२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जलेश्वरमा शिव आगमनको आभास

१५ फाल्गुन २०७८, आईतवार ०६:४८

फागुन १५, काठमाडौँ । शिवरात्रि लाग्नै लाग्दा शिव स्वयम्ले स्थापना गरेको भनिएको महालिङ्गमा उनी आइसकेको ठानी जलेश्वरमा विशेष सरसफाइ गरिएको छ ।  कलश शोभायात्रा सोमबार र विशेष महाशिवरात्रि पूजा मङ्गलबार गरिँदै छ । शिवपुराणमा भनिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयं’( जलेश्वर महालिङ्ग रुद्र स्वयंले स्थापना गर्नुभएको हो )।   महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेवको स्थापना आराध्यदेव महादेव स्वयंले गर्नुभएको जनाइएको छ । अहिले  मन्दिर सिँगार्ने काममा दर्जनाँ कामदार लागेका छन् । महाशिवरात्रि आउन तीन दिन मात्रै बाँकी रहँदा शिवभक्तिका गीतसङ्गीतले जलेश्वर गुञ्जायमान छ । शिवरात्रिको पूर्वसन्ध्यामा जलेश्वर नगरपालिका–१ स्थित मन्दिरमा जलेश्वर महादेव आइसक्नुभएको आभास भइरहेको जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठक बताउनुहुन्छ । 

अनादिकालमा बाबा जगदीशनाथ, चतुर्भुजनाथ र बाबा तसमैया घना जङ्गलमा बसेका बेला शिवले जगदीशनाथलाई सपनामा महादेव मन्दिर निर्माण गर्न आदेश दिएको किंवदन्ती रहेको जलेश्वरनाथ महादेवका पुजारी पाठक बताउनुहुन्छ । बाबा जगदीशनाथले जङ्गलमा बाघ, भालु, हात्ती जस्ता जनावर रहने भएकाले कोही पनि कामदार काम गर्न नआउने बताएपछि स्वयं रुद्रले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गराइदिएको भनाइ छ ।

जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढीमुनि जमिनभित्र छ जहाँ २४ सै घण्टा जल भरिएको हुन्छ ।  जलेश्वरनाथ महादेव वर्षको ३६५ दिन नै जलमा विराजमान रहने विश्वास छ । मन्दिरमा शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतीक्षा गर्नुपर्छ । मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न त्यहाँको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्छ ।   मन्दिरमा महाशिवरात्रि, साउन महिनाको प्रत्येक सोमबार र प्रत्येक महिनाको पहिलो सोमबारको दिन विशेष मेला लाग्छ । त्यतिबेला यहाँ विशेष पूजाआजा हुने र  प्रत्यक्ष दर्शन पाइने विश्वास छ । 

मन्दिरको पानी फालेर शिवलिङ्गको दर्शन गराउने चलन छ ।  भित्रको पानी मोटर वा दमकल लगाएर फाल्न सकिन्न ।  धेरैले धेरैपटक पानी फाल्न प्रयास गरिसके पनि सकेका छैनन् ।  मानव शक्तिले बाल्टिनको सहयोगमा पानी फालेमा मन्दिरको गुफा देखिने र भक्तजनले दर्शन पाउने भनाइ छ तर  पानी एकै छिनमा पुनः भरिइहाल्छ ।  त्यसैले पटक पटक पानी फ्याँकेर भक्तजनलाई दर्शन गराउने गरिन्छ जसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय युवाको जमात लागिपरेका हुन्छन् ।

गुफासहितको पानीमुनि शिव विराजमान रहेको मन्दिर कहिले बनेको भन्नेबारे कुनै प्रमाण भने छैन । भनिन्छ, रुद्रले स्वयं गुफासहितको मन्दिर निर्माण गरिदिएपछि बाबा जगदीशनाथले नित्य पूजाआजाका साथै  मन्दिर र महादेवका बारेमा प्रचारप्रसार गर्नुभयो । जलेश्वरको चौतर्फी चर्चा परिचर्चा गरेर प्रख्यात बनाउन भूमिका खेल्नुभएका जगदीशनाथले जीवनको अन्तिम कालमा बाबाको मन्दिरको ठीक सामुन्ने समाधि लिनुभयो । उहाँको सानो मन्दिर पनि जलेश्वरनाथ मन्दिरको सामुन्ने अझै छ ।

समयको कालखण्डसँगै नेपालमा शाहवंशी राज्य भएको बेला विक्रम संवत् १८६७ मा राजा गीर्वाणयुद्धविक्रम शाहले तत्कालीन कञ्चनपुर गाउँस्थित जङ्गल (हाल रामगोपालपुर नगरपालिका–७ ) मा शिकार खेल्न आएका बेला जलेश्वरनाथ मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआजाका लागि २७५ बिघा जग्गा र चार महापोखरी दान दिनुभएको ताम्रपत्रमा उल्लेख छ जसलाई मौजेका नाउँमा बुझ्न थालियो । मौजेका रूपमा मन्दिरले जलेश्वर मौजे, बजराही मौजे, बहेरा मौजे, डाम्ही महेशपुर तथा वरुण सरोवर, पुरन्दर सरोवर, मखान पोखरी र महन्थ पोखरी जस्ता महापोखरी पनि पाएको थियो ।

शिवपुराणमै उल्लेख भएअनुसार जलेश्वरनाथ महादेवको ठीक अगाडि रहेको वरुण सरोवरमा स्नान र बाबा जलेश्वरनाथ महादेवको दर्शन मात्रले प्राणीमात्रले मुक्ति पाउने गर्छ । लामो समयसम्म बाबा जलेश्वरनाथसँग रहेका दर्जनौँ मौजे र महापोखरीबाट आएका आम्दानीबाट मन्दिरको दैनिक पूजाआजा,  शिवको भोग, साधुसन्तको भण्डारा र आगन्तुकको स्वागतसत्कारसमेत हुने गरेको थियो । त्यस बेला  मन्दिरमा पूजाआजाका लागि द्वेन्द्व गिरी नाउँका पुजारी थिए । उनले लामो समयसम्म बाबा जलेश्वरनाथको सेवा गरेका थिए । 

समय बित्दै जाँदा विसं १९९५ मा बडाहाकिम रामशम्शेरले जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि पुनः आकर्षक र ठुल्ठुला बुर्जासहितको अद्वितीय मन्दिर निर्माण गरे ।  महामन्दिर निर्माण गर्न बडाहाकिम रामशम्शेरले त्यस बेला रु २५ हजार खर्च गरेका थिए । महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्थालगायत वस्तुको प्रयोग गरिएको थियो । महामन्दिर निर्माणको बेला जलेश्वरनाथ महादेव मन्दिरका पुजारी राजनारायण गिरी थिए । 

बाबा जलेश्वरनाथ महादेव मन्दिरमा साक्षात् शिवको बास रहेको र चोखो मन, वचनले भाकल गर्नेको मनोकामना अवश्य नै पूरा हुने गरेको जनविश्वास रहिआएको पुजारी पाठक बताउनुहुन्छ । जलेश्वरनाथको महिमा तथा उनको भलाइको गुणगान महोत्तरीलगायत धनुषा, सिरहा, सर्लाही, सिन्धुली जस्ता छिमेकी जिल्ला तथा नेपालका विभिन्न ठूला –साना सहर तथा गाउँ र राजधानी काठमाडौंँमा समेत भएको उल्लेख छ । यसका अलावा भारतका पटना, दरभङ्गा, मुजफ्फरपुर, सीतामढी, मधुवनीलगायत सहरमा पनि जलेश्वरनाथको व्यापक चर्चा छ । सोही कारण उहिले र अहिले पनि उल्लिखित ती स्थानबाट बर्सेनि जलेश्वरनाथको दर्शनका लागि लाखौँ पर्यटक (दर्शनार्थी) आउने गर्छन् ।

मन्दिरसँग सयौं बिघा जग्गा र चार महत्वपूर्ण पोखरी रहेकाले निकै भव्य तरिकाले सञ्चालन, व्यवस्थापन हुँदै आएको थियो । समय बित्दै जाँदा पद्मशम्शेरले  आफ्ना पालामा  मन्दिरको अधीनमा रहेको जग्गा आफ्ना गुरुपुरोहित गोपालबहादुर उपाध्याय, रामबहादुर उपाध्यायलगायत चार–पाँच दाजुभाइलाई दान दिएको बताइन्छ । पद्मशम्शेरले दान दिएपछि गुरुपुरोहित र उनका सन्तानले मौजे बेचेर खाएपछि  विस्तारै मन्दिरको दिन बिगिँ्रदै गएको पुजारी पाठक बताउनुहुन्छ ।

विसं १९८३ को श्रेस्तामा सयौँ बिघा जग्गा मन्दिरको नाउँमै उल्लेख रहेको देखाउँछ । त्यसैगरी विसं २००२ सम्म मन्दिरको महन्थका नाउँमा मौजेहरू रहेको उल्लेख छ तर मन्दिरका सयौँ बिघा जग्गाको मौजे विसं २००८ देखि हराएको छ । यसरी सयौंँ बिघा जग्गा दानका नाउँमा हराए ।  मन्दिरका चार महापोखरी अहिले जलेश्वर नगरपालिकाले आफ्नो कब्जामा लिए पनि मन्दिरलाई कुनै सहयोग नगरेको गुनासो सर्वसाधारणको छ । 

मन्दिरकै दक्षिणपट्टि रहेको गुठी संस्थानसँग रहेको ताम्रपत्रमा राजा गीर्वाणयुद्धविक्रम शाहले दान दिएको २७५ बिघा जग्गा र चार महापोखरी अझै पनि सुरक्षित  छ । कुनै बेला चार महापोखरी र २७५ बिघा जग्गाको मालिक रहेका जलेश्वर महादेवलाई अहिले पूजाआजा र भोग (प्रसाद) का लागि केही छैन ।  मन्दिरमा आएर पूजाआजा गर्ने भक्तजनलाई मालामाल बनाइदिएका जलेश्वरनाथ आफू भिक्षा र भेटीका भरमा बस्नुपरेको पुजारी पाठकले बताउनुभयो ।

कुनै बेला सयौं बिघा जग्गा र चार महापोखरीको मालिक रहनुभएका बाबा जलेश्वरनाथ आज साँच्चिकै भिखारी हुनुभएको छ । आज मन्दिरसँग केही पनि छैन । बाबा अहिले दैनिक भक्तजनको दान, चन्दा र सहयोगमा निर्भर हुन पुगेको  पुजारी पाठकले गुनासो गर्नुभयो । 

मन्दिरमा अहिले भक्तजनले चढाएको भेटी, चन्दा र अन्य सहयोगबाटै नित्य पूजाआजा तथा प्रसाद चल्ने गरेको छ । यसका अलावा मन्दिरमा २४ सै घण्टा खटिने पुजारी, टहलु, मेस्तर, गिरी र आगन्तुक बाबाजीहरूको पनि दिनचर्या भक्तजनकै दानदातव्यबाट चल्ने गरेको जनाइएको छ ।   आजसम्मको इतिहासमा कुनै पनि दिन बाबाको पूजाआजा प्रभावित नभएको, भोग –प्रसादको कमी नभएको, बाबाको सेवामा लागेका कोही पनि भोकै बस्न नपरेको र आगन्तुक समेतलाई पनि कहिले कुनै समस्या नभएको पुजारी पाठक बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कहाँबाट कसले कतिबेला ल्याइदिन्छ, थाहा हुँदैन, सबै बाबा महादेवको कृपाले चलेको छ ।”

बाबा जलेश्वरनाथ तीन– चार वर्षदेखि टेकाको भरमा बस्नुभएको छ । मन्दिरमा पछि निर्माण गरिएको बाहिरी विशाल मन्दिर  शिवलिङ्गको ठीकमाथि भित्रपट्टिबाट झुकेको र कुनै पनि बेला ढल्न सक्ने अवस्थामा पुगेको पुजारी पाठक बताउनुहुन्छ । उहाँका अनुसार तीन वर्ष पहिले २०७५ सालमा अचानक एकदिन मन्दिरको भित्री भागमा झुकेको देख्दा तुरुन्तै फलामका दुई मोटा मोटा टेको लगाइयो ।  मन्दिरको जीर्णावस्थाबारे जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलाई जानकारी गराउनाका साथै पटक पटक बोलाएर अवलोकनसमेत गराइएको छ । यसका अलावा तीन वर्षका बीच पुरातत्त्व विभागबाट पनि चार पटक विज्ञ आएर मन्दिरको अवस्था हेरेर गए पनि  मन्दिरको जीर्णोद्धार तथा मर्मतसम्भारका लागि कतैबाट कुनै सहयोग नआएको दुखेसो पुजारीले पोख्नुभयो ।

जीर्ण तथा ढल्ने अवस्थामा पुगेको पौराणिक  जलेश्वर मन्दिरको तत्काल जीर्णोद्धार र मर्मत सम्भार गरी संरक्षण, संबद्र्धन र  व्यवस्थापनका लागि पनि यथोचित व्यवस्था गर्न/गराउन सरोकारवालासँग मन्दिर परिवारका साथै बाबाप्रति आस्था राख्ने सबैले माग गरेका छन् ।

महाशिवरात्रि पूजाको अवसर पारेर अहिले मन्दिरलाई दुलही झैंँ सिंगारिने काम तीव्र रुपमा भइरहेको छ ।  यस वर्ष  महालिङ्गको दर्शन करीब तीन लाख भक्तजनले आउने अनुमान रहेको जलेश्वर महाशिवरात्रि महोत्सवका संयोजक राकेशकुमार साहले बताउनुभयो । उहाँका अनुसार यस वर्ष जलेश्वरनाथ महादेवको विशेष पूजा (शिवरात्रि) का अवसरमा मन्दिरदेखि ५०० मिटरसम्म भव्य पन्डाल, झिलीमिली बत्ती, फूलमाला र विशेष प्रकारको ध्वनिले सजाइएको छ ।  मन्दिरभित्र पनि आकर्षक पन्डाल रहेको र सम्पूर्ण मन्दिरलाई नै सयपत्री फूलको मालाले छोपेर सजाइएको संयोजक साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै