आफ्नो इच्छाअनुसार विवाह गर्ने छोरीलाई बुवाले अदालतभित्रै गोली प्रहार गरी हत्या गरे

Posted on: 24 Jan, 2023

माघ १०, काठमाडौँ | आफ्नो इच्छाअनुसार विवाह गर्ने एक महिलालाई उनकै बुवाले गोली प्रहार गरी हत्या गरेका छन्। त्यो पनि विवाह दर्ता गराउन आएका बेला ती महिलाका बुवाले अदालतभित्रै गोली प्रहार गरेका हुन्।


घटना पाकिस्तानको कराँचीको हो। सोमबार कराँचीस्थित सिटी अदालतभित्र विवाह दर्ता गराउन आएकी ती महिलालाई उनका बुवाले गोली प्रहार गरेका हुन्। महिलाले आफ्नो इच्छाअनुसार दोस्रो विवाह गरेको र विवाहपछि घर छाडेको प्रहरीले जनाएको छ। 

त्यसपछि आक्रोशित भएका बुवाले विवाह दर्ता गराउन आएको छोरीलाई अदालतभित्रै गोली प्रहार गरेका हुन्। समाचार एजेन्सी पीटीआईका अनुसार गोली लागेपछि घटनास्थलमै ती महिलाको मृत्यु भएको छ। 

उक्त घटनामा दुई जना प्रहरी अधिकारी पनि घाइते भएका छन्। प्रहरीले गोली प्रहार गर्ने महिलाका बुवालाई पक्राउ गरेको र हतियार पनि जफत गरेको जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!