कार्त्तिक २, काठमाडौँ । सरकारले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) लगाउन यात्रुलाई आग्रह गरेको छ । कोरोना भाइरसको जोखिमसँगै दशैँमा ओहोरदोहोर गर्नेको सङ्ख्या पनि बढ्ने भएकाले फेस शिल्ड अनिवार्य लगाउन यातायात व्यवस्था विभागले आग्रह गरेको हो ।
लामो तथा मध्यम दुरीमा यात्रा गर्दा यात्रु आफैले फेस शिल्डको व्यवस्था गर्नुपर्ने निर्णय भएको विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिए । सार्वजनिक बसमा दुवै सिटमा यात्रु राख्न पाउने निर्णय भएसँगै पहिलेकै भाडादर लागू हुने उनले बताए । दुवै सिटमा यात्रु राख्न पाइने भएकाले पुरानै भाडादर लागू गरिएको विभागका सूचना अधिकारी भुसालले बताए ।
यसअघि जे–जस्तो भए पनि अबदेखि पुरानै भाडा लागू हुने र कोही कसैले बढी भाडा लिए कानुनअनुसार कारबाही हुने उनको भनाई छ । बढी भाडा लिए यात्रुले ट्राफिक प्रहरीको पैसा नलाग्ने १०३ नम्बरमा सम्पर्क गर्न सक्नेछन् । ट्राफिक प्रहरीसँग समन्वय गरेर बढी भाडा लिने, यात्रुलाई ठग्नेलाई कारबाही हुने विभागले जनाएको छ ।