वैशाख १९, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको जनाएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा सो सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज जानकारी दिनुभयो । उहाँले ती दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र अवस्था सामान्य रहेको बताउनुभयो ।
नेपालमा सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ भने सङ्क्रमणबाट निको भइ १६ जना घर फर्किसकेका छन् ।
मन्त्रालयले जनाए अनुसार हालसम्म नेपालमा कोरोना परीक्षणको शंख्या १२ हजार १३ पुगेको छ ।
नेपालमा कोरोना संक्रमण हुने महिलाको शंख्या ९ छ भने ५० जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको अवस्था छ । जस मध्ये ६० बर्षमाथिमा ९ जना रहेका छन् जस मध्ये ३ जना बृद्ध/वृद्धा निको भईसकेका छन् ।
जिल्ला अनुसार कोरोना संक्रमितहरुको शंख्या उदयपुरमा सबैभन्दा बढी रहेका छन् | यहाँ २८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पर्सामा ६ जना, काठमाडौँमा ५ जना, कैलालीमा ४ जना, रौतहटमा ३ जना, बागलुङमा २ जना बारामा २ जना, चितवनमा २ जना, झापामा २ जना रहेका छन् ।
त्यस्तै यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको शंख्या ३३ लाख २२ हजार ८१४ पुगेको छ ।
जस मध्ये २ लाख ३४ हजार ४०८ जनाको मृत्यु भएको छ भने १० लाख ५० हजार ४०८ जना निको भएका छन् ।