फागुन १२, काठमाडौँ । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग खेपेका अभिनेता पल शाह प्रहरीको खोजीको सूचीमा छन् । उनलाई खोज्न प्रहरी परिचालन भएको जनाइएको छ । १७ वर्षीया गायिकाले आफूलाई शाहले पटक पटक बलात्कार गरेको दाबी सहित जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता गराएकी थिइन् । त्यससँगै प्रहरीले अनुसन्धान पनि तीब्र बनाएको छ ।
बलात्कार जस्तो जघन्य मुद्दामा जाहेरी परेसँगै शाहलाई अब पक्राउ पर्नबाट कसैले रोक्ने छैन । केही महिनाअघिदेखि नै शाह र ती गायिकाबीचको सम्बन्धको खबर बाहिरिएका थिए । बीचमा मिलापत्रका कुराहरु बाहिर आएपनि अन्ततः पीडित भनिएकी गायिका प्रहरीसम्म पुगेकी हुन् ।
पल शाहमाथिको अभियोग पुष्टि भए कानुनअनुसार १० देखि १२ वर्ष कैद सजाय हुने छ । मुलुकी अपराधसंहिताको करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ३ अनुसार उनलाई यो कैद सजाय हुने भएको हो । साथै शाहले पीडितको माग बमोजिम क्षतिपूर्ति पनि भर्नुपर्नेछ । ‘१६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म कैद हुने’ संहितामा भनिएको छ । शाहविरुद्ध उजुरी दिने गायिका हाल १७ वर्ष उमेरकी छिन् ।