२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

व्यावसायिक कृषिमा फड्को मार्दै साकेला

२०७६, १६ जेष्ठ बिहीबार ११:१७

केदार मगर, जेठ १६, काठमाडौँ । कृषि क्षेत्रको विकासका लागि साकेला गाउँपालिकाले हरेक वडामा कृषि व्यवसाय स्रोत केन्द्र बनाउने अभियान थालिएको छ । 

गाउँपालिकाले आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशुपक्षीपालनलगायत फरक फरक कृषि व्यवसायको स्रोत केन्द्र बनाउने अभियान थालेको हो । 

गाउँपालिकाको हरेक वडामा कृषक समूह गठन गरेर अभियानलाई तीव्रता दिइएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “वडास्तरमा २९ वटा कृषक समूह गठन गरिएको छ”, उहाँले भन्नुभयो, “हरेक कृषक समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउबिजन, उन्नत जातको पशुपक्षी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गाउँपालिकाले उपलब्ध गराएको छ ।”

कृषिका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु ५३ लाख र स्वीस सरकारअन्तर्गत हेल्भेटासले रु ४५ लाख २८ हजार गरी जम्मा रु ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो । सबै वडामा एक÷एक वटा कृषि व्यवसायको स्रोत केन्द्र बनाउने उद्देश्यसहित हरेक वर्ष क्रमशः बजेट बढाउँदै लगिने जनाइएको छ । 

गाउँपालिकाले विनियोजन गरेको बजेटबाट खरीद गरेर ल्याइएको १७ घार एपिस सेरेना जातको मौरीसहितको घार वडा नं ३ खिदिमाको सुनाखरी मौरीपालन कृषक समूहलाई हस्तान्तरण गरिएको छ । राजधानी काठमाडौँस्थित गोदारवरीबाट प्रतिघार रु १५ हजारका दरले खरीद गरेर ल्याइएको मौरीसहितको घार कृषक समूहलाई हस्तान्तरण गरिएको कृषि प्राविधिक गणेश राईले बताउनुभयो । 

मौरीका लागि स्थानीय नरभुपाल खत्रीले रेखदेख गर्नेगरी कृषक समूहलाई हस्तान्तरण गरिएको जनाइएको छ । खिदिमाको माथिल्लो भेग मौरीपालनका लागि उपयुक्त भएकाले मौरी स्रोत केन्द्र बनाउने उद्देश्य राखिएको प्रमुख खड्काले बताउनुभयो ।

खिदिमाकै ओराङ्गेथान चिया उत्पादक कृषक समूहलाई चियाको नर्सरी उत्पादन गर्ने जिम्मा दिइएको छ । गत वर्ष विनियोजन गरिएको रु ३८ हजार बजेटबाट यस वर्ष दुई लाख १० हजार बेर्ना उत्पादनको काम भइरहेको छ । 

गाउँपालिकाको मध्यभागमा पर्ने रतन्छामा माछा स्रोत केन्द्र बनाउने काम तीव्रगतिमा भइरहेको छ । गत वर्षदेखि माछापालन शुरु गरिएको रतन्छामा यस वर्ष दुई लाख ५० हजार छाका भुरा लगाइएको छ । रतन्छामा माछापालनका लागि सम्भाव्यता अध्ययनगरी ग्रासकार्प र कमनकार्प जातको भुरा रु तीन लाखमा खरीद गरेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । रतन्छाबाट शुरु गरिएको माछापालन व्यवसाय गाउँपालिकाभरि विस्तार गर्ने तयारीमा रहिएको प्रमुख खड्काले जानकारी दिनुभयो । 

 कृषक समूहबाहेक हरेक घरलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन यस वर्ष १९३ घरलाई प्लाष्टिक वितरण गरिएको छ । ८० प्रतिशत गाउँपालिका र २० प्रतिशत कृषकको लगानीमा खरीद गरिएको प्लाष्टिक वितरण गरिएको हो । गाउँपालिकाले विदेशबाट फर्केका नौ जना युवालाई निजी उद्यमी बन्न सहयोग गरेको प्रमुख खड्काले बताउनुभयो । उनीहरुलाई गाउँपालिकाले रु ५०÷५० हजारका दरले अनुदान रकम उपलब्ध गराएको छ । 

हरेक वडामा गठन गरिएको कृषक समूहलाई आवश्यक तालीम तथा प्राविधिक सहयोग उपलब्ध गराउन १५ जना स्थानीय कृषि स्रोत व्यक्ति उत्पादन गरिएको छ । उनीहरुलाई एक दिनको रु एक हजार भत्ता गाउँपालिकाले दिने गरेको छ । गाउँपालिकाको सुक्खाग्रस्त क्षेत्रमा लगाइएको फलफूल तथा तरकारी खेतीमा पानी अभाव हुन नदिन वर्षाद्को पानी सङ्कलन गर्न १२५ वटा पोखरी निर्माण गरिएको छ । गाउँपालिको लगानी शुरु भएपछि करीब दर्जन बढी कृषक आत्मनिर्भर बनेका छन् । 

गाउँपालिकाले कृषि क्षेत्रमा लगानी बढाएपछि यस पेशाप्रति युवाहरु आकर्षित भएका छन् । गाउँपालिकाको समृद्धि र विकासका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । यसका लागि गाउँपालिकाका अध्यक्ष र वडाका लागि वडाध्यक्षको संयोजकत्वमा कृषि विकास समिति गठन गरिएको छ । 

गाउँपालिकाले खाद्यान्न तथा पशुपक्षीपालनका लागि पनि उत्तिकै सहयोग गर्दै आएको छ । खाद्यान्नका लागि उपयुक्त बीउ तथा प्राविधिक सहयोग, पशुपक्षीपालनका लागि उन्नत जातको पशुपक्षी, घाँस तथा चरणको व्यवस्थाका साथै औषधि उपचार गाउँपालिकाले उपलब्ध गराएको छ । 

उत्पादित कृषिउपज खपतका लागि पनि गाउँपालिकाले सहयोग गर्ने योजना बनाएको छ । स्थानीय हाटबजारलाई सुधार गर्नुका साथै बाहिर निकासी गर्न सडक मर्मतसँगै स्तरोन्नतिका काम गरिरहेको छ । 

गाउँपालिकामा कृषि क्षेत्रको विकासका लागि वडा तथा पालिकास्तरीय आवधिक योजनाको निर्माणसमेत भइरहेको छ । आवधिक योजनाको निर्माणका लागि स्वीस सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू