साउन १७, काठमाडौँ । प्रेमिका विदेश जाने भएपछि एक अधबैंसे पुरुषले बालिका अपहरण गरेको खुलेको छ । सुनसरी दुहवी नगरपालिका–६ का ५० वर्षे सञ्जय पासवानले एक युवतीसँगको प्रेम सम्बन्धमा खटपट आएपछि प्रेमिकाकी बहिनीकी ६ वर्षीया छोरीलाई अपहरण गरेका हुन् ।
बालिका अपहरण गरेको आरोपमा प्रहरीले सञ्जयसहित उनका दुई जना सहयोगीलाई पक्राउ गरेको छ । अपहरण आरोपमा प्रहरीले सञ्जयसहित कलानन्द पासवान र सरिता पासवानलाई पक्राउ गरेको सुनसरी प्रहरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । प्रहरीले उनीहरूलाई विराटनगर–१० स्थित मानव सेवा आश्रम अगाडिबाट पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये सञ्जय मुख्य अभियुक्त रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक भण्डारीले बताए । अपहरणमा परेकी बालिका र सञ्जय आफन्त पर्दछन् । दुहवी नगरपालिका–१० डुम्राहाबाट मंगलबार दिउँसो ३ बजे आफ्नै मामाघरको आँगनमा खेलिरहेको अवस्थामा सञ्जयले बालिकालाई अपहरण गरेको प्रहरीले जनाएको छ ।
घरबाट अपहरण गरेर सञ्जयले बालिकालाई विराटनगर–१० मानव सेवा आश्रम अगाडि डेरामा लगेर राखेका थिए । प्रहरीले सोही डेराबाट बन्धक बनाएर राखिएको अवस्थामा बालिकालाई उद्धार गरेको डीएसपी भण्डारीले बताए ।
‘बालिकालाई अपहरण गरेर कतै राखियो भने उनकी ठूलीआमा आफैं सम्पर्कमा आउने अनुमानगरी सञ्जयले अपहरण गरेको देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘सञ्जय पासवानले पीडितलाई अपहरणगरी लगेपछि ती नाबालिकाको मामालाई फोन गरेर तेरो भान्जी मेरो कब्जामा छ । तेरो दिदीलाई घर बोला अनि मात्र म बच्चालाई लिएर आउँछु, होइन भने अरुलाई दिन्छु भन्दै फोन गरेको देखिएको छ ।’ त्यसपछि पीडितले इलाका प्रहरी कार्यालय दुहवीमा उजुरी दिएका थिए । बन्धक बनाएको बालिकालाई उद्धार गरेर परिवारलाई जिम्मा लगाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नाबालिकाकी ठूलीआमा र सञ्जयबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। उनीहरूबीच खटपट भएपछि ती युवती सञ्जयसँग सम्पर्कविहीन भएर विदेश जाने भन्दै काठमाडौं गएकी थिइन् ।‘नाबालिकाकी ठूलीआमा वैदेशिक रोजगारीका लागि जानलाई काठमाडौंमा गएकी थिइन्,’ प्रहरी स्रोतले भन्यो, ‘उनलाई विदेश जानबाट रोक्नका लागि ‘बार्गेनिङ’ गर्न सञ्जयले नाबालिकालाई लिएर गएको पाइएको छ।’
पक्राउ परेका सञ्जय विवाहित हुन् भने उनले प्रेम गरेकी युवती अविवाहित छन् । ती युवती २५/२६ वर्षको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सञ्जय टायल/मार्बल लगाउने ठेक्काको काम गर्थे । ती युवती उनकै ठेक्कामा मजदुरको काम गर्थिन् । त्यही उनीहरूबीच प्रेम सम्बन्ध शुरू प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका तीन जनालाई इलाका प्रहरी कार्यालय दुहवीले अपहरण तथा शरीर बन्धक मुद्दामा सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।