२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभरका झन्डै तीन हजार मतदान स्थल सुरक्षा दृष्टिकोणले अति संवेदनशील सूचीमा

२०७८, १५ चैत्र मंगलवार ११:३५

चैत १५, काठमाडौं । स्थानीय तह निर्वाचनमा झन्डै तीन हजार मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले देशभरका दुई हजार ९०० भन्दा बढी मतदान स्थललाई अति संवेदनशील मतदान केन्द्रको सूचीमा राखेको हो । 

त्यस्तै चार हजारभन्दा बढी मतदान स्थललाई संवेदनशील र तीन हजार मतदान स्थल सामान्य अवस्थामा राखिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए । 

निर्वाचन आयोगले देशभर १० हजार ७५६ मतदान स्थल तोकेको छ । जसमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । अति संवेदनशील मतदान स्थलमा अलि बढी सुरक्षाकर्मी खटाइनेछन् । अति संवेदनशील भनिएको ठाउँमा आवश्यकताको आधारमा ११ जनाभन्दा बढी सुरक्षाकर्मी खटाइने उनको भनाइ छ । अति संवेदनशील हुनुपर्ने तर सदरमुकाम नजिक भएका, तत्काल थप सुरक्षाकर्मी परिचालन गराउन सकिने मतदान स्थललाई संवेदनशील तथा सामान्य मतदान स्थलको रूपमा राखिएको प्रवक्ता केसीले बताए । 

कस्तो खालको सुरक्षा चुनौती छ ? 

यसपटकको निर्वाचनमा विगतको जस्तो सुरक्षा चुनौती नरहेको सुरक्षा अधिकारीहरूको बुझाई छ । ‘विगतका निर्वाचनमा विभिन्न आपराधिक समूह तथा राजनीतिक समूहहरू थिए । २०७४ सालकै निर्वाचनमा विप्लव समूह थियो । तराई मधेसमा सिके राउतको अर्धभूमिगत समूह थियो,’ एसएसपी केसीले भने, ‘ती समूहले मतदातालाई तर्साउने, धम्क्याउने, मतदान गर्न जान नदिने जस्ता काम गरेका थिए । अहिले त्यस्तो कुनै चुनौती छैन ।’  

सुरक्षा निकायले यो पटकको चुनावमा औल्याएका सुरक्षा चुनौती सामान्य खालका छन् । ‘पहिलाको जस्तो सुरक्षा चुनौती छैन् । राजनीतिक दल-दलबीच आपसी सभा सम्मेलन गर्दा सामान्य झडप हुन सक्ने, भौगोलिक विकटता, सवारी साधन जान नसक्ने, मतपेटिका संकलन गर्दा हुन सक्ने सम्भावित घटनाहरू । यस्ता प्रकारका चुनौती मात्र छन्,’ प्रवक्ता केसीले भने । 

नेपाल प्रहरीबाट स्थानीय तह निर्वाचनका लागि ७० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । त्यस्तै प्रहरीकै निर्देशनमा एक लाख म्यादी प्रहरी पनि चुनावमा खटिनेछन् । यसका साथै ३४ हजार बढी सशस्त्र प्रहरी बल, १८ हजार बढी अनुसन्धान विभागका सुरक्षाकर्मी र नेपाली सेनाबाट आवश्यकताअनुसार सेना परिचालन हुनेछन् । निर्वाचन लक्षित गरेर चारवटै सुरक्षा निकायले निर्वाचन सुरक्षा सेल गठन गरेका छन् । त्यही सेलबाट निर्वाचन सुरक्षासम्बन्धी आवश्यक काम कारवाही भइरहेका छन् ।  

गत बिहीबार मात्रै एकीकृत सुरक्षा नीति पारित गरेको थियो । गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त एकीकृत सुरक्षा नीति पारित गरेको थियो । एकीकृत सुरक्षा नीतिअनुसार नेपाल प्रहरीका जनशक्ति मतदान स्थल र मतदान केन्द्रको भित्री सुरक्षामा रहनेछन् । निर्वाचन स्थलमा एक लाख म्यादी प्रहरी पनि खटाइनेछ । त्यस्तै मतपेटिकाको पुर्‍याउने, ल्याउने काम पनि प्रहरीले नै गर्नेछ । 

यसैगरी, मतदान स्थल र मतदान केन्द्रको बाहिरी भाग तथा बाहिरी गस्तीमा सशस्त्र प्रहरीले सुरक्षा दिनेछ । निर्वाचन कार्यालयको सुरक्षासमेत सशस्त्र प्रहरीले गर्दै आएको छ । 

नेपाल प्रहरीले एआईजी सहकुलबहादुर थापाको नेतृत्वमा निर्वाचन सेल गठन गरेको छ । उक्त सेलले निर्वाचन केन्द्रित सुरक्षाको काम गर्दै आएको छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपालले समेत निर्वाचन सुरक्षा रणनीति तयार पारेर तल्ला तहसम्म नै काम गरिरहेको छ । सशस्त्रले केन्द्रीय निर्वाचन सेल, बाहिनी, गण तथा गुल्ममा निर्वाचन सुरक्षा सेल गठन गरेर हाल देशभर अनुशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको सशस्त्र प्रहरी प्रवक्ता कमलप्रसाद तिउसिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते