फागुन २५, काठमाडौँ । राष्ट्रियसभा सदस्य एवम् गायिका कोमल ओलीले नेकपा एमाले नेता रघुजी पन्तविरुद्ध अदालतमा गालिबेज्जतीको मुद्दा दाएर गरेकी छिन् । मंगलबार ओलीले काठमाडौँ जिल्ला अदालतमा पन्त बिरुद्ध मुद्दा दाएर गरेकी हुन् ।
रघुजी पन्तले एक कार्यक्रममा ओलीलाई लिएर टिप्पणी गरेका थिए । उनले नेकपामा २० औं वर्षदेखि विवाह नै नगरी लागेका महिलाहरुले टिकट नपाएको बताउंदै कोमल ओलीले सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद भएको टिप्पणी गरेका थिए ।
पन्तले भनेका छन् ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् ।’
ओलीले आफ्नो इज्जतमा धक्का पुर्याउने नियतले जानीजानी गाली बेइज्जती र चरित्र हत्या गरेको भन्दै मुलुकी अपराध संहित २०७४ को दफा ३०५ (१) (२) कसुर गरेको हुँदा ऐ. दफा ३०५ (३) बमोजिम र बेइज्जतीतर्फ ऐनको दफा ३०६ (१) (२) (क) बमोजिम कसुर गरेको हुँदा ऐनको दफा ३०७ (१) बमोजिम सजाय गरी पाउँ भनेर अदालतमा मुद्दा दाएर गरेकी छिन् ।