2026-09-13 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उमेर नपुग्दै विवाह : परिपक्वतासंँगै सम्बन्धविच्छेद

उमा केसी, भदौ १३, रोल्पा  । गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभयो रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उहाँको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा दम्पतीको । थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गयो । राजबहादुरले श्रीमतीलाई अनावश्यक आशङ्का गर्ने, कुटपिट गर्ने र खान लाउन नदिने गर्न थाल्नुभयो । सँगै बसेर बाँकी जीवन जीउन नसक्ने निष्कर्षमा पुगेपछि थापा दम्पती एक्ला एक्लै बस्न थाले । निर्मला सदरमुकाम लिवाङ आई ज्याला मजदूरी गरेर पेट पाल्नुपर्ने बाध्यतामा पुग्नुभयो ।

रोल्पा नगरपालिका–९ ह्वामाकी मिना डाँगीले १६ वर्षमा विवाह गरिन । विवाह गरेको एक वर्षमा जेठो र अर्को एक वर्षपछि कान्छो छोरा जन्मिए । दुई छोरा जन्माउँदा उहाँको उमेर १८ वर्षमात्रै भएको थियो । अहिले उहाँको उमेर २० वर्ष भयो । यतिबेला उहाँसँग न छोरा छन् न त श्रीमान् नै । श्रीमान्ले दिनहुँ कुटपिट गर्र्ने र खान लाउनसमेत नदिएपछि सम्बन्ध टाढिँदै गयो । परिवारिक अवस्था राम्रो नहँुदा दुई छोरालाई राम्रोसँग रेखदेख पुग्न सकेन । फलतः तीन वर्ष पूरा भएका जेठो छोरा गौरवको मृत्यु भयो । उहाँ अहिले सदरमुकाम लिवाङमा एकल जीवन बिताउँदै मजदूरी गरेर जीविका चलाइरहनुभएको छ ।

जिल्लामा सम्बन्धविच्छेदका प्रतिनिधि घटना हुन् यी । जिल्ला अदालतमा गत वर्ष दर्ता भएका मुद्दामध्ये ५३ प्रतिशत बढी मुद्दा सम्बन्धविच्छेदका थिए । गत आर्थिक वर्ष अदालतमा ३९९ मुद्दा दर्ता भएका थिए । त्यसरी दर्ता भएका मुद्दामध्ये झण्डै आधाभन्दा बढीअर्थात् २१७ मुद्दा सम्बन्धविच्छेदका थिए । सम्बन्धविच्छेदका यस्ता घटना सकेसम्म गाउँघरमै मिलाउने भएकाले यसको यकिन सङ्ख्या योभन्दा अझ धेरै हुनसक्ने अनुमान गरिएको छ । 

जिल्लामा १६ वर्षीय किशोरकिशोरीदेखि ७१ वर्षीय वृद्धवृद्धाले समेत सम्बन्धविच्छेद गरिरहेका छन् । बितेका तीन वर्षको तथ्याङ्क हेर्दा पनि जिल्लामा सम्बन्धविच्छेदको मात्रा दिनानुदिन वृद्धि हुँदै गएको देखिन्छ । अदालतमा आर्थिक वर्ष २०७२/०७३ मा १२४ मुद्दा मात्रै सम्बन्धविच्छेदका दर्ता भएका थिए । आव २०७४÷०७५ यो सङ्ख्या बढेर दोब्बर पुगेको थियो । उक्त आव २२७  सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । अघिल्लो आवमा २१७ जनाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएको अदालतको अभिलेखमा उल्लेख छ । 

यसरी दर्ता भएका मुद्दामध्ये सबैजसो श्रीमान्ले मादक पदार्थ सेवन गरी कुटपिट गरेको, खान लाउन नदिने, माइती जाँदासमेत खोज खबर नगरेकाजस्ता आरोपसहितका मुद्दा पर्ने गरेको अदालतका श्रेष्तेदार कीर्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । सम्बन्धविच्छेदका मुद्दामध्ये अधिकांश मुद्दा श्रीमान् विदेश रहेका महिलाले दिने गरेका बताइएको छ । लामो समयसम्म श्रीमान् घर नआउँदा श्रीमतीले अर्कैसँग सम्बन्ध राख्दा यस्तो समस्या देखिने गरेको बताइन्छ ।

देखा सिकी गर्ने प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले पनि सम्बन्धविच्छेदको घटना बढेको हुनसक्छ रोल्पा जिल्ला अदालतका मेलमिलापकर्ता तीर्था आचार्यले बताउनुभयो । उमेर नपुग्दै आदर्श जीवनको परिकल्पनासँगै अपरिपक्व निर्णयले बालविवाह गर्ने उमेर छिपिएसँगैको परिपक्वताले सम्बन्धविच्छेद गर्ने गरेको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण लामो  समयसम्म श्रीमान् श्रीमतीको भेटघाट नहुनु, चेनताको अभाव, अशिक्षा र गरीबीले जिल्लामा सम्बन्धविच्छेदलाई मलजल गरिरहेको आचार्यले बताउनुभयो । न्यायालय वा कानून व्यवसायीसमक्ष आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने भएकाले उनीहरु सहयोगीका साथ उजुरी गर्न आउने गरेका बताइन्छ । 

सम्बन्धविच्छेदमा अग्रसर हुँदै पुरुष

महिलाले मात्रै सम्बन्धविच्छेद गर्ने विगतको परम्परालाई तोड्दै पुरुषसमेत सम्बन्धविच्छेदमा लालायित हुने गरेका देखिएको छ । पछिल्लो पटक तर्जुमा गरिएको मुलुकी संहिताले पुरुषले समेत सम्बन्धविच्छेदको उजुरी दिन पाउने कानूनी व्यवस्था गरेसँगै जिल्लामा सङ्ख्या पनि बढ्दै जान थालेको छ । अघिल्लो आवको भदौ १ गतेदेखि असार मसान्तसम्म जिल्लामा २६ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेको अदालतले जनाएको छ । 

सम्बन्धविच्छेदका लागि मुद्दा बोकेर अदालत जाने पुरुषले श्रीमतीले घरको चल सम्पती हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेकोजस्ता आरोप लगाउने गरेका छन् । यसरी सम्बन्धविच्छेद गर्ने पुरुषमध्ये अधिकांश समय घर बाहिर हुने देखिने गरेको बताइन्छ । 

आत्मनिर्भरताको खोजीमा

सम्बन्धविच्छेद पछि महिलाको दैनिकी अत्यन्तै चुनौतीपूर्ण हुने गरेको छ । सम्बन्धविच्छेद पछि सामाजिक दृष्टिकोणमा पनि बदलाव देखिने गर्दछ । घर बिग्रेको छोरी भन्दै माइतमा पनि फरक व्यवहार हुने गरेको पीडित महिलाको अनुभव छ । 

महिला हिंसा लुकाउन हुँदैन भन्ने जागरण तथा महिला सशक्तीकरणका कारण जिल्लामा सम्बन्धविच्छेद बढ्दै गएको बताइएको छ  । श्रीमान्ले सामान्य हिंसा गर्दा सहदै आएका महिला श्रीमान्को अत्याचार बढेपछि भने अदालतबाट सम्बन्धविच्छेद गर्न बाध्य हुने गरेको मेलमिलापकर्ता आचार्यले बताउनुभयो । मादकपदार्थ सेवन गर्ने, परस्त्रीसँग सम्बन्ध भएका तथा घरमा पालनपोषण नगरेका कारण सम्बन्ध बिग्रिएकाले सम्बन्धविच्छेद गर्ने गरेको आचार्यले बताउनुभयो । 

यस्ता पीडित महिलालाई सामाजिक र आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गरी राज्यले सहयोग गर्नुपर्ने मानव अधिकारका लागि एकल महिला समूहका अध्यक्ष तुलसा आचार्यले बताउनुभयो । सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्धविच्छेद गर्नेको मात्रामा कमी आउन नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन