
काठमाडौँ | मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम असुल गरेको आरोपमा चार जना पक्राउ परेका छन् । स्वास्थ्य परीक्षणका क्रममा ‘बायो–मेडिकल सर्भिस चार्ज’का नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएर श्रमिकलाई आर्थिक नोक्सानी पुर्याएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रविन्द्र केसी, गोरखा नगरपालिका–३ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–११ महादेवटार बस्ने ४२ वर्षीय प्रविण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने ४५ वर्षीय रामपुकार तिवारी छन् । सीआईबीका अनुसार मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि गरिने स्वास्थ्य परीक्षणमा नेपाल सरकारले निर्धारण गरेको शुल्कबाहेक ‘म्याक्रोटेक प्रालि’को नाममा ‘बायो–मेडिकल सर्भिस चार्ज (मेडिकल स्क्रिनिङ)’ उल्लेख गरी अतिरिक्त रकम असुल्ने गरिएको थियो ।
यसरी गैरकानूनी रूपमा संगठित ढंगले रकम संकलन गरी श्रमिकलाई आर्थिक हानि पुर्याएको र संलग्न व्यक्तिहरूले आर्थिक लाभ लिएको आरोपमा उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी तथा कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगीसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ । पक्राउ परेका चारै जनालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । यस घटनाबाट पीडित भएका श्रमिकलाई प्रमाणसहित सीआईबी वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई उजुरी तथा जाहेरी दिनसमेत ब्यूरोले अनुरोध गरेको छ ।