काठमाडौँ | बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापा फागुन १२ गते काठमाडौंको कलंकीस्थित एक डेरामा अचेत अवस्थामा फेला परेका थिए। ३६ वर्षीय थापाको उपचारको क्रममा सोही दिन साँझ सहिद मेमोरियल अस्पतालमा मृत्यु भयो।
धादिङको धुनिवेशी नगरपालिका–९ घर भएका ३६ वर्षीय थापा साथीको डेरामा अचेत अवस्थामा फेला परेका हुन् । प्रहरी अनुसन्धानका अनुसार घटनास्थलमा गहुँको किराबाट बचाउन प्रयोग गरिने विषादीको प्याकेट र एक पृष्ठ लामो सुसाइड नोट भेटिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार उक्त सुसाइड नोटको अनुसन्धान जारी छ।

सुसाइड नोटमा थापाले एउटा साप्ताहिक पत्रिकाले आफ्नो अडियो सार्वजनिक गरेपछि मानसिक तनावमा परेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “मेरो प्रतिष्ठा ध्वस्त भयो, मानहानि गरियो।”
थापाले पत्रिकाले आफ्नो चरित्रहत्या गरेको आरोप लगाउँदै सम्पादकलाई प्रहरी सोधपुछका लागि बोलाउने तयारी गरिरहेको छ।
थापाको सुमेरु बचत तथा ऋण सहकारीका पूर्व सचिव विनोद आचार्यसँगको अडियो बाहिरिएको थियो। पुस २८ गते उक्त सहकारीलाई मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो।
सुसाइड नोटमा उनले “गिरोहले मेरो स्वर बनाएर अफवाह फैलायो, मन्त्री मदुकुमार श्रेष्ठलाई समेत बदनाम गराउने प्रयास गरियो,” भनेर लेखेका छन्।
उनले आफू र मन्त्रीलाई फसाउने षड्यन्त्र गरिएको दाबी गर्दै “सत्य लुक्दैन,” भन्ने उल्लेख गरेका छन्।
थापाले परिवारका सदस्यहरूलाई मिलेर बस्न आग्रह गरेका छन्। सुसाइड नोटमा लेखिएको छ, “बुवाको ख्याल गर्नु, सबै मिलेर बस्नु।”
उनले आफूमाथि लगाइएको आरोप झूटो भएको दाबी गर्दै लेखेका छन्, “एक्कासि नभएको कुरा फैलाएर मलाई दोषी बनाइएको छ।”