पढ्न करिब 4 मिनेट लाग्छ

फागुन १६, काठमाडौँ | संरक्षित क्षेत्रले विश्वमै नेपालको छुट्टै पहिचान बनाउन सहयोग गरेका छन् । दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको उपस्थिति हेर्दा एक सिङ्गे गैँडा र बाघका लागि चितवन विश्व प्रसिद्ध छ भने बर्दिया कृष्णसारका लागि । बाह्रसिङ्गाको संसारकै सबैभन्दा ठूलो बथान नेपालको पाइन्छ, त्यो शुक्लाफाँटा वन्यजन्तु आरक्ष कञ्चनपुरमा ।

तराईका संरक्षित क्षेत्रहरूमा पाइने घाँसे मैदानमध्ये शुक्लाफाँटामा सबैभन्दा ठूलो घाँसे मैदान (फाँटा) रहेको छ । आरक्षको कुल क्षेत्रफलको झन्डै १७ प्रतिशत भू–भाग घाँसे मैदानले ओगटेको छ, जुन मैदानलाई शुक्लाफाँटा भन्ने गरिन्छ । त्यहाँ चर्ने बाह्रसिङ्गाको बथानको दृश्य अलौकिक र निकै मनमोहक हुनेगर्छ । यो दुर्लभ दृश्य हेर्ने विदेशी पर्यटक बढी मात्रामा आउने गर्छन् ।

बाह्रसिङ्गाको संरक्षणका लागि यो आरक्षको स्थापना गरिएको हो । विक्रम संवत् २०२६ मा शिकार आरक्षका रूपमा स्थापना गरिएको यो ठाउँ बाह्रसिङ्गालगायतका अन्य विश्वमै दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुको बासस्थानका लागि निकै उपयोगी भूगोल हो । त्यसैले २०३६ सालमा आरक्षको पूर्वतर्फको १५० वर्ग किलोमिटर जग्गासमेत विस्तार गरिएको छ । हाल आरक्ष कुल ३०५ वर्गकिलोमिटरमा रहेको छ । यो आरक्ष बाह्रसिङ्गा मात्र होइन, नेपालमा सबैभन्दा बढी बाघको घनत्व भएको संरक्षित क्षेत्र पनि हो । स्थानीय यादव उप्रेतीका अनुसार, विशेषगरी भारतीय पर्यटक शुक्लाफाँटामा एकदम नजिकबाट देख्न सकिने सयौँ बाह्रसिङ्गाको बथान हेर्न बढी मात्रामा आउने गर्छन् । भारतको चम्फावत, हल्द्वानी, रुद्रपुर, बरेली, लखनऊ, रानीखेतसम्मका पर्यटक शुक्लाफाँटामा रहेका वन्यजन्तु हेर्न आउने गरेका छन् ।

आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार, आरक्षले नेपाल र भारतको जैविक ‘करिडोर’को रूपमा पनि काम गरिरहेको छ । तराई भू–परिधिको पश्चिमी क्षेत्रमा पर्ने यो आरक्षले नेपाल र भारतका गरी ११ वटा संरक्षित क्षेत्रलाई जोड्ने काम गरेको छ । जैविक प्रणाली र जैविक विविधताका दृष्टिले निकै धनी मानिएको यो आरक्षभित्र दर्जनौँ प्रजातिका पन्छी, जडीबुटी तथा वन्यजन्तु पाइने गरेका छन् ।

क्षेत्रफलका दृष्टिले नेपालका अन्य संरक्षित क्षेत्रमध्ये सानो रहेको शुक्लाफाँटामा संसारकै ठूलो बथानका बाह्रसिङ्गा हुनु आफैँमा गौरवको कुरा भएको आरक्ष प्रमुख ढकाल बताउनुहुन्छ । उहाँका अनुसार, ११८ परिवारका ६६५ प्रजातिका वनस्पति यहाँ पाइन्छन्, जसमध्ये ५२ प्रतिशत सालको मात्र जङ्गल रहेको छ । आरक्षभित्र १० प्रतिशत सिमसार क्षेत्र रहेको छ, जुन चराचुरुङ्गी र सिमसारलाई आधार बनाएर जीवन निर्वाह गर्ने जीवजन्तुका लागि उपयुक्त बासस्थान मानिन्छ । पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा, चित्तल, रतुवा, लगुना, बँदेललगायतका ५३ प्रजातिका प्रमुख स्तनधारी वन्यजन्तुको बासस्थान यो आरक्ष हो ।

बासस्थान विस्तार

बाह्रसिङ्गा बाघ प्रजातिका लागि मुख्य आहार प्रजाति मानिन्छ । बाह्रसिङ्गा भएको फाँटामा मात्र सातवटा बाघ भेटिएका छन् । बाह्रसिङ्गाको सङ्ख्या वृद्धिसँगै बाघको आहार र बासस्थानमा पनि सुधार आएको छ ।

शुक्लाफाँटाको बाह्रसिङ्गाको बासस्थान विस्तार गर्ने क्रममा गत वर्षदेखि बाह्रसिङ्गाका केही जोडीलाई बर्दिया र चितवनमा सारिएका छन् । यस वर्ष पनि केही जोडी बाह्रसिङ्गालाई चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्ने योजना रहेको प्रमुख ढकालले जानकारी दिनुभयो । सन् १९६० को दशकसम्म चितवनमा प्रशस्त देखिने बाह्रसिङ्गा मानवीय क्रियाकलापले लोप भएको अध्ययनले देखाएको छ । सन् १९७६ मा बर्दियाका बाह्रसिङ्गाको सङ्ख्या १५ वटा मात्रै थियो भने हाल १०५ भन्दा बढी पुगेको छ । त्यसैले शुक्लाफाँटापछिको यो प्रजातिको बासस्थानका रुपमा चितवन र बर्दियालाई विकास गर्न खोजिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताउनुभयो ।

संरक्षणमा चुनौती

बाह्रसिङ्गाको बासस्थान भएको फाँटा मानव बस्तीदेखि निकैभित्र भएकाले स्थानीय समुदायबाट चोरी शिकार हुने कम सम्भावना छ । बस्ती नजिक सुरक्षा पोष्ट खडा गरिनु, दैनिकजसो सुरक्षा गस्ती हुनु, सुराकीको प्रभावकारी प्रयोगलगायतका कारणले स्थानीय समुदायबाट यो प्रजातिको संरक्षणमा खासै चुनौती नदेखिए पनि सीमासँग जोडिएको भारतीय बस्तीबाट बाह्रसिङ्गाको चोरी शिकार हुने खतरा निकै रहेको बताइन्छ ।

आरक्ष प्रशासनदेखि निकै टाढा रहेको दक्षिणी भेगमा सीमापारिका बस्तीमा उखु लगाउने र पासो थाप्ने प्रवृत्तिले बाह्रसिङ्गाको चोरी शिकार हुने गरेकाले हाल आरक्ष र नेपाली सेनाका सुरक्षा पोष्ट खडा गरिएका छन् । दलदले जमिनका साथै बाक्लो जङ्गल भएकाले गस्ती गर्न गाह्रो हुनेहुँदा यही मौका छोपेर पासो थाप्ने गरिएको आरक्ष प्रमुख ढकालले जानकारी दिनुभयो ।

नेपालमा बाह्रसिङ्गा पाइने स्थान

१. शुक्लाफाँटा वन्यजन्तु आरक्ष

२. बर्दिया राष्ट्रिय निकुञ्ज

३. चितवन राष्ट्रिय निकुञ्ज

बासस्थान विस्तार गर्न सकिने क्षेत्र

१. बाँके राष्ट्रिय निकुञ्ज

२. पर्सा वन्यजन्तु आरक्ष

बाह्रसिङ्गासँगै बाघको पनि संरक्षण

वेदकुमार ढकाल

प्रमुख शुक्लाफाँटा वन्यजन्तु आरक्ष

यो राष्ट्रकै सम्पत्ति हो । संसारकै ठूलो बथान नेपालमा पाइनु गौरवको विषय हो । यो कुराको प्रचारप्रसार गर्नसके पर्या–पर्यटनका माध्यमबाट यो क्षेत्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।

बाह्रसिङ्गा बाघको आहार प्रजाति भएकाले यसको संरक्षण गर्नु भनेको दुर्लभ वन्यजन्तु बाघको संरक्षणको काम गर्नु हो । प्रशस्त बाह्रसिङ्गा र जरायो भएकाले यहाँ बाघको सङ्ख्या बढिरहेको छ । बाह्रसिङ्गाको चोरी शिकार नेपालबाट भन्दा पनि सीमा क्षेत्रका भारतीय बस्तीबाट हुने चुनौती कायम छ । त्यसैले दक्षिणी सीमामा थप सुरक्षा सतर्कतातिर ध्यान दिनु जरुरी छ । बेलाबेला भारतीय अधिकारीसँगका छलफल तथा बैठकमा पनि हामीले यो संवेदनशीलतालाई उठाउने गरेका छौँ । – गोरखापत्र