२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

आन्तरिक पर्यटकको आकर्षण बन्दै बगलेक

६ भाद्र २०७८, आईतवार ११:२९

विमलबहादुर विष्ट । भदौ ६, डोटी (रासस)। सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ ।  

जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ स्थित बगलेक क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँ दैनिक १०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको उक्त क्षेत्रमा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन् । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । 

अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस क्षेत्रमा पुगेको बताएका छन् । आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि यहाँ व्यापार व्यवसाय पनि फस्टाउँदै गएको स्थानीयवासी सुनिल विकले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले हाम्रा गाउँमा फलेका साग तरकारी र फलफूल किन्ने मान्छे नहुँदा बारीमै कुहिने गरेका थिए, अहिले बगलेकमा आन्तरिक पर्यटक आउन थालेपछि बिक्री हुन थालेको छ, यसबाट राम्रै आम्दानी हुने गरेको छ ।” 


पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बगलेकसम्म सडक कालोपत्र भएका कारण यात्रामा सहज हुने भएकाले पनि पर्यटक भित्रिन थालेको बताइएको छ । आन्तरिक पर्यटक धमाधम भित्रिन थालेपछि अहिले बगलेकमा होटेल तथा पसल पनि खुल्न थालेका छन् । यहाँका व्यापारीलाई दैनिक स्थानीय खाद्य परिकार तथा सामग्री बिक्री गर्न भ्याइनभ्याइ भएको बगलेकमा होटेल सञ्चालन गरेकी कलाकुमारी साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँको लोकल खानेकुराको अडर गर्ने धेरै आउँछन, हामीलाई स्थानीय परिकार पकाउन र बिक्री गर्न भ्याइनभ्याइ छ ।” 

पर्यटकलाई घुम्नका लागि सो क्षेत्रमा घोडाको पनि व्यवस्था छ । घोडा सफारी गर्ने भएकाले पनि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको बताइएको छ । यहाँ घुम्न आउने पर्यटकका लागि स्थानीयवासीले तीन वटा घोडाको व्यवस्था गरी घोड्चडी गराउने गरेको घोडा सञ्चालक विक्रम कामीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पहिले हामीले घोडामा सरसामान बोक्ने गरेका थियौँ, अहिले पर्यटकको मागबमोजिम घोडचडीको पनि व्यवस्था गरेका छौँ, उक्त व्यवसाय राम्रै चलेको छ ।” यस व्यवसायबाट दैनिक रु दुइदेखि तीन हजारसम्म कमाउने गरेको उहाँको भनाइ छ । 

एक पटकमा एउटा पर्यटकले घोडचडी गरेबापत रु १०० लिने गरेको र घोडा चढेर मात्रै फोटो लिएबापत रु ५० लिने गरेको घोडा सञ्चालक बताउँछन् । घोडा चढ्नकै लागि भए पनि आन्तरिक पर्यटक बढी भित्रिन थालेकाले अरु घोडा थप्ने योजना बनाइएको अर्का घोडा सञ्चालक रमेश विकले बताउनुभयो । उहाँले भन्नुभयो, “बगलेक घुम्न आउने अधिकांशको पहिलो रोजाइ घोडा भएकाले हामीसँग भएका तीन घोडाले नधानेका कारण थप घोडा ल्याउने योजना बनाएका छौँ, निकट भविष्यमै थप घोडाको व्यवस्था गरिने छ ।” घोडामा चढ्न रमाउनेमा पुरुषभन्दा महिला पर्यटकको सङ्ख्या बढी भएको स्थानीयवासी बताउँछन् ।

बगलेकमा दिनभरि रमाउने र पिकनिक गर्ने ठाउँ भएका कारण पनि त्यहाँ आन्तरिक पर्यटक जान बढी रुचाउने गरेको यहाँ घुम्न आउनुभएकी बोगटान फुड्सिल गाउँपालिकाकी मानवी बमले बताउनुभयो । उहाँले भन्नुभयो, “अग्लो डाँडामा भएकाले यो ठाउँ निकै रमणीय छ, हामी पनि गु्रप बनाएर गयौँ, निकै आनन्द भयो, यहाँ दिइने घोडचडी सेवाले झनै आनन्द आयो ।” यस क्षेत्रलाई ‘मिनी खप्तड’ पनि भन्ने गरिन्छ । खप्तडकै जस्ता फाँट भएका कारण बगलेक क्षेत्रलाई ‘मिनी खप्तड’ भनिने गरेको र तीनै फाँटको अवलोकन गर्नका लागि भए पनि आन्तरिक पर्यटक आउने गरेको पूर्वीचौकी गाउँपालिका–२ कुडासैनका भीमबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बगलेकबाट चारैतिरको मनोरम दृष्य अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा परेको हो ।” पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै यहाँ केही भौतिक संरचनादेखि अन्य सेवा सुबिधा थप गर्नुपर्ने आवश्यकता रहेको उहाँको बताउनुभयो । 

बगलेकको उच्च डाँडाबाट छिमेकी मुलुक भारतको टनकपुर तथा सुर्खेत जिल्लाका विभिन्न ठाउँ पनि अवलोकन गर्न सकिने भएकाले निकै रमणीय तथा आनन्ददायी हुने गरेको स्थानीयवासी तथा सञ्चारकर्मी नारद नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “बगलेक भौगोलिक हिसाबले निकै रमणीय ठाउँ छ, त्यहाँबाट कर्णाली प्रदेशको सुर्खेतदेखि भारतका विभिन्न शहरका दृष्य सहजै अवलोकन गर्न सकिने भएकाले एक पटक आएको मानिस अर्को पटक पनि आउने गर्छन् ।” 

जिल्ला सदरमुकाम सिलगढीबाट २० मिनेटको गाडी यात्रामा पुगिने भएकाले पनि त्यहाँ दैनिकजसो आन्तरिक पर्यटक जाने गरेको शैलेश्वरी यातायात प्रालीका प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “बगलेकसम्म सडक कालोपत्र भएको छ, सदरमुकामबाट नजिकै भएकाले पनि आन्तरिक पर्यटक रमाइलो गर्न जाने गरेका हुन् ।” 

पूर्वाधार विकास गर्ने योजना

आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेपछि पूर्वीचौकी गाउँपालिकाले यस क्षेत्रमा पूर्वाधार विकास गर्ने योजना बनाएको छ । पर्यटकको सङ्ख्या वृद्धि भएपछि यहाँ पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । 

पिकनिक स्पटको विकास गर्ने, वनजङ्गल तथा वन्यजन्तुको संरक्षण गर्ने, आवश्यक भौतिक पूर्वाधार निर्माण गरेर यस क्षेत्रको व्यवस्थित विकास गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’