२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा सल्ली वन विनाश,जिल्ला समन्वय समितिको आपत्ति

२०७६, ३१ असार मंगलवार ११:४७

असार ३१, जाजरकोट | समुदायिक वन समूह र समितिबीच मिलेमतो हुँदा यहाँका सामुदायिक वनमा रहेको सल्ली काठ सखाप भएको छ । 

अवैध खोटो सङ्कलन र मनोमानी ढङ्गले सल्ली काठ बिक्री वितरण हुँदा सल्ली वन विनाश भएको हो । करोडौँ मूल्यका सल्ली रुख धमाधम फँडानी हुँदा पनि सम्बन्धित निकाय भने मौन देखिएको छ । वैज्ञानिक वन व्यवस्थापनका निहुँमा सल्लाघारी जङ्गल विनाश गर्ने क्रम बढेको छ । सम्बन्धित निकायले बेवास्था गर्दा दिन प्रतिदिन सल्लीको वनको दोहन हुँदै आएको छ । 

कहाँ कहाँ फँडानी भयो सल्ली ? 

 शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिका दर्जनौँ सामुदायिक वनमा सल्ला फँडानी भएको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन बिना उक्त वनमा खोटो सङ्कलन तथा सल्ली जङ्गल फँडानी भएको हो । 

शिवालय गाउँपालिका–१ स्थित छहरी खोला सामुदायिक वन, चुली ढर्मीला सामुदायिक वन, छेडागाड नगरपालिका–१२ स्थित चामे पातल सामुदायिक वन र छेडागाड–१ को कुटिला सामुदायिक वन गरी चार वटा वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको छ । ती सामुदायिक वन व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारबाट रु पाँच-पाँच लाखका दरले प्रति सामुदायिक वनमा रु १० लाख अनुदान पनि आएको छ तर उक्त वनमा संरक्षण त कता हो कता उल्टै सल्ली फँडानीले उग्ररुप लिएको पाइएको छ ।

कार्यक्रमले जङ्गलको घेराबार गर्ने, चरिचरण रोक्ने, वृक्षरोपण गर्ने, अग्निरेखा बनाउने, पुनःरुत्पादन, भू–संरक्षण, चोरी कटान नियन्त्रण, अतिक्रमण नियन्त्रणलगायत कामलाई प्राथमिकता दिनुको साटो सल्ली रुख कटान तथा बिक्रीमा सीमित भएको छ । 

जिल्ला समन्वय समितिको आपत्ति

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको जङ्गलमा सडेगलेका रुख कटानको निहुँमा सल्ली जङ्गल विनाश कार्य भएको जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानीप्रसाद शर्माले बताउनुभयो ।

शिवालय गाउँपालिकाको छहरीखोला बासखोली भिउथापा, नाहाडालगायत २२ वटा सामुदायिक वनमा तीव्ररुपले सल्ली फँडानी गरेको उपप्रमुख शर्माले बताउनुभयो । अन्धाधुन्द खोटो निकाल्दा र सल्ली काठ निकासी गर्दा जङ्गल विनाश भएको उहाँले बताउनुभयो ।

एउटै सामुदायिक वनमा १५० बढी सल्लीका रुख फाडेको उहाँले बताउनुभयो । जङ्गलबाट फाडेर ल्याएका सल्लीका हजारौँ गिन्टा सडक छेउछाउ थुपारेर राखेको उहाँलेबताउनुभयो । सामुदायिक वन उपभोक्ता समूहलगायतले आर्थिक प्रलोभनमा परेर सल्ली जङ्गल विनाश गरेको उहाँले बताउनुभयो । ढलेको रुखको निहुँमा जीवित रुख फँडानी गर्ने गरेको उहाँको भनाइ छ । 

सबै कमाउ धन्धामा लाग्दा सल्ली विनाश ? 

 उपभोक्ता समूहका पदाधिकारी तथा जनप्रतिनिधि कमाउ धन्दामा लाग्दा सल्ली विनाश बढेको हो । सामुदायिक वनको कार्ययोजनामा ढलेका रुखको व्यवस्थापन गर्ने भने पनि उपभोक्ताले आर्थिक प्रलोभनमा परेर अन्य रुख फडानी गरेका छन् ।

एउटै साुदायिक वनबाट ५० लाख बढीका सल्ली काठ बिक्री भएको पाइएको छ । समुदायमा हस्तान्तरण भएका सामुदायिक वनमा जङ्गल विनाश बढेको पाइएको छ । सामुदायिक वन उपभोक्ताले वार्षिक कार्य योजनाअनुरुप सल्ली रुख कटान गरेको डिभिजन वन अधिकृत महेश कुमाईंले बताउनुभयो ।

एउटा सामुदायिक वनले वार्षिक १०० सडेगलेका सल्ली रुख कटान गर्ने कार्ययोजना बनाएको उहाँले बताउनुभयो । स्थानीय तहले डोजरले जथाभावी सडक खन्दा, वन अतिक्रमण, आगलागीलगायत सल्ली रुख ढल्ने गरेको उहाँले बताउनुभयो ।

कार्ययोजना बाहिर गएर सल्ली रुख कटान गरेको फेला पारेमा सम्बन्धित उपभोक्तालाई वन ऐन बमोजिम कारबाही गरिने कुमाइले बताउनुभयो । सडेगलेका रुख कटान तथा बिक्री र निकासी गर्न नपाइने नीतिगत निर्णय भई आएको खण्डमा तत्काल सल्ली रुख कटानमा प्रतिबन्ध लगाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडेगलेका रुख कटान पाउने कार्ययोजनाले तनाव दिएको छ ।” 

 खोटो सङ्कलन कार्यविधि २०६४ विपरीत कार्य 

जाजरकोटका दर्जनौँ वनजङ्गलमा अवैध खोटो सङ्कलन हुने गरेको पाइएको छ । जथाभावी खोटो सङ्कलबाट ९६ सामुदायिक वनका हजारौँ खोटे सल्ला सुकेका छन् । खोटो कम्पनीले खोटो सङ्कलन कार्यविधि २०६४ विपरीत यस जिल्लामा खोटो सङ्कलन गरिरहेको स्थानीयवासी रामबहादुर ओलीले बताउनुभयो । 

यस जिल्लामा नौ खोटो कम्पनीले १६ वर्षदेखि खोटो सङ्कलन गर्दै आएका छन् । कम्पनीले वार्षिकरुपमा खोटो सङ्कलन तथा निकासी गर्न पाएको अनुमतिभन्दा दोब्बर सङ्कलन गर्ने गरेका छन् । जङ्गलमा भेटिए जतिका सबै सल्लाका रुखको चारैतिरबाट खोटो निकाल्ने गरेका छन् । 

एउटा पनि माउ रुख नराख्दा सल्लाघारी जङ्गल विनाश बढेको हो । एक हेक्टरमा पाँचदेखि १० वटा माउ रुखलाई सुरक्षित राख्नुपर्ने खोटो सङ्कलन कार्य विधिमा उल्लेख छ । 

हरेक वर्ष चैत देखि कात्तिकसम्म खोटो सङ्कलन गर्नुपर्ने हुन्छ । कार्यविधिमा एउटा रुखमा ३२ जोडी रिल बनाउने उल्लेख छ तर कम्पनीले छोटो समयमा धेरै खोटो निकाल्न १०० जोडी रिल बनाउने गरेका छन् । जङ्गलमा रहेका सबै रुखमा बढी मात्राको एसिडको प्रयोग गरी खोटो निकाल्ने कार्य अवैध भएको वलीले बताउनुभयो । 

कार्ययोजना विपरित खोटो सङ्कलन 

सामुदायिक वन समूहको कार्ययोजना विपरीत खोटो सङ्कलन गर्न नपाइने प्रावधान रहेको डिभिजन वन अधिकृत कुमाईंले बताउनुभयो । कार्यविधि विपरित खोटो सङ्कलन गर्ने कम्पनीलाई कडा कारबाही गरिने उहाँले बताउनुभयो ।

 बङ्गलामुखी रोजीन एण्ड टर्पेन्टाइन गनापुर बाँके, स्वस्तिक रोजिन एण्ड टर्पेन्टाइन चन्नौटा कपिलवस्तु, देउती रोजीन एण्ड टर्पेन्टाइन बाँके, माउन्ट रोजिन एण्ड टर्पेन्टाइन रुपन्देही, मनकामना रोजिन एण्ड केमिकल उद्योग बाँके, दीपमाला रोजिन एण्ड प्राली टर्पेन्टाइन, जय बागेश्वरी रोजिन बाँके र ग्लोवल केमिकल्स प्रालि अत्तरिया कैलालीले खोटो सङ्कलन गर्दै आएका छन् । यस जिल्लामा २७४ सामुदायिक वन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने