काठमाडौँ | नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय युवा कमिटीको दोस्रो राष्ट्रिय युवा महिला भेलाको उद्घाटन गर्दै आज उहाँले भन्नुभयो, “पार्टीका हरेक कमिटीमा युवाहरू ३३ प्रतिशत पु¥याउने गरी पार्टीले काम गरिरहेको छ, तीनपुस्ताको संयोजन गरेर पार्टीलाई अगाडि बढाउनुपर्छ भनेर हामी लागिरहेका छौँ ।”
महासचिव पोखरेलले अहिले पार्टीमा युवाको राम्रो उपस्थिति रहेको पनि उल्लेख गर्नुभयो । उहाँले पार्टीका हरेक गतिविधिमा युवालाई प्रतिपस्र्धी बनाएर अब्बल बनाउने र महिला सशक्तीकरण तथा सहभागिता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अनेमसङ्घले युवा महिला सशक्तीकरण र सहभागिता वृद्धि गर्ने उद्देश्यले आज राष्ट्रिय युवा महिला भेला आयोजना गरेको हो । ‘समुद्ध नेपालः सुखी नेपाली’ को सङ्कल्प पूरा गर्दै समान सहभागिताका लागि सुदृढ सङ्गठन बनाउने सोचका साथ भेला आयोजना गरेको अनेम सङ्घका अध्यक्ष टुकाभद्र हमालले जानकारी दिनुभयो । युवा कमिटीका संयोजक विन्दु अधिकारीले युवा उमेर व्यक्तित्व निर्माणदेखि राष्ट्र निर्माणमा महत्त्वपूर्ण भएकाले उत्पादन, उद्यमशीलता र रोजगारीमा लगाउनुपर्ने बताउनुभयो ।
भेलामा उत्पादन, उद्यमशीलता, रोजगारीमा युवा महिलाहरूको अवस्था र सम्भावना, युवा महिलाको नेतृत्व, सशक्तीकरणका अभ्यास र भावी रणनीति, प्रगतिशील संस्कृति, सामाजिक रूपान्तरण र युवा महिला, राजनीतिक दल तथा अन्य सङ्गठनमा युवा महिला नेतृत्व र लैङ्गिक समानताका सवालमा छलफल भइरहेको छ । सम्मेलनमा प्रदेश र जिल्ला कमिटीबाट करिब पाँच सय युवा महिलाको सहभागिता रहेको छ । अनेमसङ्घले सातौँ राष्ट्रिय सम्मेलनमार्फत नेतृत्वमा युवाको सहभागिता बढाउने उद्देश्यले कमिटीमा युवा महिलाका लागि ३० प्रतिशत स्थान सुरक्षित गर्ने नीति पारित गरेको छ । सम्मेलनपश्चात् अनेमसङ्घ केन्द्रीय युवा कमिटी गठन गरी प्रदेश, जिल्ला तथा पालिका तहमा समेत युवा कमिटी निमाण गर्ने जनाइएको छ ।