2026-09-03 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

१० महिने बालिकाको पेटमा उनकै ‘जुम्ल्याहा बहिनीको भ्रूण’

एजेन्सी | शाजिया नामक बालिकाको पेटबाट उनकै जुम्ल्याहा बहिनीको भ्रूण निकालिएको छ।

दशमहिने शाजियाको पेटमा सिस्ट (मासुको डल्लो) रहेको आशङ्कामा डा मुश्ताक अहमदले उनको शल्यक्रिया गरे। तर ती शिशुको पेटमा अर्थविकसित दुइटा खुट्टा देख्दा उनी अचम्मित भए।

“दुखाइका कारण महिनौँदेखि रोइरहेकी ती बालिकाको पेटमा सिस्ट भेटिने वा पेटमा असामान्य वृद्धि भएको पत्ता लाग्ने ठानिएको थियो। तर हामीले ती बालिकाको पेट खोलेपछि मैले खुट्टाका औँलाहरू र मेरुदण्ड देखेँ। केही बेर त म बोल्न पनि सकिनँ।”

बालशल्यचिकित्सकको रूपमा विगत १५ वर्षदेखि काम गरिरहेका मुश्ताकले यस्तो घटना यसअघि कहिल्यै नदेखेको बताए। आफ्नो टोलीले पत्ता लगाएको कुरा सुनाउँदै उनले ती बालिकाको पेटमा उनकै नजन्मिएको जुम्ल्याहाको भ्रूण रहेको बताए। उक्त भ्रूण विकास रोकिनुअघि सम्भवतः आठदेखि नौ साताको रहेको हुनसक्ने उनी बताउँछन्।

“चारवटै हात गोडाको विकास सुरु भएको स्पष्ट देखिन्थ्यो भने खुट्टाका औँलाहरू राम्ररी चिन्न सकिन्थ्यो। हामीले आँखाजस्ता अङ्ग पनि देख्यौँ,” उनले भने।

ती बालिकाको पेटबाट उक्त भ्रूण निकाल्नका लागि पाकिस्तानको दक्षिणी पन्जाब क्षेत्रमा अवस्थित रहिम यार खानको शेख जायद शिक्षण अस्पतालमा शल्यक्रिया गरिएको थियो।

 चिकित्सकहरू शाजियाको अल्ट्रासाउन्ड गर्दा उनको शरीरमा सिस्ट रहेकोमा ढुक्क थिए। तर शल्यक्रिया गर्दा मात्र उनको पेटमा भ्रूण रहेको पत्ता लाग्यो।

कसरी पत्ता लाग्यो?

शाजिया जन्मिएको एक महिनापछि उनको पेट सुन्निन थालेको थियो। उनका आमाबुवाका अनुसार उनी दुखाइका कारण धेरै समयसम्म रोइरहन्थिन्।

“हामीलाई समस्या के हो भन्ने नै थाहा थिएन। तर उनको पेट छाम्दाखेरि निकै साह्रो थियो,” शाजियाका बुवा मोहम्मद आसिफ भन्छन्। गाईबस्तुको हेरचाह गर्ने आसिफ र उनकी पत्नीका अरू दुई सन्तान पनि छन्। उनीहरूले शाजियालाई आफ्नो गाउँ सादिकाबादका कैयौँ डाक्टरकहाँ लगे।

तर चिकित्सकीय केन्द्रको अभाव र वास्तविक समस्याको दुर्लभताका कारण उनको रोग पत्ता लागेन।

तर शाजियाको अवस्था असह्य भएपछि उनीहरूले अगस्ट २५ मा त्यहाँबाट ३० किलोमिटरको टाढा रहेको राम्रो सुविधायुक्त अस्पताल जाने निर्णय गरे।

शेख जायद शिक्षण अस्पताल पुगेर केही घण्टा पर्खिएपछि उनीहरूको भेट डा मुश्ताकसँग भयो।

“ती बालिकाको परीक्षण गर्दै जाँदा मलाई एक प्रकारको ट्यूमर भए जस्तो लाग्यो। मैले अल्ट्रासाउन्ड गरेँ र उनको पेटमा एक प्रकारको सिस्ट भएको पत्ता लगाएँ। त्यो अरू केही हुनसक्छ भन्ने मेरो मस्तिष्कले सोच्नै सकेन,” उनले भने।

एमआरआई स्क्यानले उनको पेटमा के छ भन्ने स्पष्ट पारिदिन सक्थ्यो। तर बालिकाका अभिभावकले त्यसका लागि लाग्ने खर्च धान्न सक्ने अवस्था थिएन। मुश्ताकले शल्यक्रिया गरेर सिस्ट निकाल्ने सबैभन्दा उत्तम विकल्प भएको परामर्श दिए।

“त्यो कुराले उनीहरूलाई डर लागेको थियो। यति सानो बच्चीको किन शल्यक्रिया गर्नुपर्‍यो भन्ने कुरा उनीहरूले बुझेका थिएनन् र उनीहरू आत्तिए,” उनले भने।

शाजियाका आमाबुवाले उनको शल्यक्रिया नगरी घर लैजाने निर्णय गरे।

तर उनीहरू घर फर्किएको केही दिनमै फेरि अस्पताल फर्किए। उनीहरू पीडाले छटपटाइरहेकी छोरीको उपचार गर्न जे पनि गर्न तयार थिए।

“उनीहरूको परिवार निकै विपन्न थियो । त्यसैले हामीले उनीहरूलाई शल्यक्रियामा सहयोग गर्न ठूलो छुट दिने निर्णय गर्‍यौँ,” मुश्ताकले भने।

गत अगस्ट २९ मा शाजियाको शल्यक्रिया गर्ने क्रममा चिकित्सकहरूको टोलीले जे पत्ता लगायो त्यसबाट उनीहरू स्तब्ध भए। शाजियाको ‘अजन्मा जुम्ल्याहा’ निकाल्न उनीहरूले लामो शल्यक्रिया गरे।

“कुपोषित बालिकाको शरीरभित्र उनकै जुम्ल्याहा भ्रूण देख्दा हामी आश्चार्यचकित भयौँ,” उनले भने।

उक्त भ्रूण शाजियाको शरीरमा परजीवी बनेर बसेको थियो। उनको एउटा सानो आन्द्रामा जोडिएर त्यसले पोषक तत्त्व र रगत लिइरहेको थियो। त्यसैले ती बालिकालाई आवश्यक पोषणको कमी भएको थियो।

डा मुश्ताकका अनुसार शाजिया शल्यक्रियापछि छिट्टै निको भइन् र बलियी पनि हुँदै छिन्।

“उनले रुन पनि छोडेकी छन् र हामीले उनको अवस्था शल्यक्रियापछि सुधार भएको पाएका छौँ,” मुश्ताक भन्छन्।

शाजिया शल्यक्रियाको चार दिनपछि सेप्टेम्बर ४ मा अस्पतालबाट घर फर्किएकी छन्।

बालरोग विशेषज्ञहरूको टोलीले उनको अवस्थाबारे आगामी साताहरूमा पनि बुझिराख्ने र थाहा भएका कुराहरू विज्ञानसम्बन्धी जर्नलमा पठाउने योजना बनाएको छ।

‘गर्भवती भएको’ अफवाह

यो निकै दुर्लभ घटना भएका कारण शाजियाको अवस्थाबारे धेरै सञ्चारमाध्यमहरूले चासो राखे।

विचलित बनाउने प्रश्नहरूबाट वाक्क भएर उनका बुवाले आफ्नो मोबाइल फोन नै अफ गरेर राखे।

“पत्रपत्रिका र टेलिभिजन च्यानलहरूले फोन गरेर बालिका गर्भवती भएको मामिला आएको हो भनेर सोध्न थाले। उनीहरूका प्रश्नहरू त झनै डरलाग्दा थिए,” उनले भने।

अस्पतालका अनुसार स्थानीय पत्रकारहरूलाई यसबारे स्पष्टीकरण दिइएको थियो। अस्पतालले बालिकामा ‘गर्भवती भएको’ भन्ने जस्ता गलत विवरणका कारण चिन्तामा रहेका शाजियाका आमाबुवालाई परामर्श पनि दिएको थियो।

पाकिस्तान इन्स्टिट्यूट अफ मेडिकल साइन्सेसका बालचिकित्सा शल्यक्रिया विभागका प्रमुख डा नदीम अख्तर ‘भ्रूणभित्र भ्रूण’ रहेको कुरा गर्भ बस्ने कुरासँग सम्बन्धित नरहेको बताउँछन्।

“धेरै पत्रकारहरूले यो समाचारलाई गर्भ रहेको कुरासँग जोडेर अतिरञ्जित बनाएर लेखे किनभने उनीहरूले यथार्थ बुझेका थिएनन्। त्यसैले बालिकाको परिवार दुःखी भयो,” प्राध्यापक अख्तर भन्छन्।

“यो भ्रूणजस्तो मांसपिण्ड गर्भावस्थामा वा ट्यूमरजस्तो खासै बढ्ने र शरीरमा फैलिने किसिमको हुँदैन। साधरणतया यो जहाँ बन्यो त्यहीँ रहन्छ र अधिकांश अवस्थामा पेटको तल्लो भागमा रहन्छ।”

के हो ‘फीटस इन फीटू’?

चिकित्सा विज्ञानमा यो दुर्लभ अवस्थालाई ‘फीटस इन फीटू’ अर्थात् ‘भ्रूणभित्र भ्रूण’ भनिन्छ। त्यो भनेको राम्रोसँग विकास हुन नसकेको जुम्ल्याहा भ्रूण अर्को बच्चाको शरीरभित्र रहने अवस्था हो।

यो के कारणले हुन्छ भन्ने स्पष्ट छैन। तर यस्तो अवस्था भ्रूण विकास हुने प्रारम्भिक चरणमै हुन्छ र एउटा भ्रूणभित्र अर्को भ्रूण रहन्छ।

तर भित्रपट्टि रहेको जुम्ल्याहा भ्रूणले पूर्ण रूपमा विकसित हुन पाउँदैन। त्यो परजीवीजस्तै बन्छ। किनभने त्यो भ्रूण जीवित रहनका लागि त्यसले आफ्नै जुम्ल्याहामा भर पर्नुपर्छ। ती जुम्ल्याहाको प्रायः गर्भमै मृत्यु हुन्छ।

अमेरिकन अक्याडमी अफ पेडिआट्रिक्सले सन् २००० मा प्रकाशित गरेको एउटा प्रतिवेदनका अनुसार अनुमानित ५,००,००० बच्चा जन्मिँदा एक जनामा यस्तो अस्वाभाविक अवस्था देखिन सक्छ।

विश्वभरिमा जा‍नकारीमा आएका यस्ता अस्वाभाविक घटनाको सङ्ख्या २०० भन्दा कम छ।

‘भ्रूणभित्र भ्रूण’का अन्य घटनाहरू

यसअघिको भारतका एक ३६ वर्षे पुरुषको शरीरमा पनि अविकसित भ्रूण भेटिँदा निकै चर्चा भएको थियो।

उनलाई ट्यूमर भएको आशङ्का गरिएको थियो। उनको शरीरमा रहेको मांसपिण्ड यति ठूलो भएको थियो कि उनलाई सास फेर्न पनि कठिन भएको थियो।

पेट दुख्ने समस्याले धेरै सताएपछि चिकित्सकहरूले उनको शल्यक्रिया गरेका थिए।

चिकित्सकहरूले एउटा ठूलो ट्यूमर रहेको आशङ्कामा शल्यक्रिया गर्दा उनको शरीरमा उनकै जुम्ल्याहा भाइको अर्धविकसित शरीर रहेको भेटिएको थियो।

उनको शरीरभित्र रहेको उक्त भ्रूण परजीवीजस्तो बनेर लामो समय बाँचेको थियो।

नाभीजस्तो संरचनाबाट उक्त भ्रूणले ती व्यक्तिको शरीरबाट आवश्यक रगत पाएको थियो।

गाउँमा वा सीमित स्वास्थ्यसुविधा भएका ठाउँहरूमा बस्ने मानिसहरूलाई आफ्नो शरीरभित्र भ्रूण रहेको थाहा नहुन सक्ने अवस्था पनि हुने चिकित्सकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही