दशरथचन्द र खलङ्गा सेमिफाइनलमा

Posted on: 02 Jun, 2019

जेठ १९, बैतडी। दशरथचन्द नगरपालिका–५ दशरथचन्द र वडा नं ४ खलङ्गा देहीमाण्डौमा जारी दोस्रो संस्करणको ‘मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेका छन् । 

आज सम्पन्न लिग चरणका खेलमा दशरथचन्द–५ ले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकलाई सात विकेटले तथा दशरथचन्द नगरपालिका–४ खलङ्गाले दशरथचन्द नगरपालिका–८ त्रिपुरालाई सात विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । निङ्गलाशैनी खेल मैदान देहीमाण्डौमा ब्याटिङ गर्दै ग्वाल्लेकले नरेश जोशीको ४० रनको मद्दतमा ११८ रन बनायो । ११९ रनको विजयी लक्ष्य दशरथचन्दले १० दशमलव तीन ओभरमा तीन विकेटको क्षतिका पूरा ग¥यो । उसका लागि रवीन चन्दले अविजित ८० रन बनाए । 

यस्तै देहीमाण्डौमा भएको अर्को खेलमा ब्याटिङ गर्दै त्रिपुराले आठ विकेटको क्षतीमा १६७ रन बनायो । उसका लागि सञ्जय धामीले ६९ रन जोडे । १६८ रनको विजयी लक्ष्य खलङ्गाले १६ दशमलव पाँच ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । खेलमा अविजित ६४ रन बनाएका खलङ्गाका प्रदीप चन्दलाई म्यान अफ दी म्याच घोषित गरिएको स्कोरर दीपेन्द्र बोहराले जानकारी दिए । 

दशरथचन्द नगरपालिकाको आयोजना, बैतडी जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग तथा नगर क्रिकेट समितिको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको हो ।  जेठ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका ११ टोलीको सहभागिता छ । विजेताले रु ५० हजार, उप–विजेताले रु ३० हजार तथा म्यान अफ दी सिरिजले रु पाँच हजार पुरस्कार प्राप्त गर्ने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!