असोज १६ , काठमाडौँ । शरीरलाई पूर्ण रुपमा स्वस्थ राख्नमा सन्तुलित खानपानको महत्वपूर्ण भूमिका हुन्छ । यद्यपि, उमेर बढेसँगै शरीरको आवश्यकता पनि बढ्छ । पोषणविद्का अनुसार महिलाले ३० वर्षको उमेर पार गरेपछि केही विशेष सप्लिमेन्ट्स लिन आवश्यक हुन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

फोलिक एसिड

कोशिकाको विकासका लागि फोलिक एसिड निकै आवश्यक छ । यदि तपाईं ३० वर्ष पुगिसक्नुभयो र गर्भवती हुने योजना गरिरहनुभएको छ भने आफ्नो खानामा बी भिटामिन फोलेटको मात्रा बढाउनुहोस् । यो सप्लिमेन्ट कुनै पनि मेडिकलमा किन्न पाइन्छ ।

आइरन

३० वर्षपछि एउटा अत्यावश्यक तत्व मिनरल्स आइरन पनि हो । महिलामा आइरनको कमी हुने खतरा बढी छ । यसको कमीले जतिबेला पनि थकाई लागिरहन्छ । यसबाहेक आइरनको कमीले संक्रमण्को सम्भावना पनि बढ्ने गर्छ ।

भिटामिन डी

भिटामिन डीले अतिरिक्त क्याल्सियमलाई अवशोषित गर्न मद्दत गर्छ । यसले मुटुरोगबाट जोगाउने काम गर्छ र तौल घटाउन मद्दत गर्छ । ३० वर्षपछि तपाईं भिटामिन डीको सप्लिमेन्ट लिन सक्नुहुन्छ ।

म्याग्नेसियम

शरीरका लागि म्याग्नेसियम निकै आवश्यक छ किनभने यसले शरीरमा प्रोटिन र हड्डी बनाउन मद्दत गर्छ । यसले ब्लड सुगरलाई पनि स्थिर राख्छ । म्याग्नेसियमको कमी हुने महिलालाई मांसपेशिमा ऐठन, थकान, चिडचिडापन, उच्च रक्तचाप, मुटुको अनियमित धड्कन, रिँगटा लाग्ने वा मांसपेशीमा कमजोरीको अनुभव हुन्छ ।

प्रोबायोटिक्स

प्रोबायोटिक्स गुड ब्याक्टेरिया हो जुन आन्द्राका लागि राम्रो हुन्छ । यो सप्लिमेन्टले झाडा र आइबीएसजस्ता पाचन सम्बन्धि समस्यालाई हटाउन मद्दत गर्छ । प्रोबायोटिक्सले एलर्जीबाट पनि जोगाउँछ । यद्यपि, कुनै प्रकारको सप्लिमेन्ट्स लिनुअघि आफ्ना डाक्टरलाई एकपटक पक्कै पनि सोध्नुहोस् । यी पोषक तत्वलाई आफ्नो खानामार्फत् बढी लिने कोसिस गर्नुहोस् ।

Related News