४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शैक्षिक भ्रमण महत्व र सान्दर्भिकता

६ पुष २०७३, बुधबार १३:२८

–प्रभात सुवेदी | 
‘भ्रमण’ भन्ने वित्तिकै घुम्ने काम वा घुमाई भन्ने बुझिन्छ । मानिस स्वभावैले एकै स्थानमा बस्न चाहाँदैन । परिवर्तनको अपेक्षा हरबखत गरिरहन्छ । कुनै नयाँ स्थानमा गएर नयाँ नयाँ अनुभवहरु सँगाल्ने र ती अनुभवहरु आफ्ना साथीभाइ परिवारका सदस्यहरुलाई बाँड्ने उत्कण्ठा हरपल बोकिरहेको हुन्छ मानिसले । कुनै पनि व्यक्तिले जति कुरा एउटै स्थानमा बसेर सिक्दछ त्यो भन्दा पनि बढी कुरा देश विदेशको भ्रमणबाट सिक्दछ । अझ अर्को कुरा के भने भ्रमणबाट सिकेका कुराहरुलाई उसले आफ्नो हैसियत अनुरुप व्यवहारिक रुपमा लागू गर्न सक्षम पनि हुन्छ ।


जीवनलाई अनुभवहरुको संगालो पनि भनिन्छ । त्यसैले अनुभवहरुबाट आफ्ना अनुभूतिहरुलाई निखार्दै अगाडि बढ्नका लागि भ्रमण अत्यन्तै महत्वपूर्ण हुनुपर्दछ । अनुभवका आधारमा नै मानिसले आफ्नो भविष्यको मार्गचित्र पहिल्याउँछ र सोही मार्गचित्रमा रहेर आफ्ना भविष्यका लक्ष्यहरुमा मलजल गर्ने मौका प्राप्त गर्दछ । अझ आफ्नो मन मिल्ने साथीहरु तथा घरपरिवारका सदस्यहरुसँग गरिएको भ्रमणबाट भने धेरै कुरा सिक्ने मौका प्राप्त हुन्छ । त्यसैले पनि जीवनमा भ्रमणले मानिसलाई परिपक्वतातर्फ उन्मुख गर्नका लागि मद्दत पुर्याउँदछ ।
आजभोलि विद्यालयका बालकालिकाहरुको भ्रमणको लहर नै चलेको छ । खासगरी कात्तिक, मंसिर महिना भनेको भ्रमणको लागि उपयुक्त मौसमको महिना पनि मानिन्छ । विद्यालयमा अर्धवार्षिक परीक्षा सकिएपछि वार्षिक रुपमा नै योजना बनाएर आजभोलि भ्रमण लाने प्रचलन बढ्दैै गएको छ । पहिले पहिले यस प्रकारको चलन पनि थिएन तर आजभोलि सूचना, सञ्चार र यातायातको सुविधाका कारणले गर्दा पनि भ्रमणको आवश्यकतालाई महशुस गरिएको छ ।
पढेर भन्दा पनि आँफैले देखेर बुझेको कुरा चीरस्थायी हुन्छ । यसरी लिएको ज्ञान विस्मरण पनि हुँदैन । जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँड्दा पनि छुट्टै आनन्द पनि आउँदछ । भ्रमणलाई मात्र भ्रमणका रुपमा सिमित नगरि यसलाई उपलब्धीमूलक बनाउन सकेमा मात्रै भ्रमणका लगि गरिएको लगानी अत्यन्तै फलदायी हुन्छ । अझ बालबालिकाहरुका लागि गराईने शैक्षिक भ्रमणहरुमा भने विशेष योजना बनाएर उनीहरुलाई सिक्नका लागि प्रसस्त समय व्यवस्थापन गर्नु जरुरी छ । भ्रमणलाई मनोरञ्जनका रुपमा मात्रै लिइनु हुँदैन । कुनै पनि नयाँ नयाँ स्थानहरुमा पुग्नासाथ आफूलाई रुची लागेको क्षेत्रहरुका बारेमा कुनै पनि ऐतिहासिक वा पुरातात्विक महत्वका क्षेत्रहरुका सन्दर्भमा जानकारी लिने र त्यसका बारेमा टिपोटहरु तयार गर्नका लगि समय दिनु पर्दछ । यसरी तयार गरिएका टिपोटहरुबाट यात्रा संस्मरण वा नियात्रा लेख्न पनि सकिन्छ । नभए यसबाट प्राप्त अनुभवहरुको आधारमा प्रतिवेदन तयार गराउन पनि सकिन्छ ।
विश्वमा हिजो जे थियो त्यो आज छैन, आज भएको कुरा भोलि नहुन सक्दछ र भोलिका कुराहरु पनि विस्तारै पर्सीका कुराहरुले विस्थापित गर्दै जानेछन् । यसको तात्पर्य के हो भने समयसँगै विश्व परिवेश र हामीले प्रयोग गर्ने साधन र स्रोतहरुमा व्यापक परिवर्तन आएको छ । हिजोका दिनमा हामीले फोटो खिच्नका लागि रिल (फिल्म) लोड गरेर विग्रिन्छ कि भनेर डराइडराईकन ‘रेडि एक, दुई, तीन…’ भनी भनीकन फोटो खिच्नु पर्दथ्यो भने अब त्यो समय रहेन । एकै क्षणका तमाम सटहरु लिएर त्यसबाट छानी छानीकन राम्रा तस्वीहहरु राख्न सकिने स्मार्ट प्रविधिको विकास भैसकेको छ । अझ जमाना नै पुरै सेल्फि भैसकेको अवस्था छ । बालक देखि युवा र जेष्ठ नागरिकहरु पनि सेल्फिमा रमाइरहेको अवस्था छ । त्यसैले यस प्रकारका प्रविधिहरुलाई पनि आफ्नो भ्रमणका साधनहरुका रुपमा सदुपयोग गर्न सकिन्छ । कुनै ऐतिहासिक स्मारकहरुका तस्वीरहरु लिएर ती तस्वीरहरुका आधारमा नै भ्रमणका बारेमा जानकारीमूलक आलेख वा स्मरणात्मक अनुभवहरु लेख्न सकिन्छ । तर, विडम्बना भ्रमणमा खिचिएका तस्वीरहरु सामाजिक सञ्जालका भित्ताहरु पोत्नका लगि मात्रै प्रयोग गरिएको जस्तो देखिन्छ । यो भने राम्रो हैन तर त्यसैलाई जानकारीमूलक ढंगबाट पोस्ट गर्नु भने निकै राम्रो मान्न सकिन्छ ।
भ्रमणका लगि विद्यार्थीहरुलाई लगिँदैछ भने विद्यालयले पहिले नै शिक्षक स्टाफहरुसँग बसेर आवश्यक छलफल गरेर एउटा ठोस निर्णयका साथ योजना र रणनीति तय गर्नु पर्दछ । र, सोही योजना अनुरुप जिम्मेवारी बाँडफाँड गरेर भ्रमणका लगि जानु पर्दछ । भ्रमण यस्तो होस् कि हरेक पल र समयमा बालबालिकाहरुले केही कुराहरु सिक्दै जाउन् र सिकेका कुराहरुलाई आफ्नो डायरी वा कपीमा नोट गर्दै जाउन् । अलि लामो भ्रमण छ भने भ्रमणको समय सकिएपछि साँझ बास बस्ने स्थलमा बसेर समीक्षात्मक छलफल गरेर भोलिको योजना तय गर्नु पर्दछ । कहिँ कतै कुनै पनि समस्या आएको छ भने समयमा नै त्यो समस्याको उचित समाधान खोजिनु पर्दछ ।


भ्रमणका समयमा खानपानमा पनि ध्यान दिनु जरुरी छ । संभव भएसम्म घरबाट नै तयार गरिएका सुख्खा खानेकुराहरु लैजानका लागि बालबालिकाहरुलाई प्रेरित गरिनु पर्दछ । यसो हुन सकेन भने भ्रमण अवधि नै निरस हुन पुग्दछ । यसका साथै बालबालिकाहरुलाई मौसम अनुकूकलका लुगाहरु लैजान र समुचित प्रयोगका लागि सरसल्लाह दिनु पर्दछ । रात्री बसमा यात्रा गर्नु छ भने बालबालिकाहरुका लागि सोही अनुसार बाटोघाटोको संरचना तथा अपनाउनु पर्ने सावधानीका बारेमा पनि विशेष ख्याल राख्नका लागि सचेत गराउनु पर्दछ ।
कुनै पनि स्थलहरुको अवलोकनका क्रममा पालना गर्नु पर्ने अनुशासनका नियमहरुका बारेमा पनि बालबालिकाहरुलाई पहिले नै जानकारी गराउनु पर्दछ । कुनै वगैंचा, चिडियाखाना तथा सङ्ग्रहालयहरुको अवलोकनका निमित्त लैजाँदा पंक्तिबद्ध हुने, पालो पर्खिने, त्यहाँ राखिएका बस्तुहरुलाई जथाभावी नचलाउने र बार तथा पर्खालहरुमा नचढ्ने, तस्वीर खिच्नका लागि निषेधित गरिएका स्थलहरु भएमा सो को बारेमा पनि जानकारी गराउनु पर्दछ । कुनै पनि स्थलमा रहेका शिलालेख तथा स्मारकहरुका बारेमा तस्वीर खिच्ने र त्यसको बारेमा आवश्यक जानकारी लिनका लागि पनि स्थानीय सरोकारवालाहरुलाई अन्तर्वार्ता लिने र भरपूर जानकारी लिने अवसर पनि उनीहरुलाई दिनु पर्दछ । यसले गर्दा आत्मविश्वास र कौतुहलता जगाउने बानीको विकास हुन्छ । यसरी विकास गरिएको कौतुहलताले बालबालिकाहरुलाई सदा जिज्ञासु बनाइरहन प्रेरित गर्दछ । अर्को कुरा के भने बालबालिकाहरु स्वभावैले जिज्ञासु र हरेक कुरामा सजिलै आकर्षित भैहाल्छन् । बाटोघाटोमा बेच्न राखिएका बस्तुहरुका बारेमा पनि सजग बनाइरहनु पनि जरुरी छ । त्यसैगरी कुनै पनि धार्मिक स्थालहरुमा ढग्ने नियतले मानिसहरु बस्न सक्ने हुनाले सुरक्षाको लागि पनि विशेष सजगता अपनाउनका लागि सचेत गराइरहनु जरुरी छ ।
भ्रमण सम्पन्न गरेर फर्किएपछि पनि भ्रमणका सन्दर्भमा आफूले प्राप्त गरेका अनुभव तथा अनुभूतिहरुलाई संकलन गरेर त्यसको बारेमा प्रतिवेदन, आलेख, चिनारी तथा नियात्रा वा निवन्ध लेख्नका लगि प्रेरित गर्नु पर्दछ । कुनै दिन विद्यालयका सहकार्यकलापहरुमा यस्तो कार्यक्रमको आयोजना गरिदिने ताकि त्यो दिनमा बालबालिकाहरुले शैक्षिक भ्रमणबाट सिकेका कुराहरुलाई लिपीवद्ध गरेर प्रस्तुत गर्नेछन् । यसरी प्रस्तुत गरिएका प्रस्तुतीहरुकाबीचमा प्रतिस्पर्धा समेत गराएर उत्कृष्ट लेखनका लागि उचित पुरस्कार प्रदान गर्न सकिन्छ । यति मात्रै नभएर विद्यालयले त्यस प्रकारका पुरस्कृत लेखनहरुलाई हौषला दिनका लागि उनीहरुको तस्वीरसहित स्थानीय पत्रपत्रिकाहरु वा राष्ट्रिय स्तरबाट प्रकाशन गरिने पत्रपत्रिकाहरुमा प्रकाशन गर्नका लागि सहजीकरण गरिदिनु पर्दछ । यसका साथै यसरी लेखिएका विद्यार्थीहरुका अनुभूतीहरु संकलन गरेर वार्षिक रुपमा विद्यालयले एउटा मुखपत्र वा स्मारिका निकाल्न पनि सक्दछ । जुन विद्यालयको लागि एउटा ऐतिहासिक दस्तावेज हुनुका साथै भविष्यका लागि मार्गदर्शन पनि बन्न सक्दछ । यो शिक्षकहरुका लागि पनि सिकाइको अवसर बन्न सक्दछ ।
अतः शैक्षिक भ्रणम मनोरञ्जनमा मात्रै केन्द्रित नहोस् । वास्तविक रुपमा नाम जस्तै शैक्षिक हुन सकोस् । भ्रमण सिकाइमय र स्मरणात्मक बनाउनका लागि हरतरहले शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको सत्प्रयास हुनु जरुरी छ । तर, आजभोलि भ्रमणका नाममा विभिन्न विकृतिहरु पनि भएगरेका छन् । त्यस्ता विकृतिहरुप्रति सचेत हुँदै प्रत्येक बालबालिबाहरुका लागि आफ्नो भविष्यको सफल बाटो पहिल्याउनका सफल बन्नु नै भ्रमणको उद्देश्य हो भन्ने शन्देश छर्न सक्नु पर्दछ । मनोरञ्जनका लागि मात्रै फजुल खर्च गरेर अभिभावकहरुको मिहिनेत र पसिना खेर फाल्नु पक्कै पनि राम्रो हैन । यस कुरामा सबैको ध्यान जानु जरुरी छ ।
त्यसैले भ्रमण साँच्चिकै सुरक्षित होस्, सफल होस्, सिकाइमय होस्, फलदायी होस्, उर्जाशील होस्, शैक्षिक होस् मनोरञ्जनका लागि मात्रै नहोस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफू पक्राउ अगावै दुर्गा प्रसाईंले दिएका थिए पक्राउको जानकारी चिर्पटले हिर्काएर श्रीमतिद्वारा श्रीमानको हत्या आज पनि एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ? दु्र्गा प्रसाईँमाथि ७ वर्षसम्म हुनसक्छ कैद : अभिवक्ता विनिता तामाङ सरकार पहिलो चौमासिकमा राजश्व संकलन गर्न कमजोर भक्तपुरस्थित निवासबाट पक्राउ परे दुर्गा प्रसाईं प्रधानमन्त्री ओली र सभापति देउवाबीच आजपनि छलफल हुँदै रुकुमपश्चिममा चिर्पट प्रहार गरेर श्रीमतीले गरिन् श्रीमानको ह-त्या अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा जनकपुर बोल्टस्ले गरे आधिकारिक जर्सी सार्वजनिक युक्रेनलाई रुसविरुद्धलामो दूरीको क्षेप्यास्त्रप्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै आशिषलाई प्रश्न : ‘पूर्ण वहादुरको सारङ्गी’ कि ‘रैया चाँदीको’ हिट ? उप–निर्वाचनःउमेदवारको नामावली आज प्रकाशन हुने युइएफए नेसन्स लिग : क्रोएशिया र पोर्चुगल क्वाटरफाइनलमा माओवादी पदाधिकारी बैठक आज बस्दै एनपिएलको खेल तालिका सार्वजनिक पृथ्वीराजमार्ग अन्तर्गत त्रिशूलीमा खस्यो ट्रक ! मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?