चैत ७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध उनी सहभागी कार्यक्रममा नाराबाजी भएको छ । मंगलबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित सार्वजनिक समारोहमा तीनजना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।
त्यसबीचमा अर्का एक जना युवाले ‘‘प्रहरीले मुख बन्द गर्न पाइँदैन’’ भन्दै नारा लगाए। युवाहरुलाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले ‘गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौँ’’ भन्दै नाराबाजी गरे।
प्रधानमन्त्री प्रचण्ड जाँदै गर्दा उनकै अगाडि एक युवाले ‘बैंकको मिटर ब्याज मिनाहा गर्’ भन्दै नारा लगाएका थिए। ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो।