चैत ५, काठमाडौँ | रुसी सैनिकमा भर्ना भई युद्ध लड्दा युक्रेनी सैनिकको कब्जामा परेका पाँच जना नेपालीलाई छाड्न युक्रेन तयार भएको छ । रुस–युक्रेन युद्धका क्रममा कब्जामा लिई युद्धबन्दी बनाइएका विभिन्न मुलुकका नागरिकलाई सार्वजनिक गर्दै युक्रेनले युद्धमा भाग नलिने सर्तमा छाड्न लागेको छ ।
शुक्रबार युक्रेनी सैनिकले आफ्नो कब्जामा रहेका पाँच जना नेपालीसहित आठ जनालाई सार्वजनिक गरेसँगै परराष्ट्र मन्त्रालयले पनि छुटाउनका लागि पहल सुरु गरिसकेको छ । यद्यपि, युक्रेनले युद्धबन्दी बनाइएकालाई रुससँग भएको सम्झौता रद्द गरेर आफ्नो मुलुकमा जाने सर्तमा मात्र छाड्न लागेको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार युक्रेनी सेनाले शुक्रबार सार्वजनिक गरेकामा पाँच नेपाली, तीन क्युवाली तथा एक–एक जना सोमालिया र सियरालियोनका नागरिक रहेका छन् ।
युक्रेनमा हाल राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने बन्दी जीवन बिताइरहेका छन् । प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारका तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो ।
युद्ध क्षेत्रबाट रिपोर्टिङ गरिरहेका युक्रेनका सञ्चारकर्मी आन्द्रे चाप्लिएङ्कले सार्वजनिक गरेको भिडियोनुसार, नेपाली नागरिक पुनलाई दक्षिण पूर्वी युक्रेनको जापोरिजी क्षेत्रबाट सेनाले कब्जामा लिएको थियो । उनी रुसको ७०औं मोटोराइज्ड राइफल रेजिमेन्टको सदस्य रहेका बताइएको थियो ।
सैनिक पोसाकमा रहेका पुनले आफू विद्यार्थी भिसामा तीन महिनाअघि रुसको राजधानी मस्को आएको बताएका थिए । एक एजेन्टले सेनामा भर्ती गर्न लागेको उनले बताएका थिए । रुसी सेनासँग भएको कुनै पनि लिखित सम्झौताबारे आफूलाई थाहा नभएको उनले भिडियोमा बताएका थिए । ‘केही महिनाको तालिमपछि म लडाइँमा गएको थिएँ, म अहिले युक्रेनमा छु,’ भिडियोमा पुनले भनेका छन्, ‘नेपालीलाई रुसमा नआउन अनुरोध गर्छु, रुसी राहदानी, पैसा पाउने आशामा यहाँ नआउन आग्रह गर्छु ।’
युक्रेनको कब्जामा रहेका नेपालीको अवस्था के छ भन्ने अज्ञात भइरहेका बेला शुक्रबार पाँच नेपालीसहित आठ नेपालीलाई सार्वजनिक गरेसँगै परिवारका आफन्तले सहानुभूति महसुस गरेका छन् । यसअघि विभिन्न समयमा युक्रेनले कब्जा भएका नेपालीहरूको भिडियो सार्वजनिक गर्दै आइरहेको थियो । तर, यसपटक भने आफ्नो नियन्त्रणमा रहेका सबैलाई एकैठाउँमा राखेर सार्वजनिक गरेको छ ।
नेपालको लगातारको प्रयासपछि मात्र युक्रेन नेपालसँग कूटनीतिक संवाद गर्न सहमत भएको थियो । अहिले नेपाल र युक्रेनबीच कूटनीतिक संवाद भइरहेको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र युक्रेनी राजदूतबीच कुराकानी भइरहेका छन् । युक्रेनले यसअघि कब्जामा भएका नेपालीहरूको विभिन्न समयमा भिडियो पनि सार्वजनिक गरेको थियो ।
शुक्रबार सार्वजनिक भएका नेपालीहरूले आफूहरू रिहा भएपछि रुस जाने र सैन्य सम्झौता रद्द गरेर स्वदेश फर्कने वाचा गरेका छन् । युद्धबन्दी बनाइएका सबैलाई सो प्रतिबद्धता गर्न लगाइएको छ । युक्रेनले बन्दीहरूलाई कहिले छाड्छन् भन्नेबारेमा पनि जानकारी दिएको छैन ।
नेपालले लामो समयदेखि जर्मनीस्थित नेपाली दूतावासमार्फत युक्रेनी कब्जामा रहेका आफ्ना नागरिकलाई रिहाइ गर्नका लागि कूटनीतिक कदम चालेको थियो । तर, रिहा भएपछि रुस फर्किएमा भने रुसले सैन्य सम्झौता तोड्न सकस हुने भएकाले नेपालले सिधै स्वदेश फर्काउनेगरी पहल गरिरहेको छ ।
युक्रेनले युद्धबन्दीलाई सार्वजनिक गर्दै रुससँगको युद्धमा विदेशी नागरिकलाई भर्ना हुनबाट रोक्न युक्रेनले सम्बन्धित मुलुकलाई पनि अपिल गरेको छ । तेस्रो मुलुकका नागरिक यस युद्धमा सामेल नहून् भन्ने उद्देश्यका साथ उनीहरूलाई सार्वजनिक गरेको युक्रेनी सरकारले जनाएको छ । रुसी सेनामा भर्ना नहुन युक्रेनले विदेशी नागरिकलाई सार्वजनिक अपिल गरिरहेको छ ।
रुसले आफ्ना तर्फबाट युद्धमा सामेल गर्नका लागि विदेशी नागरिकलाई विभिन्न योजना ल्याएर प्रलोभनमा पार्दै आइरहेको छ । सोही प्रलोभनमा परेसँगै रुसमा २१ मुलुकका नागरिक भाडाको सैनिकका रूपमा युक्रेनसँग युद्ध लडिरहेका छन् । युक्रेनले युद्धमा कब्जामा लिँदा विभिन्न मुलुकका नागरिक सामेल भएका पाएपछि कूटनीतिक रूपमा युद्धमा सामेल भएका मुलुकलाई आफ्ना नागरिक युद्धमा नपठाउन आग्रह गर्ने भएको छ ।
रुस–युक्रेन युद्ध लड्न रुसी सेनामा भर्ती भएर गएका १९ जना नेपालीको मृत्यु भइसकेको छ । अहिलेसम्म रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्नेबारेमा नेपालले पटकपटक रुसलाई आग्रह गर्दासमेत जवाफ दिन मानेको छैन । -राजधानी दैनिकबाट