Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८० जेठ ०५ गते, राति २:४२ बजे
पत्रपत्रिकाबाट

नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार, नयाँ जहाज किन्ने तयारी !

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ ५, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार देखिएको छ। पछिल्लो एक वर्षमा निगमले वित्तीय सुधार गरी थप जहाज खरिदको तयारी थालेको जनाएको छ । संस्थाको व्यापार विस्तार तथा नगद प्रवाहमा थप सुधार ल्याउन अन्तर्राष्ट्रिय गन्तव्य विस्तारमा लागेको निगमले आन्तरिक उडानमार्फत समेत आम्दानी बढाउन नयाँ जहाज खरिदको प्रक्रिया अघि बढाएको छ। 

निगमले अन्तर्राष्ट्रिय उडानका लागि किनेका न्यारोबडी र वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको किस्ताबापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको छ। त्यसअघि असारमा एक अर्ब ३५ करोड रुपियाँ, असोजमा ७३ करोड नौ लाख ५५ हजार रुपियाँ र पुसमा ३३ करोड नौ लाख ५५ हजार रुपियाँ भुक्तानी गरेको थियो । निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार जहाज खरिदका लागि लिएको ऋणको सावाँ र ब्याजमा मात्रै पछिल्लो एक वर्षमा करिब तीन अर्ब रुपियाँ भुक्तानी गरेको निगमले थप आम्दानी बढाएर ऋण चुक्ता गर्न प्रादेशिक रूपमा हवाई कनेक्टिभिटी बढाउने योजनासहित जहाज थप्न लागेको हो । 

काठमाडौँबाट सिङ्गापुर–अस्ट्रेलिया, दक्षिण कोरिया उडानका लागि समेत  प्रकिया चलिरहेको जनाउँदै उनले आफ्नै आन्तरिक स्रोतबाट सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा र दुर्गम क्षेत्रमा उडान विस्तार गर्न तीन वटा जहाज थप्ने कार्य योजनासमेत अघि बढेको बताए । निगमले अस्ट्रेलिया उडानको  प्रकिया समेत अन्तिम चरणमा पुगेको जनाएको छ । अस्ट्रेलियाको नियमन निकायबाट अवतरणलगायतका आवश्यक अनुमति आएसँगै निगमले काठमाडौँ–सिङ्गापुर हुँदै सिड्नीस्थित किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन हुने छ । निगमले अस्ट्रेलिया उडानका लागि आवश्यक पर्ने भूमिस्थ प्रबन्ध, लजिस्टिक, क्याटरिङलगायतका सेवाका लागि टेन्डरसमेत आह्वान गरिसकेको छ । 

सन् २०१९ मा क्यानडामा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्झौताअनुसार नेपालले अस्ट्रेलियामा दैनिक एक उडान गर्न सक्नेछ। हाललाई वाइडबडी एयरबस–३३० बाट सातामा तीन वटा उडान गर्ने तयारी गरिरहेको निगमले विभिन्न देशमा भइरहेका उडान अनुभवका आधारमा थप उडान विस्तार गर्दै जाने योजना बनाएको छ । निगमले कोरिया उडानको प्रक्रियासमेत सँगसँगै अगाडि बढिरहेको जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।