
काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरुलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेन्जी उमेर समूहका सांसदहरुसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले नवीन सोचका साथ आफ्नै उदाहरण बनेर रोजगारी सिर्जना गर्न आग्रह गरेका हुन् ।
उनले जनजीविकाका आधारभूत समस्या समाधानसँगै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन सांसदहरुलाई सुझाव दिए । यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यावहारिक सोच त्याग्न प्रधानमन्त्री शाहले आग्रह गरे ।
प्रधानमन्त्री शाहले राजनीतिलाई पेशा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्नसमेत सुझाव दिए । उनले दीर्घकालीन रुपमा आत्मनिर्भर बन्न र अरुका लागि प्रेरणाको स्रोत बन्न सांसदहरुलाई आग्रह गरेका छन् । अन्तरक्रियामा सहभागी जेन्जी उमेर समूहका सांसदहरुले प्रधानमन्त्री शाहको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रुपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।