औषधि पसलेहरु सच्चिनुको बदला हारगुहारमा

Posted on: 17 Sep, 2016


असोज १ पर्वत ।नियम विपरित औषधि विक्री र स्वास्थ्य सेवा प्रदान गरी सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्दै आएका औषधि पसलेहरुले सच्चिनुको बदला हारगुहार गर्दै छन् । नेपाल औषधि व्यवसायी संघ धौलागिरि अंचल शाखाले समाचारको विषयलाई लिएर प्रेस विज्ञप्ति निकालेको छ । संघले औषधि पसलेहरुको बचाउ गर्न खोजेको देखिन्छ ।
    प्रेस विज्ञप्तिमा औषधि पसलहरु नियमकानूनको परिधिमा रही व्यवसाय संचालन गरेको दावी गरेपनि औषधि विक्री गर्ने मात्र स्वीकृति लिनेले विरामीको चेकजाँच गर्दै आएको जिल्ला प्रशासनको अनुगमन रिपोर्टको कुरालाई महत्व दिईएको छैन । यसै विज्ञप्ति मार्फत् जीवन रक्षाका अत्यन्तै संवेदनशील सेवामुलक व्यवसाय अपनाई रहेका सम्पूर्ण औषधि व्यवसायीहरुले त्रुटि रहित सेवा प्रदान गर्न तल्लीन रहुनु हुन संघले अनुरोध गरेको छ ।         औषधि र औषधिजन्य वस्तुहरुका साथै सर्जिकल उपकरणहरु सवै नेपाल सरकारले तोकेको दररेटमा निश्चित मुनाफा लिई औषधि व्यवस्था विभागबाट मान्यता प्राप्त औषधिहरु मात्र विक्री    वितरण गर्दै आईरहेको पनि संघले सम्वन्धित सवैमा जानकारी गराउँछ भनिएको छ ।
     यति भनिरहदा विरामीलाई सस्तो र केही प्रतिशत छुटमा पनि औषधि विक्री गरिने कुरा कहिकतै उल्लेख गरिएको विज्ञप्तिमा छैन ।
    संघको यो विज्ञप्ति केही औषधि पसलेहरुले गर्दै आएको कानून विपरितका कार्यलाई यस पत्रिका मार्फत् भण्डारफोर गरिएपछि आएको हो । औषधि पसलेहरुले स्वास्थ्य सेवाका नाममा कानून विपरित ईसिजी, भिडियो एक्स रे, एक्स रे लगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आएको बारे विज्ञप्ति मौन छ । विज्ञप्तिमा औषधि पसलेहरुको अनुगमन भएको र पेशामा संवेदनशीलता देखाएको दावी गरेपनि औषधि विक्री गर्ने मात्र भनी अनुमति लिएकाहरुले    विरामीको खुलेआम स्वास्थ्य परीक्षण गर्दै आएका छन् । मुनाफा कमाउनै भनेर आवश्यक भन्दा बढी औषधि विक्री गरिने गरेको छ । असुरक्षित रुपमा गरिने एक्स रे मार्फत् क्यान्सरका विकिरण फैलाइराखेका छन् । यसबारे संघ मौन छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको औषधि पसलहरुको अनुगमनमा प्रशस्तै लापरबाही पाइएको छ । विगत २०७१ सालमा     गरेको अनुगमनलाई औषधि पसलेले टेरपुच्छर लगाएको पाईदैन भने केही हप्ता पहिले भएको अनुगमनमा पनि औषधि पसलेले सच्चिएर आफ्नो पेशामा संवेदनशीलता देखाएको पाइदैन ।
     केही ईमान्दार औषधि पसलेहरुले समेत कानून विपरित कार्य गर्ने औषधि पसलेका विरुद्ध कारवाही हुनुपर्ने बताएका छन् तर कारवाही गर्ने स्थानीय निकाय मौन बस्दै आएको छ भने संघले स्वास्थ्य क्षेत्रमा गलत कार्य गर्दै आएका औषधि पसलेलाई खवरदारी गर्न समेत सकेको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!