
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारको महिला हिंसासम्बन्धी भनिएको अडिओ प्रकरणमा छानबिन समिति गठन गरेको छ। बिहीबार बसेको केन्द्रीय अनुशासन आयोगको बैठकले आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो। समितिले सार्वजनिक अडिओ तथा भिडिओको प्राविधिक जाँच गरी प्रमाण सङ्कलन गर्नेछ।
सुनारले अडिओमा सुनिएको स्वर आफ्नो नभएको र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको दाबी गरेका छन्। पीडित भनिएकी महिलाले पनि अडिओमा आफ्नो स्वर नभएको बताएकी छन्। आयोगले सम्बन्धित सञ्चारमाध्यमसँग अडिओ तथा भिडिओ मागेर आवश्यक परे विशेषज्ञको रायसमेत लिने जनाएको छ। समितिले प्रतिवेदन बुझाएपछि आयोगले निष्कर्ष निकाल्नेछ।