2026-06-26 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पका विरोधी मेक्सिकोमा राष्ट्रपति, बन्ला त सीमामा पर्खाल ?

2018-07-07

असार २३, काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ को निर्वाचन अभियानको एउटा बहुचर्चित तर विवादास्पद एजेण्डा थियो– मेक्सिकोको सीमामा पर्खाल । उहाँले आफ्ना हरेक सम्बोधनमा भन्नुहुन्थ्यो, मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउँछु तर त्यसको खर्च मेक्सिकोलाई नै तिराउँछु । 

यो एजेण्डाको विश्वसनीयता र सम्भाव्यताको मापन त्यसताका निकै भएको हो । यसरी एकले अर्काे देशका सीमा क्षेत्रमा पर्खाल नै लगाउनेजस्तो काम असम्भव छ भन्नेहरुको जनमत धेरै थियो । उनीहरुले ट्रम्पको यो एजेण्डालाई “हावादारी” भनेका थिए । यस्तो असम्भव विषयलाई निर्वाचनको प्रमुख एजेण्डा बनाउने ट्रम्प कसरी अमेरिकाजस्तो देशको राष्ट्रपति बन्ने होलान् भनेर पनि विश्लेषकले टिप्पणी गर्ने गर्दथे । 

ट्रम्पले यो एजेण्डालाई अघि सार्नुको प्रमुख कारण मेक्सिकोका कारण अमेरिकामा भएका विविध हानीलाई देखाउनुभएको थियो । उहाँले त्यस समयमा गर्ने भाषणका प्रमुख अंश मेक्सिकोलाई ‘गालीगलौज’ मा बढी खर्चिने गर्नुहुन्थ्यो । उहाँकै भाषामा मेक्सिकोका कारण अमेरिकामा आतङ्ककारी आक्रमण हुने गरेका छन् । अमेरिकामा बढी लुटपाट र हिंसा मच्चाउनेमा पनि मेक्सिकोका नागरिक बढी छन् भन्ने उहाँको तर्क थियो । 

त्यसैले मेक्सिकोको यो त्रासबाट मुक्ति पाउन उसको सीमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने उहाँको तर्क थियो । मेक्सिकोतर्फबाट अवैधरुपमा नागरिक अमेरिका छिर्ने र त्यसमा बढी त मेक्सिकोकै नागरिक भएकोले अमेरिकालाई खतरा उत्पन्न हुने गरेको उहाँले बताउदै आउनुभएको छ । 

त्यस्तै उहाँको अर्काे एजेण्डा अवैध आप्रवासीलाई अमेरिकामा स्थायीरुपमा बसोबास गर्न नदिइने भन्ने पनि थियो । त्यसको दोषी पनि उहाँको नजरमा मेक्सिको नै थियो । मेक्सिकोका धेरै आप्रवासी अवैधरुपमा अमेरिका छिर्छन् र लुटपाट गरेर आतङ्क मच्चाउने गर्छन् भन्ने उहाँको आरोप थियो । त्यसैले पनि उहाँले मेक्सिकोसँग पर्खाल लगाउने प्रस्ताव गरेको बताउनुभएको थियो । 

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएको पनि डेढवर्ष भइसक्यो । यस समयमा उहाँले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने जग हाल्न सक्नुभएको भने छैन । तर पनि यो एजेण्डालाई भने उहाँले जिवीतै राख्नुभएको छ । बेला बेलामा उहाँको भाषणमा अहिले पनि आफ्नो उक्त कार्यक्रम प्राथमिकतामा नै रहेको बताउने गर्नुहुन्छ । 

त्यो एजेण्डा यतिखेर भने अमेरिकामा आएर अझ बढी चर्किएको छ । मेक्सिकोमा नयाँ राष्ट्रपति आएपछि यसले उक्त एजेण्डालाई अमेरिका र मेक्सिकोमा पनि अझ बढी चर्काइदिएको महसुस भएको छ । किनभने मेक्सिकोका नवनिर्वाचित राष्ट्रपति अमेरिकी राष्ट्रपति ट्रम्पका एक कट्टर विरोधीका रुपमा परिचित हुनुहुन्छ । उहाँको आगमनले यी दुई छिमेकीको आगामी सम्बन्ध कस्तो होला भन्ने प्रसंगले यो पर्खाल प्रसंगलाई पुनः एकपटक सम्झाइदिएको हो । 

मेक्सिकोमा गएको आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा यहाँका पुराना वामपन्थी नेता आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले जित हासिल गर्नुभएको छ । यो जितसँगै यहाँ वामपन्थी शक्तिको पुनः उदय भएको छ । छिमेकमा भएको यो उदयले राष्ट्रपति ट्रम्पलाई पुनः एक पटक झस्काइदिएको छ । एकातर्फ आफ्ना कट्टर विरोधी र अर्कातर्फ छिमेकमा दशकौँका परम्परावादी शक्तिलाई परास्त गर्दै वामपन्थी शक्तिको उदय । राष्ट्रपति ट्रम्पको पर्खाल र आप्रवासीमात्र नभएर सबैखाले नीतिहरुमा पनि उहाँको उदयले अमेरिकालाई नयाँ ढंगले सोच्न बाध्य बनाएको छ । 

ओब्राडोरको विजयसँगै मेक्सिकोको मूल धारको राजनीतिबाट दुई ओटा प्रमुख राजनीतिक दल रिभोल्युसनरी पार्टी र नेसनल याक्सन पार्टीको दशकौँ पुरानो एकाधिकार भने तोडिएको छ । यी पुराना र यहाँको राजनीतिक परिदृश्यमा विगत लामो समयदेखि कब्जा जमाउँदै आएका ठूला दलको पराजयबाट उदाएका आब्राडोरले यी दललाई देशको राज्यसत्तामा गैरराजनीतिक माफिया भनेर टिप्पणी गर्ने गर्नुहुन्छ । 

मेक्सिको सिटी नगरका पूर्वमेयर ओब्राडोर आफ्ना प्रतिद्वन्द्वीसँग सबैभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वीको २३ प्रतिशतमात्र मत रहेकोमा उहाँले भने ५३ प्रतिशतभन्दा बढी मत ल्याउनुभएको छ । ६४ वर्षीय ओब्राडोरले चुनावी परिणाम घोषणा भएलगत्तै मेक्सिकोका हरेक क्षेत्रमा आमरुपमा परिवर्तन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । उहाँले खासगरी मेक्सिकोमा बढ्दो भ्रष्टाचार निर्मूल पार्ने काममा आफू लाग्ने आश्वासन दिनुभएको छ । 

गत आइतबार सम्पन्न सो चुनावमा यहाँका करिब सात करोड मतदाताले मतदान गरेका थिए। ल्याटिन अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा परिचित मेक्सिको यस क्षेत्रको एक ठूलो तेल निर्यातकर्ता देश पनि हो । तर पछिल्लो समयमा भने तेलको मूल्य खस्किएका कारण मेक्सिकोको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर विरोधी ओब्राडोर राष्ट्रपतिमा विजयी भएसँगै दुई देशबीचको यसै पनि नराम्रो सम्बन्धबारे पुनः चर्चा शुरु भएको छ । आफू राष्ट्रपति भएपछि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोका विरुद्ध अभिव्यक्ति दिन भने छोड्नुभएको छैन । केही महिनामात्र अघि पनि उहाँले मेक्सिकोका नागरिकलाई ‘चर्पीको प्वालजस्ता काम नलाग्ने देशका मानिस’ भनी टिप्पणी गर्नुभएको थियो । यो अभिव्यक्तिबाट पनि पछिल्लो समयमा दुई देशबीचको तनाव थप उत्कर्षमा पुगेको छ । 

ओब्राडोरले भ्रष्टाचार नै मेक्सिकोको सामाजिक र आर्थिक असमानता र हिंसाको मूल जड हो भन्नुभएको छ । उहाँले आफूले नियमितरूपमा मन्त्रिपरिषद् बैठक डाक्ने र देशमा व्याप्त लागूऔषधको कारोबारीहरुको अवैध जालो तोड्ने बाचा गर्नुभएको छ । राज्य, राजनीतिक दल र व्यापारिक घरानाले गरेको देशको साधन स्रोतको एकोहोरो दोहनको अन्त्य गरी देशका मजदुरको कामकोे ज्याला र पेन्सन वृद्धि गर्नेसमेत उहाँले बताउनुभएको छ । 

राष्ट्रपति ट्रम्पको आप्रवासी नीति अथवा समग्रमा भन्नुपर्दा सिंगो मेक्सिको नीतिकै विरोधी ओब्राडोरको विजय यस्तो समयमा भएको छ कि यतिबेला अमेरिकी राष्ट्रपतिको आप्रवासी नीतिलाई अमेरिकाको सर्वाेच्च अदालतले मान्यता दिएको छ । मेक्सिकोसहित केही मुस्लिम वाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्ने उहाँको नीतिले वैधानिकता पाएको तर त्यसका विरुद्धमा देशैभरि प्रदर्शन जारी रहेका बेला यता छिमेकी मेक्सिकोमा त्यस नीतिका एकजना कट्टर आलोचकको उदयले यी दुई देशको सम्बन्धलाई पुनः परिभाषित गर्ने दिन आएको कतिपय विश्लेषकको भनाइ छ । 

तर राष्ट्रपति ट्रम्पले भने ओब्राडोरलाई आफ्नो ट्वीट अकाउन्टमार्फत बधाई दिनुभएको छ । उहाँले मेक्सिकोको सो निर्वाचनलाई वैधानिक भन्दै नयाँ राष्ट्रपतिसँग मिलेर काम गर्ने बताउनुभएको छ । दुई देशको यो कूटनीतिक अभ्यासकैबीचमा दुवै देशका विश्लेषकको प्रश्न भने जिवीतै छ– के सीमा क्षेत्रमा पर्खाल बन्ला त ? रासस

(विभिन्न एजेन्सीहरुको सहयोगमा) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ