पुस १०, काठमाडौँ | काठमाडौँको बुढानीलकण्ठ नगरपालिका ४ स्थित फ्रिडम फाउन्डेसन नामक सुधारगृहमा बुधबार एक युवकले झुन्डिएर आत्महत्या गरेका छन् ।
एक पुर्व सरकारी अधिकारीको घरमा भाडामा संचालन गरिएको उक्त सुधारगृह बुढानीलकण्ठ ४ मा दर्ता गरि संचालनमा रहेको स्थानीय कार्यालयले जनाएको छ । तर सुधार गृह राखिएको घरमा सुधार गृहको नाम सहितको बोर्ड भने नराखिएको पाइएको छ ।
पवन श्रेष्ठले संचालन गरेको उक्त सुधारगृहमा आवश्यक पूर्वाधार समेत नरहेको र सुधारगृह संचालन गरि नियमित रेखदेख नगरेको स्थानीयको आरोपमा संचालक श्रेष्ठले भने 'मैले २४ घण्टा समय दिएको छु, जुन दिन घटना भएको त्यो दिन उहाँहरुकै विषयमा चिकित्सकसँग सल्लाह लिन पुगेकोले अरूलाई भन्ने बाटो भएको हो । सुधार गृहमा रहेका अन्य व्यक्तिहरुसँग जो कोहि आएर मैले गरेको कामबारे बुझ्न सक्नुहुन्छ ।'
सुधारगृह संचालक श्रेष्ठका अनुसार सुधार गृहमा ति युवकले ट्वाईलेट्मा झुन्डिएको र वडा प्रतिनिधिको रोहबरमा प्रहरी समेतको उपस्थितिमा डोरी काटेर अस्पताल लगेका जनाएका छन् । उनले भने 'बुधबार घटना भयो, त्यहि दिनदेखिनै हामी मर्माहत छौं । सुधारगृह खोलेर सामाजिक काम गर्न खोजेको हुँ तर गृह खोलेको केहि महिना नबित्दै यस्तो घटना घट्यो । सुधार गृह मापदण्ड अनुसार चलाउने मेरो सक्दो कोसिस भैरहेकै थियो ।' उनले अगाडी भने 'पिडितको परिवार, सुधार गृहमा रहेका अरु ११ जना र उहाँहरुको परिवारले मलाई आरोप लगाउनुहुन्छ भने मेरो गल्ति स्वीकार गर्छु ।'
युवकको आत्महत्याको सम्बन्धमा थप जानकारी लिन खोज्दा आत्महत्या गर्ने युवकका मामाले आफूहरु शोकमा रहेकोले यो विषयमा केहि नबोल्ने बताए ।
युवकले आत्महत्या गरेपछि पोष्टमार्टम भएको र हाल घटनाबारे महानगरीय प्रहरी प्रभाग चक्रपथमा थप अनुसन्धानकै क्रममा रहेको बुढानीलकन्ठ प्रहरीले जनाएको छ ।