चैत १०, काठमाडौं । सेयर राइडिङ कम्पनी पठाओले आफ्ना राइडरहरुलाई कम्पनीको लोगोअङ्कित कुनै पनि कपडा नलगाउन ह्वीप जारी गरेको छ । मंगलबार एक बिज्ञप्ति जारी गर्दै पठाओले अर्को सूचना जारी नहुँदासम्म उक्त कपडा नलगाउन राइडरहरुलाई कम्पनीले निर्देशन दिएको हो ।
कोभिड कालमा स्वास्थ्य सुरक्षाका लागि आवश्यक प्रोटोकलको रुपमा कम्पनीले राइडरहरुलाई कम्पनीको लोगो अंकित पीपीईको ज्याकेट, ट्राउजर वितरण गरेको थियो । मंगलबार पठाओले जारी गरेको विज्ञप्ति अनुसार कम्पनीले ड्रेसका कारण कुनै घटना घटे स्वयम् राइडरले जिम्मेवारी लिनुपर्ने भनिएको छ । जारी बिज्ञप्तिमा भनिएको छ 'कोरोना कहरमा जारी गरिएको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ नेपाल प्रालिले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै राइडरलाई राइडको समयमा अनिवार्य गराएको ‘प्रेटेक्टिभ गेयर’ (ज्याकेट र ट्राउजर सहितको कपडा) तत्कालका लागि बन्द गरेको छ ।'
पछिल्लो समयमा पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफलअनुसार अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकोले सम्पूर्ण राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नाअएसम्म प्रयोग नगर्न अनुरोध गरिएको छ’ पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै उक्त सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारवाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने जानकारी विज्ञप्तिमा उल्लेख छ । तर, कम्पनीको लोगो अंकित कुनै पनि कपडा (एप्रोन) मा बन्देज गरिए पनि राइड सेवा भने निर्वाध चल्ने कम्पनीले जनाएको छ ।
