चैत १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजपीडितको न्यायका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटार जान प्रहरीले अवरोध गरेपछि टंगालमा रोकिएका मिटरब्याजपीडितलाई मंगलबार बिहान भेटेर लामिछानेले न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘म तपाईंहरूसँगै छु । आफ्नोतर्फबाट न्यायका लागि सक्दो प्रयास गर्छु,’ मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै लामिछानेले भने ।
सुदखोरले मिटरब्याजमा रकम लगाएर ज्यादति गरेपछि तराई तथा मधेसका पीडित जनताहरू न्याय माग्दै लामो समयदेखि संघर्षरत छन् । संघीय सरकारले पटक पटक समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि पूरा नगरेपछि उनीहरू बाराबाट हिँडेरै राजधानी काठमाडौं आएर न्याय माग गरिरहेका छन् ।