंसोधन गरि सिंगो बागलुङलाई ४ नं. प्रदेशमा राख्ने सहमति गरेका छौं भन्दै ओलीले टोलीलाई यस विषयमा निसंकोच रहन आग्रह गरेको टोलीका सदस्य नरहरी भुसालले बताउनुभएको छ ।
डेलिगेशन टोलीले हिजै काँग्रेसका नेता शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भेटिसकेको जनाएको छ ।