विश्वकपमा देखिने छैनन् यी पाँच प्रभावशाली खेलाडी

Posted on: 03 Oct, 2023

असोज १६, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि भारतमा सुरु हुँदैछ । विश्वकप खेल्न सहभागी १० वटै राष्ट्रका खेलाडी भारत पुगिसकेका छन् । अहिले सहभागी टोलीले अभ्यास खेलमा व्यस्त छन् ।

यसपटक विश्वकपमा विभिन्न राष्ट्रका केही प्रभावशाली खेलाडी भने अनुपस्थित रहने छन् । कोही स्वास्थ्य समस्याका कारण र कोही अन्य कारणले विश्वकपबाट बाहिरिएका हुन् । यसपटक विश्वकपमा अनुपस्थित रहने पाँच खेलाडीको विषयमा यहाँ चर्चा गरिएको छ । 


तामिम इक्बाल (बङ्गलादेश) 

बङ्गलादेशी टोलीका निकै अनुभवी खेलाडी हुन्, तामिम इक्बाल । उनी आक्रामक शैलीका ब्याट्सम्यान हुन् । खासगरी एकदिवसीय ढाँचाको प्रतियोगितामा उनको प्रदर्शन उच्चस्तरको देखिन्छ । यसपटक एकदिवसीय विश्वकपमा उनलाई टोलीमा समेटिएको छैन । 

स्वास्थ्य समस्याका कारण उनलाई टोलीमा समावेश नगरिएको हो । यद्यपि, उनले अन्तिम समयसम्म पनि आफू विश्वकप खेल्न तयार रहेको बताउँदै आएका थिए । विश्वकप टोलीमा समावेश नगरिएपछि उनी केही रुष्ट पनि देखिएका छन् । ३४ वर्षीय बायाँहाते ओपनर ब्याट्सम्यान विगत केही समयदेखि पिठ्यूँको समस्याबाट पीडित थिए । 

बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सोही कारणले उनलाई विश्वकप टोलीमा समावेश नगरिएको बताएको छ । ‘तामिम इक्बाल पिठ्यूँको चोटबाट अझै मुक्त भइसकेका छैनन् । उनी निको हुने क्रममा छन् । तर, ४६ दिनसम्म चल्ने विश्वकपमा उनलाई टोलीमा समावेश गरेर हामीले जोखिम मोल्न चाहेनौँ,’ विश्वकपका लागि टोली घोषणा गर्ने क्रममा बीसीबीले भनेको थियो । 

तामिम इक्बालले बंगलादेशका लागि दुई सय ४३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर कुल आठ हजार तीन सय ५७ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनले १४ शतक र ५६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर एक सय ५८ रन हो । यसै वर्षको प्रारम्भमा उनले सक्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका थिए । तर, एकदिवसीय विश्वकप नजिकै रहेकाले उनले आफ्नो सन्न्यास फिर्ता लिएका थिए । उनी बङ्गलादेशी टोलीका पूर्वकप्तान पनि हुन् ।

नसिम शाह (पाकिस्तान)

पाकिस्तानी टोलीका प्रभावशाली बलर हुन्, नसिम शाह । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करणमा उनलाई पाकिस्तानी टोलीको प्रमुख बलरका रुपमा हेरिएको थियो । पाकिस्तानले पनि दायाँहाते तीव्र गतिका यी बलरबाट निकै आशा गरेको थियो । 

अर्का तिब्रगतिका बलर साहिन शाह अफ्रिदीसँग मिलेर नसिम शाहले विश्वकपमा पाकिस्तानी टोलीको बलिङ आक्रमण समाल्ने अनुमान गरिएको थियो । तर, विश्वकपको संघारमै आएर घाइते भएपछि उनी पाकिस्तानी टोलीमा अटाउन सकेनन् । 

२० वर्षीय नसिम शाहले पाकिस्तानका लागि हालसम्म १४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् । एकदिवसीय प्रतियोगितामा उनले ३२ विकेट लिइसकेका छन् । एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन ३३ रन दिएर पाँच विकेट हो । एकदिवसीय क्रिकेटमा उनको इकोनोमी रेट ४.६८ मात्र रहेको छ । 

उनले पाकिस्तानका लागि १७ वटा टेस्ट पनि खेलेका छन् । टेस्ट क्रिकेटको २८ पालीमा उनले ५१ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ३१ रन खर्चिएर पाँच विकेट हो । यसका अतिरिक्त उनले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि १९ खेल खेलेर १५ विकेट लिएका छन् । 

विश्वकप सुरु हुनुभन्दा केही समयअघि उनी घाइते भएका थिए । पाकिस्तान र श्रीलङ्कामा आयोजित एसिया कप क्रिकेटका क्रममा उनी गम्भीर घाइते भएका थिए । उनको काँधमा चोट लागेको थियो । त्यसैले भारतमा आयोजना हुने विश्वकपका लागि घोषित पाकिस्तानी टोलीमा उनी अटाउन सकेनन् । पाकिस्तानी छनोट समितिका अनुसार, चिकित्सकहरूले उनलाई तीनदेखि चार महिना मैदानबाहिर रहन सुझाव दिएका छन् । 

जेसन रोय (इङ्ल्यान्ड) 

इङ्ल्यान्डका चर्चित ब्याट्सम्यान हुन्, जेसन रोय । यी आक्रामक ब्याट्सम्यानले इङ्ल्यान्डलाई सन् २०१९ मा घरेलु मैदानमा आयोजना भएको एकदिवसीय विश्वकपको उपाधि दिलाउन पनि महत्त्वपूर्ण योगदान गरेका थिए ।

३३ वर्षीय जासन रोय ओपनर ब्याट्सम्यानको भूमिकामा देखा पर्छन् । त्यसैले टोलीलाई उत्कृष्ट सुरुआत दिलाउने जिम्मेवारी उनकै काँधमा आउँछ । उनी १३औँ विश्वकपका लागि घोषित इङ्ल्यान्डको प्रारम्भिक टोलीमा पनि परेका थिए । 

तर, एकदिवसीय विश्वकपका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा हुँदा उनी त्यसमा अटाउन सकेनन् । यी दायाँहाते ब्याट्सम्यानले इङ्ल्यान्डका लागि एक सय १६ वटा एकदिवसीय प्रतियोगिता खेलिसकेका छन् । त्यसमा उनले ३९.९१ को औसतले कुल चार हजार दुई सय ७१ रन बनाएका छन् ।

एकदिवसीय प्रतियोगिताको एउटै खेलमा उनको उत्कृष्ट स्कोर एक सय ८० रन हो । एकदिवसीय खेलमा उनले १२ शतक र २१ वटा अर्धशतक प्रहार गरेका छन् । यसका अतिरिक्त उनले देशका लागि पाँच टेस्ट र ६४ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । 

घाइते समस्याकै कारण उनलाई विश्वकप टोलीमा समावेश नगरिएको इङ्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । उनी पछिल्लो केही समयदेखि पिठ्यूँको समस्याबाट पीडित थिए । विश्वकपअघि खेलिएको न्युजिल्यान्डविरुद्घको एकदिवसीय शृङ्खलाका क्रममा उनी घाइते भएका थिए । 

विश्वकपअघि उनी स्वस्थ भइसक्ने अनुमान गरिएको थियो । त्यसैले उनलाई प्रारम्भिक टोलीमा पनि समावेश गरिएको थियो । तर, पूणर्रुपमा स्वस्थ्य नभएपछि उनलाई अन्तिम टोलीबाट हटाइएको थियो । इङ्ल्यान्डका कप्तान जस बट्लरले पनि जेसन रोय टोलीबाट बाहिरिनु टोलीका लागि घाटा भएको प्रतिक्रिया दिएका छन् । 

वानिन्दु हसारङ्गा (श्रीलंका) 

श्रीलंकाली टोलीका अलराउन्डर खेलाडी हुन्, वानिन्दु हसारङ्गा । पछिल्लो वर्षयता उनी श्रीलंकाली क्रिकेटमा निकै आशा गरिएका खेलाडी पनि हुन् । टोलीको विभिन्न सफलतामा उनको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । 

दायाँहाते लेग—स्पिनर वानिन्दु हसारङ्गाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीनपटक पाँच वा त्योभन्दा बढी विकेट लिइसकेका छन् । २६ वर्षीय वानिन्दु हसारङ्गाले देशका लागि हालसम्म ४८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर कुल आठ सय ३२ रन बनाएका छन् ।

एकदिवसीय क्रिकेटमा उनले चारवटा अर्धसतक पनि हिर्काएका छन् । एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन अविजित ८० रन हो । एकदिवसीय खेलमा उनले ६७ वटा विकेट लिइसकेका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन २४ रन दिएर ६ विकेट हो । 

यसैगरी उनले श्रीलंकाका लागि चार टेस्ट र ५८ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । उनले टेस्ट क्रिकेटमा चार र टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९१ विकेट लिएका छन् । तर, घाइते समस्याका कारण उनी श्रीलंकाको विश्वकप टोलीमा पर्न सकेनन् । 

पाकिस्तान र श्रीलङ्कामा संयुक्त रुपमा आयोजित एसियाकप क्रिकेट खेल्नेक्रममा वानिन्दु हसारङ्गा घाइते भएका थिए । श्रीलंकाले विश्वकपअघि नै उनी स्वस्थ्य भइसक्ने विश्वास लिएको थियो । तर, विश्वकपअघि उनी पूणर्रुपमा स्वस्थ्य हुन सकेनन् । 

माइकल ब्रेसवेल (न्युजिल्यान्ड)

माइकल ब्रेसवेल न्युजिल्यान्डका क्षमतावान खेलाडी हुन् । उनी टोलीका प्रभावशाली अलराउन्डर हुन् । ३२ वर्षीय ब्रेसवेलले पछिल्लो समय न्युजिल्यान्डको थुप्रै सफलतामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । 

उनी सन् २०२२ मा न्युजिल्यान्डको क्रिकेटमा ‘एकदिवसीय वर्ष खेलाडी’ पनि घोषित भएका थिए । उनले न्युजिल्यान्डका लागि तीनवटै ढाँचाको प्रतियोगिता खेलेका छन् । उनले देशका लागि १९ वटा एकदिवसीय प्रतियोगिता खेल्दै ४२.५० को औसतले कुल पाँच सय १० रन बनाएका छन् । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय ४० रन हो । उनले एकदिवसीय क्रिकेटमा १५ विकेट पनि लिएका छन् । यसका अतिरिक्त उनले देशका लागि आठ टेस्ट र १६ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । 

माइकल ब्रेसवेलले टेस्टमा २४ र टी—२० अन्तर्राष्ट्रियमा २१ विकेट लिएका छन् । तर, उनी घाइते समस्याका कारण न्युजिल्यान्डको विश्वकप टोलीमा पर्न सकेनन् । उनी विगत केही समयदेखि कुर्कुच्चाको चोटबाट पीडित भएका छन् । गत जुनमा इङ्ल्यान्डमा काउन्टी प्रतियोगिता खेल्नेक्रममा उनको कुर्कुच्चामा चोट लागेको थियो । ब्रेसवेलको अनुपस्थिति विश्वकपमा न्युजिल्यान्डका लागि ठूलो चिन्ताको विषय बनेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!