माघ ४, काठमाडौं | प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको छ।
जितका लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मी क्लबले ९.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो। आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको योगदान दिए । उनले २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रन बनाएका हुन् । ओपनर इमरान शेख २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाए । कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे । कोशीका लागि बलर सुजन थपलियाले एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले २४.४ ओभरमा ८८ रन बनाउँदै अलआउट भएको थियो |
१२.२ ओभरमा ७० रनमा ३ विकेट गुमाएको कोशीको ब्याटिङ बाँकी १८ रन जोड्दा थप ७ विकेट गुमाएको थियो । कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए । उनले ३७ बलमा ९ चौका प्रहार गरेका हुन् ।
आर्मी क्लबका लागि बलर साहब आलम एक्लैले ६ विकेट लिएका थिए | त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले एक एक विकेट लिएका थिए ।