मंसिर १६, बुटवल । प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु टुक्राउने गरी संसदमा गरिएको संसोधन प्रस्तावको विरुद्वमा एक जुट हुने विद्यार्थी नेताहरुले बताएका छन् । रिपोर्टस क्लव नेपाल रुपन्देही शाखाले बुटवलमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीका नेताहरुले अखण्ड प्रदेश ५ को लागि जस्तो सुकै अभियान छेड्न पनि तयार रहेको बताएका हुन ।
साक्षत्कार कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय उप सभापती प्रकाश रानाले पारिवारिक सम्बन्ध कायम रहेको पहाडी र तराईका जिल्लाहरु टुक्राउने गरी दर्ता गरिएको संसोधन प्रस्तावको विरुद्वमा आफ्नो ऐक्यवद्धता रहेको बताए । उनले ईतिहासका विभिन्न स्थानमा आफ्नो मातृसंस्थाको विरुद्वमा आवाज उठाउने काम भएको भन्दै अहिले पनि पारिवारिक सम्बन्ध कायम रहेको जिल्लाहरु टुक्राउनु काम गलत भएको बताए ।
सरकारले संसदमा दर्ता गरेको प्रस्ताव अनुसार पहिला प्रदेश नम्बर ५ मा रहेका गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा र रुकुमको केही भाग प्रदेश नम्बर ४ मा गाभ्ने उल्लेख गरिएको छ ।
साक्षत्कार कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठले मध्यरातमा दर्ता गरिएको संसाधेन दर्ताको कुनै मान्य नहुने बताएका थिए । जनताको चाहना विपरित राजनीतिक दलका नेताहरुले गरेको एकलौटी निर्णय नमान्ने बताएका थिए ।
साक्षत्कारमा अखिल क्रान्तिकारीका प्रदेश नम्बर ५ सह संयोजक प्रकाश अधिकारीले आफुहरु अहिले सडकमा भन्दा पनि विद्यार्थी अभियानको दौरानमा भएको भन्दै प्रदेश टुक्राउनुको पक्षमा आफुहरु नरहेको बताएका थिए । उनले प्रदेश टुक्राउने पक्षमा माओवादी केन्द्रका नेताहरुले आफै प्रदेश टुक्राउनुको विपक्षीमा रहेको भन्दै आफ्नो संगठले पहाड र तराईको सम्बन्ध भएको प्रदेश नम्बर ५ बाट जिल्लाहरु अलग गर्न नुहुने बताएका थिए ।
कार्यक्रममा अखण्ड प्रदेश न५ दवाव अभियान लुम्बिनीका संयोजक विष्णु प्रसाद पोखरेलले जनताको चाहाना विवपरित गरिएको निर्णयले नेताहरुलाई नै घाटा हुने बताए । उनले भने–‘जनताको मत एकातर्फ छ, तर नेताहरुको कार्य अर्का तर्फ भयो,जुन गलत हो ।’
साक्षत्कार कार्यक्रममा रिपोर्टस क्लव रुपन्देहीका अध्यक्ष प्रकाश खनालको अध्यक्षता र पत्रकार कृष्ण खनालको सञ्चालनमा भएको थियो ।