२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

दलितले भान्सा छोएको भन्दै जनप्रतिनिधिले फालिदिए खाना

२०७९, १९ चैत्र आईतवार ०७:२४

चैत १९, पोखरा | आफन्तका छोराको व्रतबन्धमा सहभागी भएका व्यक्तिमाथि जनप्रतिनिधिले जातीय विभेद गरेको घटना सार्वजनिक भएको छ । घटना गएको फागुन २५ गतेको हो ।

कास्कीको पोखराबाट नारायण परियार आफन्त सन्तोष परियारका छोराको व्रतबन्धमा सहभागी हुन माछापुच्छ्रे गाउँपालिका–५, रिभान पुग्छन् । उनले आफन्तका छोरालाई धर्म–संस्कारअनुसार टीका लगाई दानदक्षिणा दिन्छन् । त्यसपछि प्रसाद ग्रहण गर्न जान्छन् । त्यति बेला उनको थर सोधिन्छ ।

प्रश्न सोध्नेलाई उनले पूजा भइरहेको घरमूलीको आफन्त भनेर चिनाउँछन् । त्यसलगत्तै उनलाई छुट्टै भान्सामा जान भनिन्छ ।

प्रश्नकर्ता स्थानीय सीता लामिछाने हुन् । उनले त्यहाँ दलित समुदाय र ब्राह्मणका नाममा छुट्टाछुट्टै भान्सा बनाइएको बताउँछिन् ।

आफूमाथि विभेद भएको भन्दै नारायण प्रतिप्रश्न गर्न थाल्छन्– मैले यही भान्सामा खाँदा के हुन्छ ?

सीताले जवाफ फर्काइन्– यो बाहुन भान्सा हो । यहाँ ब्राह्मण–क्षेत्रीले मात्र खाने हो । हाम्रो वृद्ध बुवाआमाहरू हुनुहुन्छ, तिमीहरूले छोएको खानु हुँदैन ।

त्यसपछि नारायणले भने– अहिलेको समयमा यस्तो कुरा नगर्नु…।

उनले जवाफ दिन भ्याइसकेका थिएनन् । वडा नम्बर–५ का वडा सदस्य रामजी लामिछाने त्यहाँ आइपुग्छन् । र, उनले खाना भुईंमा पोखिदिन्छन् ।

आफूमाथि जातीय विभेद भएको भन्दै शनिबार पत्रकार सम्मेलन गरेका नारायणले भने, “तिमी दलितहरू ठूला पल्टिन्छौँ, हाम्रो भान्सा जुठो भयो भन्दै रामजी लामिछानेले भान्सामा भएको दाल, भात, तरकारी सबै भुईंभरि फालिदिनुभयो ।”

उनका अनुसार ‘बाहुन भान्सामा बिटुलो पारेको’ भन्दै स्थानीय सुजन लामिछानेले पनि अपमानजनक व्यवहार गरे । त्यसपछि व्रतबन्ध नै छाडेर आफू पोखरा फर्किएको उनले पत्रकार सम्मेलनमा बताए ।

उनी फर्किए, तर तनाव थपियो । जसको घरमा उनी गएका थिए, ती व्यक्तिले नै फोन गरेर डेढ लाख रुपैयाँ तिर्न लगाए ।

“सन्तोष परियारले फोन गरी तिमीले भान्सामा गई छोइदिएकोले ती सबै पाकाको खानाहरू फाल्नुपर्यो, एक लाख पचास हजारको खाना खेर गयो । मेरा बाहुन/क्षेत्री पाहुनाको पनि अपमान भयो भने,” नारायणले सुनाए ।

त्यति मात्र होइन, कुल–कुटुम्बबाट निकाल्ने र व्रतबन्धमा खर्च भएको रकम तिर्न भन्दै तारन्तार फोन गरेर दबाब दिइएको उनको भनाइ छ । “हाम्रो धर्म–संस्कारलाई नमानी मेरो व्रतबन्धको कार्य नै विफल बनायौ, अब तिमीलाई हाम्रो कुल–कुटुम्बबाट निकाल्छौँ, हाम्रो कुल मन्दिरमा पनि प्रवेश छैन । तिमीले दिएको घण्टी पनि लैजाऊ । तिमीले जसरी पनि व्रतबन्धमा खर्च भएको रकम तिर्नुपर्यो,” सन्तोषले फोनमा भनेको भन्दै उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

घटनापछि नारायणले रामजी, सीता, सन्तोषसहित छुट्टै भान्सा बनाउनुपर्छ भनेर दबाब दिने सन्दीप परियारलगायत व्यक्तिविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका थिए । कास्की प्रहरीले पीडक भनिएका सन्तोष र सुजनलाई पक्राउ गरेको छ । अर्का पीडक भनिएका जनप्रतिनिधि रामजी र सीता फरार छन् ।

विभिन्न संघ–संस्थाले संयुक्त विज्ञप्ति जारी गरेर जातीय विभेदपूर्ण घटनाप्रति खेद व्यक्त गरेका छन् । पीडकलाई तत्काल कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन अपिल पनि गरिएको छ ।

नेपालको संविधान २०७२ को धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक र २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हकको व्यवस्था छ ।

जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को दफा ३ मा भेदभाव गर्न नहुने उल्लेख छ । यो दफामा ‘कसैले पनि जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव गर्न वा गराउन नहुने, छुवाछूत र भेदभाव गर्ने कार्य गर्न कुनै प्रकारको मद्दत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तको कार्यको उद्योग गर्न हुँदैन’ भन्ने उल्लेख छ ।

यो दफाविपरीतको कार्य गरेमा कसुर गरेको मानिन्छ । यसविपरीत कसुर गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख छ ।

ऐनको दफा ७ (२) मा ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले उपदफा (१) बमोजिमको कसुर गरेमा निजलाई सो उपदफामा उल्लिखित सजायमा पचास प्रतिशत थप सजाय हुने’ व्यवस्था छ । नारायणले ‘पीडक’ जनप्रतिनिधि समेत भएको हुँदा दफा ७ (२) बमोजिमको थप सजायको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन