कविता उपाध्याय/माघ २२,रोल्पा । गैरीगाउँ–५ तितिम रोल्पाका दीपक डाँगी आज भन्दा ३ वर्ष पहिले ११ वर्षको कलिलो उमेरमा रुँदैरुँदै ईंटाभट्टामा काम गर्न बाध्य भए । "/>
कविता उपाध्याय/माघ २२,रोल्पा । गैरीगाउँ–५ तितिम रोल्पाका दीपक डाँगी आज भन्दा ३ वर्ष पहिले ११ वर्षको कलिलो उमेरमा रुँदैरुँदै ईंटाभट्टामा काम गर्न बाध्य भए । "/>
कविता उपाध्याय/माघ २२,रोल्पा । गैरीगाउँ–५ तितिम रोल्पाका दीपक डाँगी आज भन्दा ३ वर्ष पहिले ११ वर्षको कलिलो उमेरमा रुँदैरुँदै ईंटाभट्टामा काम गर्न बाध्य भए । उनी मृत्युसँग लडिरहेका बाबुको सल्लाहमा पेट पाल्नकै लागि त्यहाँ पुगेका थिए ।
डाँगीका अनुसार उनलाई आफ्नी आमाको माया, ममता र स्नेह त के, झझल्को समेत थाहा छैन । उनी एक वर्षको हुँदा उनकी आमाको मृत्यु भएको थियो । उनका बुवा भारतको सिमलामा करिव २० वर्ष पहिलेदेखि टिप्पर चलाउने काम गर्थे । आमाको निधनपछि बुवाले दोस्रो विवाह गरे ।
जन्म दिने आमा नभएपनि कान्छी आमाबाट डाँगीले माया पाउँदै आएका थिए तर अचानक के भयो कुन्नि उनकी कान्छी आमा बिहे भएको २ वर्षपछि माइती घरमै बस्न थालेपछि उनलाई पुनः आमाको माया खड्किन थाल्यो । बुवा रोजगारीबाट कहिलेकाहीँ घर फर्कन्थे ।
उनले टाढैबाट भएपनि बाबुको माया पाएका थिए । तर दुर्भाग्य एकदिन टिप्पर भारतमै दुर्घटना भई उनका बुवा गम्भीर घाइते ुभए । केही महिनापछि सामान्य होसमा आएपनि उनका दुबै खुट्टाले काम गर्न सक्ने अवस्था नरहेको हुँदा उपचारका क्रममा दुबै खुट्टा काटिए । त्यही खुट्टा काटेकै ठाउँमा क्यान्सर भयो । क्यान्सरले लामो समयसम्म पीडा दिएपछि उनका बुवाको उपचारार्थ करिव ५ लाखभन्दा बढी खर्च भयो । लाखौं खर्च गर्दा पनि न दीपकका बुवाको ज्यान बच्यो न त जमिन ।
आमाको मृत्यु र बुवाको पनि गम्भीर अवस्था भएपछि दीपक कामको खोजीमा ईंटाभट्टा जान बाध्य भएका हुन् । दीपकका बुवाले अन्तिम भेटमा भनेका शब्दले अहिले पनि उनलाई भावविह्वल बनाउने गरेको छ । “बाबु ! म स्वस्थ भएर बाँचेको भए तँलाई ठूलो मान्छे बनाउने थिएँ । आफू एकछाक खाएर भएपनि तँलाई सकेजति पढाउने धोको थियो तर तेरो दुर्भाग्यले मेरा दुबै गोडा काट्नु प¥यो ।
त्यसमा पनि क्यान्सर लागेर म जीवन मरणको दोसाँधमा छु । अब तैले तेरो जीउ आफैले पाल्नु पर्छ । त ईंटा भट्टा जा । त्यही कमाएर दुई छाक खाएस् । मेरो बाँच्ने संभावना रहेन । तेरी आमाले पनि तँलाई छाडी सकी । मलाई नसरापेस् !” यसो भन्दै दीपकका बुवा भक्कानिएर रोएपछि बुवाको आँशु देख्न नसकी कक्षा ४ को पढाइलाई बीचमै रोकी ११ वर्षको कलिलो उमेरमा दीपक गाउँलेहरुको साथमा ईंटाभट्टा जान बाध्य भएको उनले बताए ।
दीपकका हजुरबुवा ७६ वर्ष पार गरिसकेका छन् भने हजुरआमा ७० वर्षको हाराहारीमा छन् । घरमा आम्दानीको कुनै बाटो छैन । यसरी काठमाडौँं पुगेका बालकले करिव ३ वर्षको बीचमा काठमाडाँैंका विभिन्न ईंटाभट्टामा काम गरिसकेका छन् । दीपकका सहोदर दाजु छन् । उनी पनि आफ्नै जीउ पाल्ने अभियानमा काठमाडौँमा भौँतारिरहेका छन् । दीपकका अनुसार उनी कहिले गाडीमा हिँड्छन् त कहिले ज्याला मजदुरी गरेर पेट पालिरहेका छन् ।
घरमा रहेका दीपकका बाजे बज्यैले घर नजिकको सानो पाटो बेचेर केही ऋण तिर्ने प्रयास गरेको भएपनि अझै केही रकम तिर्न बाँकी नै छ । दीपकका फुपाजु गैरीगाउँ–५ तितिम रोल्पाका भीमसेन वलीका अनुसार ११ वर्षको उमेरमा ईंटाभट्टा पुगेका दीपकले करिव ३ वर्षको बीचमा १ लाख जति कमाएर बुवाको उपचारमा लागेको ऋण तिरेका छन् । दीपकका अनुसार अझै केही रकम तीर्न बाँकी नै छ । यसरी ईंटाभट्टा पुगेका दीपकलाई काठमाडौँस्थित बाल विकास समाजले २०७३ माघ अन्तिम साता ईंटाभट्टाबाट उद्धार गरी जिल्लामा ल्याइपु¥याएको छ । कामबाट छुटाएर घर फर्काइएका बालकलाई जिल्ला बाल कल्याण समिति रोल्पाले अभिभावक (फुपाजु) को जिम्मा लगाएपछि अब बाँकी ऋण कसरी तिर्ने भन्ने चिन्ताले दीपकलाई पिरोलिरहेको छ ।
बाजेबज्यै वृद्ध भएको हुँदा कार्यालयको सम्पर्कमा आउन नसकेपछि ईंट्टा भट्टाबाट फर्काइएका दीपकलाई उनका फुपाजुको जिम्मा लगाइएको जिल्ला बाल कल्याण समिति रोल्पाका बाल संरक्षण निरीक्षक कपिलदेव भण्डारीले जानकारी दिए । उनका अनुसार यसरी ईंटाभट्टाबाट उद्धार गरिएका बालक दीपक हाल गैरीगाउँस्थित उनका फुपाजुको घरमा बस्दै आएका छन् । दीपकलाई तत्काल विद्यालय पठाउन बाल विकास केन्द्र काठमाडौँले सामान्य रुपमा व्यवस्था गरेको कापी, कलम महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले उनलाई हस्तान्तरण गरेका छन् । तर त्यसबाहेक झोला, विद्यालय पोशाक तथा अन्य सामग्रीहरुको खाँचो देखिन्छ ।
अब उनी बीचमै रोकिएको पढाइलाई निरन्तरता दिन पाउने भएपछि निकै उत्साहित बनेका छन् । तर फुपाजुको घरमा बसेर उनको पढाइले निरन्तरता पाउँछ या पाउँदैन त्यो भने हेर्न बाँकी नै छ । उनका सहपाठी साथीहरु कक्षा ७ मा पुगिसकेको भएपनि उनी कक्षा ४ मै भर्ना हुन तयार छन् ।
“हामी जस्ता असहाय बालबालिकालाई सहयोग गर्ने अफिस हुन्छ भन्ने सुनेको छु तर कहाँ हुन्छ ? नेपालमा कि भारतमा ?” – उनको प्रश्न छ । यसरी सानै उमेरमा बाबुआमा दुबै गुमाएका बालकको बाँकी भविष्यको चिन्ता र चासो गर्ने अभिभावक कोही नभएको हुँदा उनको भविष्यका बारेमा सहयोगी निकायहरुको ध्यान जान जरुरी देखिन्छ ।
यस विषयमा सेभ द चिल्ड्रेन रोल्पाका कार्यक्रम संयोजक इन्द्र बडुवालका अनुसार ईंटाभट्टाबाट फर्काइएका बालबालिकालाई विद्यालय पठाउनु मुख्य कुरा भएको हुँदा उनलाई विद्यालय पठाउन पहल भइरहेको छ । उनका अभिभावकलाई आयआर्जनका क्षेत्रमा थप सहयोग गर्न उनीहरुको अवस्थाका बारेमा सोधी खोजी कार्य जारी रहेको छ ।
सेभ द चिल्ड्रेनमार्फत यसरी उद्धार गरिएका बालबालिकाका अभिभावकलाई आयआर्जनका लागि बढीमा ३५ हजार रुपैयाँसम्म सहयोग गर्ने प्रावधान रहेको बडुवालले जानकारी दिनुभयो । तर सेभ द चिल्ड्रेन मार्फत हुन सक्ने सहयोग मात्र उनको उच्च शिक्षादीक्षाका पर्याप्त नहुने भएकाले उदार सहयोगको खाँचो देखिएको छ । रासस