2026-07-25 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिसो नबढेकोमा चिन्ता ! किन परिरहेको छैन हिउँ र पानी?

पुस २८, काठमाडौँ | मौसमका हिसाबले यो निकै चिसो हुनुपर्ने बेला हो। तर, काठमाडौंको बानेश्वर निवासी ६१ वर्षीया नानु उदासलाई यस वर्ष गत वर्षझैं एकदमै चिसो लागेको छैन। ‘काठमाडौं उपत्यकामा बिहानै घाम लाग्छ। आकाश खुला हुन्छ। शीत पनि परेको हुँदैन। त्यसैले औसतमा चिसो नबढेको हो,’ उनी भन्छिन्।

हिउँदमा टन्टलापुर घाम लाग्दा आनन्द लाग्नुपर्ने हो, तर उनी भने चिन्तित छन्। जाडो महसुस हुनुपर्ने बेला दिउँसोको घाममा केही बेरमात्रै बस्दा चिटचिट पसिना आउनु मौसमका हिसाबले राम्रो संकेत नभएको उनको बुझाइ छ। ‘यस वर्ष अहिलेसम्म पनि हिउँदे झरी भएको छैन। चिसो बढेको छैन। बिहानै घाम लाग्छ। घाम लाग्नु राम्रो हो। तर, जुन मौसमको विशेषता जे हो, त्यो नहुँदा स्वास्थ्यका लागि पनि राम्रो हुँदैन भन्छन् डाक्टरहरु,’ उनले भनिन्। पानी नपर्दा प्रदूषण बढेको भन्ने कुरा आफूले समाचारमार्फत थाहा पाइरहेको उनी बताउँछिन्।

‘पानी नपर्दा धूलोधुवाँ बढेको छ भन्छन्। यो स्वास्थ्यका लागि राम्रो होइन रे। पहिले–पहिले त यो समयमा यस्तो घाम लागेको र चिसो घटेको कहिले देखेकी थिइनँ,’ उनले सम्झिइन्। नजिकैको चन्द्रागिरी डाँडा पनि अघिल्ला वर्षहरूमा यतिबेला हिउँले सेताम्मे देखिने गरेकोमा यस पटक त्यस्तो हुन नसकेको उनले बताइन्। वन र वातावरण विनास गर्दा अहिलेको अवस्था सिर्जना भएको भन्ने लाग्छ उनलाई। समयमै हिउँदे वर्षा नहुँदा खासगरी किसान मर्कामा परेको उनले बताइन्।

धनगढी उपमहानगरपालिका–५ तारानगरका कृषक हेम मिश्रलाई पनि हिउँदमा चिसो नबढ्दा अचम्म लागेको छ। त्योभन्दा बढी अचम्म पानी नपर्दा। ‘पुस सकिनै लाग्यो, हिउँदे झरी परेकै छैन। उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ परेको छैन। तराई र पहाडमा पानी नपर्दा जमिन सुक्खा छ। यस्तो सुक्खा मैले यसअघि देखेकै थिइनँ। यसले हिउँदे बालीमा ठूलो असर पर्ने देखिन्छ,’ उनले भने। आफूले थाहा पाएसम्म ढिलोमा पुस १५ सम्म हिउँ पर्ने र वर्षा हुनेमा यसपटक पुस अन्तिमसम्म पनि हिउँ र वर्षा नहुँदा चिन्तित तुल्याएको उनी बताउँछन्। तराईमा कहिलेकाहिँ हुस्सु र तुवाँलो लागे पनि गत वर्षको भन्दा निकै कम भएको उनको बुझाइ छ।

‘कैलाली खेतीपातीका लागि उर्वर भूमि हो। अहिले गहुँ बालीको राम्रो उब्जनीका लागि पानी पर्नुपर्थ्यो तर त्यो हुन सकेको छैन। हिमालमा र पहाडमा हिउँ नपर्दा खोलानालामा पनि पर्याप्त पानी छैन। यसले गर्दा कुलो भएका स्थानमा पनि पर्याप्त सिँचाइ गर्न सक्ने अवस्था छैन। यस पटक त उब्जनी नै घट्ने भयो,’ उनले चिन्ता व्यक्त गरे।

हिउँ पर्दा पानीको स्रोत रिचार्ज हुन्छ र त्यसले बर्खामा मूल फुट्न सहयोग पुग्छ। पानी पुनर्भरणको यो प्रक्रियाले हिउँदे बालीमा सिँचाइ पुग्ने भए पनि त्यसो हुन नसक्दा हिमाली भेगका किसान पनि मर्कामा परेका छन्। माटोमा चिस्यान कायम राखिराख्न र मौसमी चक्रलाई जोगाउन पनि हिउँदे वर्षा र हिउँ अनिवार्य हुने मौसमविद्हरूको भनाइ छ।

नेपालमा अझै हिउँदे वर्षा हुन केही समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् समीर श्रेष्ठले अझै केही दिन नेपालमा हिउँदे वर्षा हुने सम्भावना न्यून रहेको बताए। ‘आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी तथा गण्डकी, बागमती र प्रदेश १ का हिमाली भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। अन्य भागमा भने मौसम सामान्यतया सफा नै रहने छ। पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु–कुहिरो लागेको छ,’ उनले भने। श्रेष्ठले केही दिनसम्म यही मौसमी गतिविधि सक्रिय रहने जानकारी दिए। 

आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उनले बताए। ‘यस वर्ष वर्षा गराउने प्रणाली नै सुख्खा छ। बंगालको खाडीबाट सक्रिय हुने मौसमी प्रणालीका कारण नेपालमा चाँडो वर्षा हुन्छ। तर, यस पटक प्रशान्त महासागरमा ‘लामिनिया’ हुँदा मौसममा समस्या देखिएको हो,’ उनले भने। समयमा वर्षा नहुँदा प्रदूषण बढ्नुका साथै किसान मर्कामा परेको श्रेष्ठले बताए।

हिउँदे वर्षा हुने र अझै चिसो बढ्ने सम्भावना भने कायमै रहेको उनले बताए। ‘काठमाडौंमा नै दुई डिग्रीमा झर्नुपर्ने न्यूनतम तापक्रम यस वर्ष साढे तीन डिग्रीभन्दा तल भरेको छैन। काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक