पढ्न करिब 3 मिनेट लाग्छ

साउन २३, काठमाडौँ | नरेन्द्र मोदी सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि भारतीय संसदमा छलफल सुरु भएको छ । लोकसभाका सभामुख ओम बिड्लाले विपक्षीको अविश्वास प्रस्तावमाथि छलफलका लागि अनुमति दिएका हुन् ।

अविश्वास प्रस्ताव पेश गर्दै पहिलो भाषण कांग्रेस सांसद गौरव गोगोईले गरे । मणिपुरमा जारी हिंसालाई लिएर ल्याइएको अविश्वास प्रस्तावमा पहिलो भाषण कांग्रेस सांसद राहुल गान्धीले गर्ने अनुमान थियो, तर गोगोईले सुरु गरे ।

उनी पूर्वोत्तर राज्य असमका हुन् र मणिपुर पनि पूर्वोत्तरमा पर्छ । शायद, यही कारण कांग्रेसले उनलाई अघि सारेको हुनुपर्छ । गोगोई बहस सुरु गर्न उभिएपछि संसदीय कार्यमन्त्री प्रह्लाद जोशीले सोधे, ‘राहुल गान्धीलाई के भयो ? हामी त प्रतिक्षा गरिरहेका थियौं ।’

२४ मार्चमा निलम्बनमा परेका कांग्रेस सांसद गान्धी सर्वोच्च अदालतको आदेशपछि मंगलबार पहिलो पटक संसदमा उपस्थित भएका थिए ।

गोगोईले सोधेको तीन प्रश्न

अविश्वास प्रस्तावमाथि छलफल सुरु गर्दै कांग्रेस सांसद गौरव गोगोईले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तीन प्रश्न गरे ।

पहिलो, अहिलेसम्म प्रधानमन्त्री मोदी मणिपुर किन गएनन् ?

दोस्रो, हिंसाबारे मोदीले अहिलेसम्म किन बोलेनन् ?

र, तेस्रो, प्रधानमन्त्रीले मणिपुरको मुख्यमन्त्रीलाई किन बर्खास्त गरेनन् ?

सम्बोधनका क्रममा कांग्रेस सांसद गोगोईले सरकारसँगै प्रधानमन्त्री मोदीमाथि थुप्रै प्रश्न उठाएका छन् । महत्वपूर्ण मुद्दामा मोदीले मौनता साँध्ने गरेको भन्दै उनले भने, ‘बीजेपीले एक भारतको कुरा गर्छ, तर दुई मणिपुर बनायो । बीजेपीले सत्ताका लागि देशको अखण्डतालाई खतरामा पारिरहेको छ ।’

गोगोईको बीजेपी सांसद निशिकान्त दुबेले जवाफ दिए । उनले विपक्षी गठबन्धनसँगै कांग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धीमाथि समेत प्रश्न उठाएका छन् ।

किन आयो अविश्वास प्रस्ताव ?

मोदीविरुद्ध अविश्वासको प्रस्ताव आएको यो पहिलो पटक होइन । २०१८ मा तेलगू देशम पार्टीले पनि अविश्वासको प्रस्ताव ल्याएको थियो ।

लोकसभाका ५० सांसद जुटाएपछि कुनै पनि बेला सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकिन्छ ।

तर बहुमतका लागि २७२ सांसद चाहिन्छ । एनडीएसँग ३३१ सांसद छ भने बीजेपी एक्लैसँग ३०३ छ ।

अर्थात विपक्षी गठबन्धन एक भएपनि अविश्वासको प्रस्तावबाट बच्न बीजेपीसँग पर्याप्त संख्या छ ।

२६ दलको गठबन्धन इण्डियासँग १४४ सांसद मात्र छ । गठबन्धनमा संलग्न नभएका बीजेडी, बीआरए र वाईएसआर कांग्रेससँग ७० सांसद छ । यो अंकगणित बुझेका विपक्षी गठबन्धनले किन अविश्वास प्रस्ताव ल्यायो त ? किनकी मणिपुर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा आएर विस्तृत बयान दिउन् ।

मणिपुरमा भइरहेको हिंसाबारे संसदमा छलफल गर्नुपर्ने र प्रधानमन्त्री मोदीले जवाफ दिनुपर्ने विपक्षीको माग छ । तर मोदीले संसदमा आएर जवाफ दिएका छैनन् ।

गृहमन्त्री अमित शाह आएर बोल्ने गरेका छन् । निरन्तर माग गर्दा पनि प्रधानमन्त्री संसदमा नआएपछि विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याए्, जसको मोदी आफैं संसदमा आएर जवाफ दिनुपर्छ । बीबीसी हिन्दी