कार्त्तिक २, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
थपिएका संक्रमित मध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन् । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ । पछिल्लो २४ घण्टामा थप २३२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९२ हजार १६६ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ ।