जेठ १७, काठमाडौँ । बिहीबार त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्न पुगेका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेसँग छोटो भेटवार्ता गरेका छन्।
सन्दीप मैदानमा अभ्यास खेल खेलिरहदां मन्त्री श्रेष्ठ अनुगमनका लागि पुगेका थिए। उनले विश्वकपको भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको प्रसंगमा आफूहरूले सक्दो प्रयास गरिरहेको जानकारी गराए।
‘हामीले गर्ने शतप्रतिशत गरेका छौँ, उताबाट अलिक हुन सकेको छैन,’ उनले सन्दीपलाई भने, ‘यहाँ भइदिएको भए हामीले नै यो गर्नु, उ गर्नु भनेर भन्न पाइन्थ्यो। त्यसका फेरि अरु धेरै कुटनीतिक मर्यादाहरू हुन्छन्।’
उनले आफ्नै अघि परराष्ट्रमन्त्रीले पटक पटक भिसा प्रयासका लागि समन्वय गरेको जानकारी पनि सन्दीपलाई गराए।
‘मेरै अगाडि पटक पटक परराष्ट्रमन्त्रीज्यूले समन्वयका लागि भन्नुभएको छ,’ मन्त्री श्रेष्ठले अघि भने, ‘अरु केही भयो भने कल मी!’
नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिँदैछ। विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ।
भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन्।
मन्त्री श्रेष्ठसहितको टोलीले बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अनुगमन गरेका थिए। सो अवसरमा युवा तथा खेलकुद मन्त्री श्रेष्ठले क्रिकेट मैदानमा अब बन्ने नयाँ संरचनाका बारेमा जानकारी लिएका थिए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले टीयू क्रिकेट मैदान हातामा राखेपले बनाएको अधिकांश भौतिक संरचना बारे जानकारी दिएका थिए ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले क्रिकेट मैदान हाताभित्र बन्ने नयाँ संरचनाको प्रारम्भिक ढाँचा बारे प्रकाश पारेका थिए ।