साउन १४, काठमाडौँ । अमेरिकाको टेक्सासस्थित मेक लेनान काउन्टीको एउटा स्टोरमा कार्यरत नेपाली युवक ३० वर्षीय दीपक ओलीको अज्ञात समूहले हत्या गरेको छ । गोली हानी उनको हत्या गरिएको हो ।
उनी स्टोरमा क्लर्कका रूपमा काम गर्थे । सोही स्थानको अर्को स्टोरका क्लर्क स्टेफान सन्नीले गोली काण्डपछि उनैले प्रहरीलाई खबर गरेको जनाएका छन् ।
उनका अनुसार, दुई व्यक्ति आइतबार बिहान करिब ५ः२० बजे बन्दुकसहित त्यहाँ गएका थिए । दीपक काउन्टरमा बसिरहेका थिए । उनी भाग्न खोजे पनि त्यसअघि नै आक्रमणकारीले गोली चलाएको सन्नीले बताएका छन् ।
सन्नीले आफूले सेक्युरिटी फुटेज हेरेको उल्लेख गरेका छन् । गोली हान्न लागेका बेला दीपकले हातले ‘बन्दुक नहान’ भन्न खोजेको र उनी घुम्दै गर्दा प्रहार गरिएको जनाएका छन् ।