२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

वन्यजन्तु आतङ्क : काभ्रेलीको दीर्घकालीन समस्या

२०७७, २३ श्रावण शुक्रबार ०७:५३

साउन २३, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकास्थित गाउँमा अहिले बाँदरको गोठालो बस्नुपर्ने बाध्यता आइलागेको छ । साउन लाग्दै बँदेलको हैरानीले आजित भएका स्थानीयवासीलाई गाउँमा केही दिनदेखि बाँदरको प्रवेशले निकै घाटासमेत व्यहार्नुपरेको छ । 

नगरका अधिकांश वडाका स्थानीय बाँदर आतङ्क थपिँदा बालीको क्षति न्यूनीकरणका लागि वडा कार्यालय धाउन थालेका छन् । नगरका प्रवक्ता डिल्लीप्रसाद आचार्यले केही दिनदेखि स्थानीयवासीको खेतबारीको बाली खाइदिने तथा क्षति पुर्याइदिने गर्दा स्थानीयवासी निकै चिन्तित बनेको बताउनुभयो । “बाँदरले आतङ्कै मच्चाएपछि नगरका सातवटा वडाका बासिन्दा क्षति न्यूनीकरणको सहयोग माग्न आउनुभएको छ”, उहाँले भन्नुभयो । 

मण्डनदेउपुरको १२ वडामध्ये ८ र ९ बाहेक सबैमा बाँदरले खेतबारीको बालीमा क्षति पुर्याएको आचार्यले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा १२ नं वडाका स्थानीयवासीलाई सामूहिक रुपमा बाँदर धपाउने १५ यन्त्र दिइएको छ । आचार्यले भन्नुभयो, “बाँदरको सङ्ख्या त यकिन गर्न सकिएको छैन, तत्काल क्षति न्यूनीकरण गर्नुपर्ने देखिएको छ ।” उहाँका अनुसार यसअघि करीब दुई दर्जन हाराहारीको सङ्ख्यामा आएका बँदेलले नगरको १ देखि ६ वडासम्मको बालीनाली नष्ट गरेका थिए ।

घटनाक्रम नियाँल्दा जिल्लामा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको देखिन्छ । जसका कारण जङ्गल नजीक बस्तीका कृषकका बाली नष्ट भएका छन् भने यदाकदा चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता छ । पाँचखाल नपा–१३ कोशीदेखाका बासिन्दाले ३ वर्षदेखि बँदेल र बाँदरले बालीमा पु¥याउँदै आएको क्षति सहँदै तिनका आतङ्कले निकै आजित छन् । स्थानीयवासी यमलक्ष्मी थपलिया भन्नुहुन्छ, “बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खान्छन्, अझ केही बाली त, रोपेकै दिनदेखि उखेलिदिन्छन् ।” यहाँका बासिन्दा जङ्गली जनावरबाट मानिस र बाली जोगाउन स्थानीय जनप्रतिनिधिसँग आग्रह गर्दै आएका छन् । उनीहरु जङ्गली जनावरको आतङ्क नरोकिए विस्थापित हुनुपर्ने बाध्यता रहेको दुःखेसो पोख्छन् । “बँदेलको दुःख त छँदैछ, गाउँमा बाँदर पस्न थालेको पनि २ वर्ष भयो, हामीले नेतासँग हारगुहार माग्दै आएका छौँ”, एक स्थानीयवासीले भन्नुभयो, “नगरप्रमुखलाई पटकपटक भेट्दा आश्वासनमात्र पाइयो ।” नगरप्रमुख महेश खरेल जङ्गली जनावरको आतङ्कलाई दीर्घकालीन समस्या समाधानको बाटो खोजिरहेको बताउनुहुन्छ । 

बनेपा नपा–३ काँक्रेका कृषक गोकुल बजगाईं वन जोगाउँदै जाँदा जङ्गली जनावर पनि बढ्दा मानिसका लागि चुनौती बन्दै गएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वनमा बँदेलको सङ्ख्या बढ्दा आलुलगायत खेतीबाली नष्ट हुँदै गइरहेका छन् ।” उहाँका अनुसार प्रत्येक वर्ष बँदेलले खेतबारीमा लगाएको आलु रोपेकै दिन हुँडलेर सखाप बनाइदिन्छन् । सोही गाउँका रामेश्वर बजगाईंको पीडा पनि उस्तै छ । भन्नुहुन्छ, “२२ रोपनीमा हिउँद र वर्षामा दुई सिजन आलु लगाउँछु, कहिले त आलु टिप्नै पाइन्न ।” स्थानीय शिक्षक तुलाप्रसाद दाहालसँग भने बँदेल भगाउन बारीमा रेडियो बजाएर राखेकोसमेत अनुभव छ । 

उता धुलिखेल नपा–१ देवीटारकी कृषक सरस्वती घोरासैनीलाई दुम्सीले हैरान पार्दै आएको छ । “दुम्सीले गत वर्ष मेरो एक हजार ५०० बोट काँक्रो सखापै पार्यो, अहिले पनि अन्य बालीमा क्षति पुर्याउँछ कि भन्ने सम्भावित जोखिममै बसेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार दुम्सी ओढारमा लुक्ने र कोही नभएको बेला बारीमा आएर काँक्रो तथा अन्य बालीको उम्रिएका बोट उखेलेर फाल्ने गर्दछन् । उहाँ भन्नुहन्छ, “कहिलेकाहीँ त आगो बालेर दुम्सी भगाउन ओढारमा धुवाँ पठाउने पनि गर्दै आएका छौँ ।” गत साल जेठमा पनौती नगरेको कुशादेवी क्षेत्रमा पनि बाँदर आएर स्थानीयवासीलाई धेरै दुःख दिएका थिए । 

त्यसो त, काभ्रेपलाञ्चोकमा वन क्षेत्रमा जोडिएर रहेका बस्तीमा जङ्गली जनावरले बाली तथा घर पालुवा जनावरलाई समेत क्षति पुर्याएपछि समाधानतर्फ जान छलफल पनि चलाउन थालिएको छ । जिल्लास्थित संवाद समूहले केही महिनाअघि सम्म विभिन्न स्थानीय तहमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे विभिन्न चरणमा सरोकारवालासँग संवाद गर्दा अधिकांश कृषकले बँदेल र बाँदरको समस्या बढी देखाउँदै आएका थिए । डिभिजन वन कार्यालय धुलिखेलका सहायक वनअधिकृत रामकुमार भण्डारी जिल्लाका अधिकांश वनभित्र आवश्यक सङ्ख्याभन्दा बढी बँदेल भइसकेकाले किसानसँग द्वन्द्व बढ्ने खतरा रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ नीतिमै परिवर्तन नगरेसम्म जङ्गली जनावरको आतङ्क न्यूनीकरण गर्न सकिँदैन ।” 

भण्डारीका अनुसार कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नबनाए पनि क्षति भएपछि क्षतिपूर्ति दिने काम भइरहेको बताउनुभयो । “एक वन–एक घाँसे मैदान र एक पोखरी भन्ने सचेतना अभियानमा लगेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार प्राकृतिक रुपमा वनमै वन्यजन्तुको आहारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ । 

डिभिजन वन कार्यालयका अनुसार बितेको ११ वर्षमा काभ्रेपलाञ्चोकमा जङ्गली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र पाँचजना घाइते भएका थिए । कार्यालयमार्फत मानव मृत्यु तथा घाइते, अन्नबाली क्षति, करीब अढाई सय घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति दिइएको छ । सरकारको प्रावधानअनुसार कार्यालयले मृतकका प्रतिपरिवारलाई १५ लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिँदै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म