फागुन १९, काठमाडौँ । अति दुर्गम र दुर्गम ठाउँबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीका लागि नि:शुल्क विद्युतीय चुलो (इन्डक्सन) बाँडिने भएको छ । सरकारी शिक्षण संस्थाहरुमा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यस्तो कार्यक्रम ल्याएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क तथा निश्चित प्रतिशत छुटमा यस्तो चुलो वितरण गर्ने भएको छ ।
केन्द्रले प्रकाशित गरेको सूचनामा दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर घरभाडामा लिइ सरकारी तथा सामुदायिक शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीहरू यसबाट लाभान्वित हुनेछन् । यसका लागि स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूले आवेदन दिन पाउनेछन् ।
एलपी ग्यासको मूल्य बढ्दै गएको अवस्थामा विद्यार्थीहरूलाई राहत स्वरुप विद्युतीय चुलो वितरण गर्न लागिएको हो । यसबाट विद्युतीय चुलोको प्रवर्द्धन समेत हुने केन्द्रको विश्वास छ ।
विद्युतीय चुलोका लागि आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका साथै शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिसपत्र समावेश गर्नुपर्नेछ ।