२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

११ आश्विन २०७७, आईतवार ०९:१०

वासुदेव पौडेल/कृष्ण दवाडी । असोज ११, गण्डकी । मर्दी हिमाल पदयात्रा मार्गमा पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । कोरोनाका कारण झण्डै छ महिनादेखि सुनसान बनेको सो मार्गमा आन्तरिक पर्यटकको आगमन हुने क्रम बढ्दै गएको मर्दी हिमाल हाइक्याम्पस्थित होटल स्नोल्याण्ड एण्ड स्पाका सञ्चालक राजु पौडेलले जानकारी दिनुभयो । 

शिथिल बनेको पर्यटन क्षेत्रले आगामी दिनमा गति लिने विश्वास लिइएको छ । “विगतमा यस समयमा दैनिक १०० भन्दा बढी विदेशी एवं स्वदेशी पर्यटक हुन्थे”, उहाँले भन्नुभयो, “अहिले भने विदेशी पर्यटक आउने अवस्था छैन, हामीले आन्तरिक पर्यटनलाई नै विशेष जोड दिएका छौँ ।”

सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो ।  भौतिक पूर्वाधारमा लगानी गर्न गरेको आग्रहलाई दृष्टिगत गरेर उत्साहित बनेका यहाँका पर्यटन व्यवसायीले लगानी बढाइरहँदा कोरोनाले नराम्रोसँग प्रभावित पारेको उहाँको भनाइ छ । पर्यटन क्षेत्र खुलेसँगै पोखरामा पर्यटकीय गतिविधि पनि विस्तारै चलायमान बनेको छ । 

साहसिक पर्यटनका विविध गतिविधि हुने यहाँका व्यवसायीले प्याराग्लाइडिङ, बञ्जि जम्प, जीपलाइन आदि सञ्चालनलाई पनि अघि बढाइसकेका छन् । पोखराको आकाशमा हावामा कावा खाँदै भरपुर मनोरञ्जन लिइने प्याराग्लाइडिङ पुनः सञ्चालनमा आएको छ । लामो समयको बन्दाबन्दीका कारण गत चैत १० गतेदेखि बन्द प्याराग्लाइडिङ छ महिनापछि सञ्चालनमा आएको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । संस्थाले कम्पनी तथा पाइलट सेवा सञ्चालनका लागि तयारी अवस्थामा राखेको छ ।

अत्यावश्यकभन्दा पनि साहसिक मनोरञ्जनको माध्यम भएकाले प्याराग्लाइडिङ पूर्ववत अवस्थामा फर्किन स्वदेशी तथा विदेशी पर्यटक आउने वातावरण बन्नुपर्ने उहाँको भनाइ छ । प्याराग्लाइडिङ उडानमा आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने, तापक्रम लिने, मास्क तथा सेनिटाइजर प्रयोग गर्ने लगायतका आधारभूत स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न पाइलट तथा कम्पनीसँग छलफल गरिएको जनाइएको छ । 

पोखरा महानगरपालिका–१८ स्थित सराङकोटको डाँडाबाट उडान भरेर फेवाताल किनारमा अवतरण गरिने प्याराग्लाइडिङमा युवादेखि वयस्कसम्मको रुची रहने गरेको छ । पछिल्ला वर्षमा प्याराग्लाइडिङ मनोरञ्जनको साधनसँगै खेलकूद विधाको रुपमा स्थापित भएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङलाई समावेश गर्ने गरिएको छ । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा रहेका छन् भने ३५० हाराहारीमा नेपाली पाइलट छन् ।

पर्यटन क्षेत्र खुलेसँगै पोखराबाट पर्यटक बस सञ्चालन गरिरहेका व्यवसायीले पनि स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डका साथै आफ्नो सेवा सञ्चालनमा ल्याएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकलाई आवतजावत गराउने सुविधा सम्पन्न सवारी साधन थपिने क्रम पनि त्यही अनुरुप बढेको नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो ।

उहाँका अनुसार पोखराबाट हरियो नम्बर प्लेटमा चल्ने पर्यटक यातायातका सवारीसाधन रु ३५ लाखका कारदेखि सुविधा सम्पन्न रु डेढ दुई करोडसम्मका ल्यान्डक्रुजर, कोस्टर आदि छन् । भ्रमण वर्षलाई लक्षित गरी पछिल्लो समयमा मात्रै यहाँ झण्डै रु ५० करोड बराबरका पर्यटक सवारी साधन व्यवसायीले खरिद गरेको उहाँको भनाइ छ ।

नेपाल पर्यटन यातायात व्यवसायी सङ्घसँग हाल विभिन्न क्षमताका ४०० पर्यटक सवारी साधन आबद्ध छन् । बन्दाबन्दी शुरु भएयता थन्किएर बस्नुपर्दा दैनिक न्यूनतम रु दुई लाख घाटा ब्यहोर्नुपरेको सङ्घले जनाएको छ । व्यवसायीले पर्यटकलाई सुरक्षित महसुस गराउने गरी यातायात सञ्चालनको तयारी गरिरहेको पोखराबाट पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रालिका अध्यक्ष सोमबहादुर थापाले बताउनुभयो ।

पर्यटकलाई जुनसुकै गन्तव्यमा पुग्नका लागि पनि आफू सुरक्षित भएर यात्रा गर्दैछु भन्ने अनुभूति गराउने गरी पर्यटन बस सञ्चालनमा ल्याइएको उहाँले जानकारी गराउनुभयो । पर्यटक सवारी साधनलाई विश्व स्वास्थ्य सङ्गठन एवं नेपाल सरकारको सुरक्षा मापदण्डअनुसार स्यानेटाइजर गर्ने र सवारी चालक एवं सहयोगी कर्मचारीलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गराउन तालीम दिइएको उहाँले बताउनुभयो ।

पोखरामा होटेल सञ्चालन गर्दै आएका व्यवसायीले पनि सुरक्षा मापदण्डका साथ होटेल सञ्चालनमा ल्याउन थालेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । संघले सुरक्षा कार्यविधि, डिजिटल मार्केटिङ, होटेल सञ्चालनलगायतका विषयमा तालीम दिएको उहाँले बताउनुभयो । 

पछिल्ला वर्षमा पोखराका होटलमा बढ्दो लगानीसँगै पर्यटक लक्षित सुविधा सम्पन्न होटल ६०० को सङ्ख्यामा रहेका छन् । पोखराका पृथ्वीचोक, महेन्द्र पुललगायतका क्षेत्रमा थप अरु २०० को सङ्ख्यामा छन् । उहाँका अनुसार नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै पर्यटन क्षेत्रमा लगानी गर्न गरेको आग्रहसमेतका कारण पोखराका होटलमा पूर्वाधार थप गर्न पछिल्लो समयमा मात्रै झण्डै रु १५ अर्ब थप लगानी गरिएको छ ।

यहाँका होटल बस्नका लागि पूर्णतः सुरक्षित छन् भन्ने अनुभूति हुनेगरी कर्मचारीलाई होटलको स्यानिटाइज गर्ने, आउने पर्यटकसँग गरिने व्यवहार, स्वास्थ्य सजगतालगायतका विषयमा तालिम दिइएको छ । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई होटलमा पूर्णतः कार्यान्वयनमा ल्याउँदै पोखरा भित्रने पर्यटकलाई यहाँ बस्न खान सुरक्षित छ भन्ने सन्देश राष्ट्रिय एवं अन्तरराष्ट्रियरुपमा दिने कुरामा आफूहरू प्रतिबद्ध भएको पर्यटन व्यवसायीले बताएका छन् ।

माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमश्रृङ्खलाको दृश्यावलोकनसँगै साहसिक पर्यटनमा रुची राख्ने पर्यटकको रोजाइमा पोखरा पर्ने गरेको छ । नयाँ वर्ष, चाडपर्व तथा लामो समयका बिदाका समयमा देशका विभिन्न भागबाट आन्तरिक पर्यटक दुई÷चार दिन पोखरा बिताउन आउनेक्रम पछिल्ला वर्षमा बढेको पाइन्छ । पोखरालाई मुख्य आधार बनाएर गरिने अन्नपूर्ण चक्रीय पदमार्ग, मर्दी हिमाल, पुनः हिल आदि स्थानमा पदयात्रामा जाने पर्यटकले आउँदा जाँदा यहाँ केही दिन बिताउने गर्दछन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य