2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका बेला दिएका यी हुन् आठ सन्देश

चैत १४, काठमाडौं ।  नेपालको तीन दिने भ्रमण सम्पन्न गरी चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्केका थिए । 

५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण चिसिएको नेपाल–चीन सम्बन्धलाई वाङको भ्रमणले केही न्यानो प्रदान गरेको छ । 

उनले नेपाल रहँदा नेपालका समकक्षी डा नारायण खड्कासँग द्विपक्षीय वार्ता गरे । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरे । फर्कनुभन्दा केही घण्टाअघि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका थिए । सबै भेटवार्तामा वाङले चीनले दिन खोजेको सन्देश स्पष्ट राखेका थिए । 

उनले दिएको पहिलो सन्देश छ, ‘अन्तर्राष्ट्रिय परिदृश्य र आन्तरिक परिस्थिति जस्तोसुकै भए पनि चीनले नेपालप्रतिको मित्रवत नीतिलाई निरन्तरता दिनेछ ।

केही साताअघि नेपालको संसदले एमसीसी अनुमोदन गर्नुअघि चीनले सो विषयमा असन्तुष्टी जनाएको थियो । चीनले एमसीसी अनुमोदन गर्न अमेरिकाले कूटनीतिक दबाब दिएको आरोप लगाएको थियो । चीनले एमसीसी मार्फत अमेरिकाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको समेत आरोप लगाएको थियो । 

नेपाल भ्रमणमा चिनियाँ विदेशमन्त्रीले केही दिनअघिको तिक्ततालाई बिर्संदै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पारस्परिक हित हुने सहयोगलाई बढावा दिने र चीन–नेपाल समुदायको निर्माणलाई अगाडि बढाउने कुरामा जोड दिएका थिए । यो उनले दिएको दोस्रो सन्देश थियो ।

वाङले दिएको तेस्रो सन्देश हो– नेपाललाई आफ्नो राष्ट्रिय परिस्थिति अनुरूप विकासमा सहयोग गर्ने । यसैमा टेकेर उनले नेपालका कुनै पनि दललाई काखा र पाखा नगर्ने स्पष्ट सन्देश दिएका थिए । उनले स्पष्ट शब्दमा भनेका थिए, ‘चीनको सहयोग नेपाली जनताप्रति केन्द्रित हुनेछ ।’ 

नेपालमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा सघाउन चीन इच्छुक छ– वाङले दिएको चौंथो सन्देश थियो । डा. खड्कासँगको भेटमा उनले यसको लागि राज्य शासनका अनुभव साटासाट गर्न समेत चीन तयार रहेको बताएका थिए । 

चिनियाँ विदेशमन्त्रीको पाँचौं सन्देश छ, ‘चीनले नेपाललाई स्वतन्त्र घरेलु र विदेश नीतिहरू अवलम्बन गर्न सहयोग गर्छ ।’ भेटमा वाङले चीनले जहिले पनि साना वा ठूला सबै राष्ट्रको समान सम्मान गर्ने र सबै देशको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई सधैं सम्मान गर्ने बताएका थिए ।

नेपालमा कसैले भूराजनीतिक खेल खेल्न खोजे त्यो चीनको लागि सह्य नहुने उनले नेपाली नेतृत्वलाई दिएको छैटौं सन्देश थियो । 

‘नेपालको मामिलामा नेपाली जनताले नै निर्णय गर्नुपर्छ भन्ने चीनको विश्वास छ । चीनले नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा खलल पार्ने, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालमा भूराजनीतिक खेल खेल्ने प्रयासको विरोध गर्छ,’ चिनियाँ विदेशमन्त्री वाङले स्पष्ट शब्दमा भनेका थिए । 

चिनियाँ विदेशमन्त्रीको सातौं सन्देशमा परेको छ चिनियाँ महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) । उनले नेपाललाई बीआरआईबाट फाइदा लिन आग्रह गरेका थिए । 

‘विगत धेरै वर्षहरूमा दुई देशबीच बेल्ट एण्ड रोड सहकार्यमा सन्तोषजनक प्रगति भएको छ, जसले नेपालमा निर्माणलाई उल्लेखनीय रूपमा बढाएको छ,’ चिनियाँ विदेशमन्त्री वाङले भनेका थिए । 

बीआरआई अन्तर्गत दुई पक्षबीचको मुख्य सहयोग परियोजनाहरूलाई द्रुत गतिमा अगाडि बढाउन, दुई देशबीच सुख्खा बन्दरगाह सहज सञ्चालन गर्न, विद्युतमा सीमापार सहयोगको खोजी गर्न, जनता–जनताबीच सम्बन्ध विस्तार गर्न चीन तयार रहेको सन्देश दिएका थिए । 

उनले भेटवार्ताहरुमा सांस्कृतिक आदानप्रदान, हिमालयलाई दुई देशबीचको मैत्रीपूर्ण सहयोगको बन्धन बनाउन ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । 

चिनियाँ विदेशमन्त्रीले दिएको आठौं सन्देश थियो, ‘चीन–नेपाल रणनीतिक साझेदारी ।’ यो रणनीतिलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ मा नेपाल भ्रमण गर्दा पनि उठाएका थिए । संयुक्त विज्ञप्तिमा नै यो कुरा समेटिएको थियो । वाङले यसपटकको भ्रमणमा पनि चीन–नेपाल रणनीतिक साझेदारीको विषय उठान गरेका छन् । 

‘दुई देशका नेताहरूबीचको महत्वपूर्ण सहमतिबाट निर्देशित भएर चीन  चौतर्फी सहयोग विस्तार गर्न,  विकास र समृद्धिका लागि चिरस्थायी मित्रता सहितको चीन–नेपाल रणनीतिक साझेदारीलाई निरन्तर अगाडि बढाउन तयार छ,’ उनले प्रधानमन्त्री देउवासँगको भेटमा भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक