पढ्न करिब 2 मिनेट लाग्छ
<p>जेठ २७, स्याङ्जा । पर्वतीय पर्यटन प्रवद्र्धन गर्न भिरकोट नगरपालिका योजना निर्माणमा जुटेको छ । पर्यटनका माध्यमबाट नगरको विकासका साथै नगरवासीलाई रोजगारीसमेत दिने भन्दै नगरपालिका योजना निर्माणमा जुटेको हो । नगरपालिकाले नगरभित्र रहेका ऐतिहासिक एवं विभिन्न धार्मिक क्षेत्रहरुलाई समेटेर ती क्षेत्रको वृहत्तर पर्वतीय पर्यटन विकासको डिपिआर निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरप्रमुख छायाँराम खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी नगरभित्र सम्भावना भएका पर्यटकीय एवं धार्मिक क्षेत्रहरुको संरक्षण गर्दै यी क्षेत्रहरुको बृहत्तर विकासका लागि योजना बनाइरहेका छौँ, योजनालाई अन्तिम रूप दिइसकेपछि कामको शुरुआतमा लाग्ने छौँ ।”<br></p><p> प्याराग्लाइडिङका लागि निकै उपयुक्त ठाउँको रूपमा रहेको सो नगरपालिका–५ मा पर्ने स्वरेक मैदान स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको यस क्षेत्रसँगै अन्य ठाउँमा समेत भौतिक निर्माणका कामसमेत भइरहेका छन् । अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितासमेत सम्पन्न भइसकेको स्वरेक मैदान जाने सडकका साथै पर्यटकको बसाइका साथै आवश्यक पर्ने अन्य भौतिक निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ ।</p><p>गुरुयोजनाभित्र भिरकोट नगरपालिका–५, ८ र ९ को समिपमा रहेको चितपानी फलातेमा ताल निर्माणदेखि स्वरेक मैदानदेखि गडहरे गुफा र ओखतीपानी होमस्टेलाई साइकलमार्गले जोड्ने योजनासमेत रहेको छ । विष्णु भगवान्को मूर्ति निर्माण गर्नुका साथै स्वरेक मैदानमा रहेको सल्लाघारीमा मिनी चिडियाखानासमेतको निर्माण गरिने गुरुयोजनामा रहेको छ । वृहतर पर्वतीय पर्यटन विकास गुरुयोजनालाई अन्तिमरूप दिनुपूर्व त्यस ठाउँको स्थलगत अवलोकनसमेत गरिएको वडा नं ५ का वडाध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिनुभयो । रासस</p>

