२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले यसरी मनाए

२०७७, २ माघ शुक्रबार ०५:५२

रामचन्द्र न्यौपाने । माघ २, डोल्पा । भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाएका हुन् ।

आज बिहानै नुहाइधुवाइ गरेर छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ । भाइटीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ ।

टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाको रूपमा आफूसक्दो पैसा, धोती चोलीलगायतका कोसेली दिएर टीका थाप्ने गरिन्छ । आमाको हातबाट टीका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोरा पनि आजको दिन घर पुग्ने गर्दछन् । कुनै काम विशेषले घर पुग्न नसक्ने छोराले टेलिफोनबाटै भए पनि आशीर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोसेली छुट्याएर राखिदिने गरिन्छ ।

छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घरघर तथा गाउँबस्तीमा पुगेर भाइटीकामा देउसी भनेजस्तै भैलो खेल्ने प्रचलन छ । यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा, बाटोलगायतका सार्वजानिक सम्पदा मर्मतसम्भार गरिन्छ भने बचेको रकमबाट वनभोज जाने गरिन्छ ।

आजको दिनमा महिला पनि सार्वजानिकस्थलमा भेला भएर चुट्किला देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिरव्यथा साटासाट गर्ने गरिन्छ । डोल्पालगायत कर्णालीका अन्य जिल्लामा मनाइने छोरा तिहार कर्णालीमा कतै पनि नमनाइने त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी रमानन्द उपाध्यायले बताउनुभयो ।

भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने उहाँले बताउनुभयो । यो भैलो तिहारको देउसीभन्दा फरक ढङ्गबाट र फरक लयमा खेलिने गर्दछ । भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाहरु सबै जना मिलेर पाठी भात (स्थानीय भाषामा) वनभोज खाने प्रचलन रहेको समेत उपाध्यायले बताउनुभयो । छोरा तिहारमा आमा नहुनेहरुले भने स्थानीय मठमन्दिरमा गएर पुजारीको हातबाट टीका, अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् ।

छोरो तिहारमा खेलिने भैलोको केही अंश यस प्रकार छ–

आउँशीया बार, भैलो

दरमुद बार, भैलो

दरमुद्यया खोली भैलो

बाँस झोली, भैलो 

बाँसभित्र, भैलो

आर्या न तार्या, भैलो

पिपलु पाती, भैलो

रायकी छाती, भैलो

बाखरी खानु, भैलो

त्यो बाखरी कसो सुवाला, भैलो

कसो सुवाला, भैलो

भैलो दिने घरीनाको एककान सुन छ, भैलो 

एक कान मोती, भैलो 

सूर्यकी ज्वती, भैलो

भेडो दिन्नन् डोर्याइए ल्याउला, भैलो, 

घोडो दिन्नन चढी ल्याउला, त्यहीँ पर जाउँला पिरती लगाउँला, भैलो

पिरतीका बार, भैलो

आकाश जरा, भैलौ,

पात्तला शिला, भैलो

-रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ